प्रथम मिस्टर ग्यालेक्सीको उपाधि विकासलाई « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

प्रथम मिस्टर ग्यालेक्सीको उपाधि विकासलाई


यलम्वर टाइम्स
२५ भाद्र २०७४, आईतवार ११:५५

[चन्द्र राना ‘लाफा’]

अर्जुनधारा । झापाको बिर्तामोडमा भएको पूर्वाञ्चलस्तरीय प्रथम मिस्टर ग्यालेक्सी बडीबिल्डिङ प्रतियोगिताको उपाधि एरो फिटनेश दमकका विकास धिमालले हात पारेका छन् ।

झापा जिल्ला बडीबिल्डिङ एसोसिएसनको आयोजना तथा ग्यालेक्सी फिटनेस बिर्तामोडको संयोजनमा शनिबार बिर्तामोडमा भएको प्रतियोगितामा उनले उपाधि हात पारेका हुन् । उपाधिसँगै धिमालले ७५ हजार नगद, ट्रफी र प्रमाणपत्र हात पारे । त्यस्तै प्रतियोगिताको फष्ट रनर अप एनिटाइम फिटनेस धरानका अमृत सुन्दास घोषित भए । उनले उपाधिसँगै नगद ५० हजार ट्रफी र प्रमाणपत्र हात पारे ।

प्रतियोगिताको सेकेण्ड रनर अप एनि टाइम फिटनेस धरानका मनिष लिम्बू घोषित भए । उनले उपाधिसँगै नगद ४० हजार, ट्रफी र प्रमाणपत्र हात पारे । त्यस्तै ग्यालेक्सी फिटनेस बिर्तामोडका चन्द्रकुमार लिम्बू थर्ड रनरअप घोषित भए उनले उपाधिसँगै नगद ३० हजार  ट्रफी र प्रमाणपत्र  गरे । त्यस्तै ड्याजल जीम विराटनगरका प्रविन राजवंशी फोर्थ रनरअप घोषित भए । उनले उपाधिसँगै २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै सोही प्रतियोगितामा बेष्ट मस्कुलर मेनको उपाधि ग्यालेक्सी फिटनेस बिर्तामोडका चन्द्रकुमार लिम्बूले प्राप्त गरे भने बेष्ट पोजरको उपाधि ओसन फिटनेस इटहरीका मणिकुमार राईले हात पारे । लिम्बू र राईले उपाधिसँगै जनही नगद १०–१० हजार ट्रफी र प्रमाणपत्र हात पारेको आयोजक झापा जिल्ला बडीबिल्डीङ एसोसिएसनका अध्यक्ष रमेश चौधरीले जानकारी दिए ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजीमाथि तौल समूहमा सेलेक्सन राउण्ड गरी २५ जना खेलाडीहरुको छनौट गरिएको थियो । २५ जना खेलाडीमध्ये प्रत्येक तौल समूहबाट प्रथम हुनेलाई अन्तिम फाइनल राउण्डमा सहभागी गराइएको थियो । त्यस्तै प्रत्येक तौल समूहमा दोस्रो हुनेलाई नगद ५ हजार र तेस्रो हुनेलाई नगद  ३ हजार र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, उदयपुरका ७० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकहरुमा शिवलाल श्रेष्ठ, घनश्याम मुखिया, अजय बज्रचार्य, सम्राट सापकोटा, राजभगत प्रधानाग, शिवु मुखिया, नरेश मल्ल लगायत रहेका थिए ।

कार्यक्रममा बडीबिल्डिङका अन्तर्राष्ट्रिय खेलाडी रामबहादुर दाहाल र करातेका अन्तर्राष्ट्रिय खेलाडी एस्तर राईलाई सम्मान गरिएको थियो । कार्यक्रम संयोजक मित्रसेन गोम्देनको अध्यक्षता तथा कृषि राज्यमन्त्री सरिता प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्ला बडीबिल्डीङ एसोसिएसनका अध्यक्ष रमेश चौधरीले स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, कालीबहादुर गण चारआलीका मेजर भरत लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका विजेतालाई गोपाल खड्का, दीपेद्र पोखरेल, प्रशान्त भण्डारी, आदित्य पराजुली, बलदेव गोम्देन, दीपक मास्के,  रामकुमार बस्नेत, जलकुमार गुरुङ, सन्तोष उप्रेती लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेको झापा जिल्ला बडीबिल्डिङ संघका सचिव दिवाकर प्रसाईंले  जानकारी दिए ।