सुखानी शहीद स्मृति गोल्डकपको उपाधि कनकाईलाई « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

सुखानी शहीद स्मृति गोल्डकपको उपाधि कनकाईलाई


यलम्वर टाइम्स
३० फाल्गुन २०७६, शुक्रबार १४:१८

खरबन्दी । कनकाई नगर खेलकुद विकास समिति झापाले महिला फुटबल प्रतियोगिता सुखानी शहीद स्मृति गोल्डकपको उपाधि जितेको छ ।

साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि रक्षा गरेको हो ।

अर्जुनधारा–९ खरबन्दीस्थित नमूना खेल मैदानमा आयोजित प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाईले पहिलो पल्ट जितेको हो ।

कनकाईको जीतका लागि खेलको २८ औं मिनेटमा लक्ष्मी श्रेष्ठ र ५९ औँ मिनेटमा सरिता शेर्पाले गोल गरेका थिए । खेलको ६९ औं मिनेटमा पवित्रा लिम्बूले गोल गरे पनि हार भने टार्न सकिनन् ।

प्रतियोगिताको विजेता कनकाईले नगद १ लाख २५ हजार पायो भने उपविजेता ताप्लेजुङले ७५ हजारसहित शिल्डमा चित्त बुझायो ।

त्यसैगरी प्रतियोगिताको वुमन अफ द टुर्नामेन्ट कनकाईकी कुसुम खतिवडाले १२ हजार, फाइनल खेलको वुमन अफ द म्याच कनकाईकी नेहा चौधरीले पाँच हजार र बेस्ट कोच कनकाईका सन्त रायमाझीले पाँच हजार प्राप्त गरे ।

त्यस्तै बेस्ट फरवार्ड कनकाईकी लक्ष्मी श्रेष्ठ, बेस्ट मिडफिल्डर ताप्लेजुङकी सुनकला राई, बेस्ट डिफेन्स कनकाईकी सुस्मिता चौधरी र बेस्ट गोल किप्पर कनकाईकी जशोदा लावतीलाई जनही सात हजार प्रदान गर्दा प्रतियोगिताको फेयर प्ले पारिजात महिला फुटबल क्लब झापालाई नगद १० हजारसहित ट्रफी प्रदान गरियो ।

प्रतियोगिताको विजेता, उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक राज्य विकास मन्त्री जसमाया गजमेर, प्रदेश सांसदहरु अर्जुन राई, बृख प्रधान र हिरा थापा, वडाध्यक्ष बलदेवसिंह गोम्देन, आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष टंक भट्टराई लगायतले नगद तथा पुरस्कारहरु प्रदान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत प्रदेश सांसद एवम् प्रतिष्ठानका सदस्य बृख प्रधानले र कार्यक्रमको सञ्चालन महासचिव हर्कराज राईले गरेका थिए ।

फाइन खेलमा सम्बोधन गर्दै प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले खेलाडीहरुको हौसला र उत्प्रेरणा भर्न प्रदेश सरकार पछि नहट्ने बताए ।

प्रमुख अतिथि समेत रहेका राईले प्रदेशलाई नं. १ खेलाडीहरुको उर्भर थलो बनाउन विभिन्न कार्यक्रम ल्याउने जानकारी दिए ।