माटोसँग युवाहरुको साईनो « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

माटोसँग युवाहरुको साईनो


यलम्वर टाइम्स
३ जेष्ठ २०७७, शनिबार १०:३८

अर्जुनधारा । वास्तवमा किसानहरुले माटोसँगको साईनो गास्न आफ्ना सन्तानहरुलाई सिकाएनन् । नसिकाएकै कारणले पनि धेरै जमिनहरु हाम्रा अगाडी बाँझै रहे । सकिन्जेल आफूले गरे नसकेपछि न त पेसालाई पुस्ता हस्तान्तरण गरे न त वैज्ञानिक नीति नै अगाडि सारेर कृषि पेसालाई अब्बल बनाए ।

जग्गा जमिन प्रसस्त हुँदा हुँदै पनि भूमीसँगको साईनो टाढा भएकै कारण आज हजारौं युवाहरु रोजिरोटीका लागि विदेशीनु पर्याे ।

नेपाल त्यसै पनि कृषि प्रधान देश हो । नेपाल अन्य मुलुकमा कृषिमा आधारित देश भनेर पहिचान छाडेको छ । तर कृषिका लागि कृषकहरुलाई वैज्ञानिक उर्जा राज्यले प्रदान गर्न नसक्दा कृषि प्रणाली खुम्चिदै जान थाल्यो ।

राज्यमा हुने कृषिका हरेक उत्पादनले राज्यको आर्थिक प्रणालीमा टेवा पुग्ने गर्छ तर कृषि पेसामा युवाहरु रुझ्न नसक्दा अन्न निर्यात र उत्पादनमा विदेशीसँग हात फैलाउनु पर्ने अवस्था हुँदै आएको छ ।

संघीय सरकारले ०७७।७८ का लागि नीति तथा कार्यक्रमका लागि ल्याएको बजेटले पनि कृषिसँग दर्बिलो सम्बन्ध बनाएको हुँदा अब माटोसंँग किसानलाई मात्र होईन हरेक युवालाई जोड्न सकिएन भने मुलुकमा भोकमरीसंँग सामना गर्ने दिन नआउला भन्न सकिन्न ।

पछिल्लो पटक कोरोना भाइरसले मुलुकको अर्थतन्त्र केही खुम्चाएको अवस्था छ । कोभिड–१९ ले हाम्रो मुलुकमा त्यति धेरै महामारीको संज्ञा नदिएता पनि दुई–दुई महिनासम्म अर्थतन्त्र चलायमान नहुँदा आर्थिक अवस्थाको पाटो दुःख लाग्दो बन्दै गएको छ ।

कोरोनाले विश्वलाई नै चुनौति दिएपछि नेपाल छाडी अन्य मुलुक जाने नेपालीहरु फर्कने लर्काे त्यतिकै छ । भारतले ५ दिन रेल सेवा खुकुलो पार्दा दक्षिण भेगको सबै सीमानामा स्वदेश प्रवेश गर्ने नेपालीहरुको लर्काे देखिएको छ भने खाडी मुलुकको त कुरै नगरौं ।

नेपालमा लकडाउन खुल्ने बितिक‌ै विदेशीएका हजारौ युवाहरु स्वदेशमा आएर आफ्नो बाँच्ने आधार खोज्ने छन् । त्यसबेला राज्य सञ्चालकहरुले ती युवाहरुका लागि नीति अनुसारको कृषिमा आधारित सीप र शिक्षा दिन सकेन भने त्यहीबाट प्रश्न उठ्ने देखिन्छ ।

शरीरमा लाग्ने रोग संक्रमणको आधार कोरोना त हो तर जीवन जीउनको लागि संघीय सरकार, प्रदेश सरकार या स्थानीय सरकारले आधार सिर्जना गरिदिएन भने मानवभित्र अशान्ती पैदाभई लुटपाट, हत्या हिंसा उत्पन्न हुन जान्छ ।

त्यस्तो हुन नदिनका लागि स्थानीय, प्रदेश या संघीय सरकारले आगामी बन्ने बजेटमा कृषिमा बलियो आधार निर्माण गरेर अगाडि बढ्नु उत्तम विकल्प हुन्छ ।

युवा शक्तिलाई कृषिमा लोभ्याउने नीति ल्याउन सकिएन भने राजनीतिक शक्ति निर्माण गरेर बसेका दलहरु पनि चित खाने देखिन्छ ।

त्यसैले स्वदेशमा रहेका होस् या फर्कदै गरेका युवाहरुका लागि होस्, माटोसँग साईनो गास्ने नीति अब बन्ने बजेटमा आउन जरुरी छ । अनिमात्र मुलुक समृद्धिको बाटोमा लम्कने छ ।