‘विषयवस्तुको आधारमा संविधान संशोधन हुन्छ’ « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

‘विषयवस्तुको आधारमा संविधान संशोधन हुन्छ’


यलम्वर टाइम्स
१ कार्तिक २०७३, सोमबार १०:५७

सन्देश सुब्बा

पाँचथर / पूर्व कानून तथा संसदीय मामिला मन्त्री अग्नी खरेलले विषयवस्तुको आधारमा संविधान संशोधन हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल पाँचथरले आइतबार फिदिमममा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री खरेलले देश र जनताको अहितमा संविधान संशोधन नहुने स्पष्ट पारे ।

संशोधन गर्नुपर्ने विषयवस्तु के हो ? त्यो नै स्पष्ट नभई सरकारले संशोधनको कुरा मात्र अघि सारेको उनले बताए । नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका खरेलले काँग्रेस र माओवादीले एमालेलाई दोषी देखाउँन मधेशवादी दलहरुलाई उक्साएर संशोधनको कुरा निकालेको आरोप समेत लगाए ।

एमाले संविधानले मार्ग प्रशस्त गरेको बाटोमा हिंड्ने बताउँदै उनले स्थानीय तहको निर्वाचनको लागि सरकारले आवस्यक कानून बनाउँन ढिलो गरिरहेको आरोप लगाए । स्थानीय निकायको चुनावका लागि एमालेले निरन्तर सरकारलाई घच्घच्याइरहेको पनि उनले बताए ।