ज्येष्ठ नागरिक मिलन समाजबाट शनिअर्जुनका दुई साहित्यकार सम्मानित « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

ज्येष्ठ नागरिक मिलन समाजबाट शनिअर्जुनका दुई साहित्यकार सम्मानित


यलम्वर टाइम्स
२० कार्तिक २०७३, शनिबार ०८:५२

sssशनिअर्जुन / साहित्य क्षेत्रका अग्रणी दुई योद्धालाई ज्येष्ठ नागरिक मिलन समाजले भव्य रुपमा सम्मान गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्तीको अवसर पारेर ज्येष्ठ चौतारोमा किरात साहित्यकार नवल फाइवाली र समालोचक जयप्रकाश ढकाललाई सम्मान गरिएको थियो । सम्मानितहरुलाई प्रमुख अतिथि तथा व्याङ्ग्य साहित्यकार, कनकाई क्याम्पसका पूर्व शिक्षक कोमलप्रसाद पोखरेलले दोसल्ला, सम्मानपत्र र नगद रु. ५ हजार १ का दरले सम्मान गरिएको थिए ।

निकै उत्साहका साथ भेला भएको कार्यक्रममा ज्येष्ठहरुले यस क्षेत्रमा लुकेर रहेका ओजस्वी साहित्यकारहरुलाई सम्झेकोमा धन्यवाद प्रदान गरेका थिए । सम्मानित समालोचक ढकालको जीवनी जेसीजका संस्थापक अध्यक्ष इन्दीवर खड्का, फाइवालीको जीवनी प्रेस क्लबका अध्यक्ष दिपीन राईले वाचन गरेका थिए । सम्मानित दुवै साहित्यकार विभिन्न क्षेत्रबाट सम्मानित भइसकेका हुन् ।

ज्येष्ठ नागरिक मिलन समाज अन्तर्गत साहित्य तथा कला संस्कृति क्षेत्रका संयोजक रोहिणीविलास लुइटेलको सभापतित्वमा भएको कार्यक्रममा उपस्थिति सबैमा स्वागत समाजका सल्लाहकार पूर्व राज्य मन्त्रि बीरमणि ढकालले गरेका थिए ।

स्वागत मन्तव्यको क्रममा ढकालले ज्येष्ठ नागरिक समाज ज्येष्ठहरुको मात्र नभई सबैको भएको बताएका थिए । ज्येष्ठ नागरिक हक हितका विषयमा आफ्नो धारणा राख्दै ढकालले सबैसँग सहयोगी भावना राखेर अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले महाकवि देवकोटाको प्रतिमामा माल्यार्पण गर्दै उद्घाटन गरिएको कार्यक्रममा मेची क्याम्पसका प्रमुख कमल गुरागाईले महाकवि देवकोटाका छुटेका विषयहरुमा प्रकाश पार्दै योगदानको चर्चा गरेका थिए ।

शनिश्चरे बहुमुखि क्याम्पसका अध्यक्ष सरोज ओलीले शनिअर्जुन क्षेत्रका साहित्यकार र पत्रकारका विषयमा आफ्ना धारणा राख्दै शनिअर्जुनका साहित्यकारले राजधानीका साहित्यकारहरुको इज्जत बचाएको चर्चा गरेका थिए । ज्येष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईले ज्येष्ठ नागरिकहरु रचनात्मक र सकारात्मक कार्य गर्दै अगाडी बढ्ने बताए । सम्मानित मध्ये नवल फाइवालीले ज्येष्ठहरुको अधिकार र सुरक्षाका बारेमा नीति बनाएर स्थानीय तथा जिल्ला तहमा आवाज उठाउनु पर्ने बताए ।

लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘ईश्वर तैले रचेर फेरि कसरी बिगारिस्’ लोकशैलीको भाकामा हरि काफ्ले, हस्त परियारले गीत प्रस्तुत गरेका थिए । विभिन्न नृत्य तथा गीत प्रस्तुत भएको कार्यक्रममा साहित्यकार पुण्य बराल, मोहन घिमिरे, कुमार भट्टराई, कृष्ण थेवे, चतुर्भुज काफ्ले, इन्दिवर खड्का लगायतले आफ्ना रचना पाठ गरेका थिए ।

कार्यक्रममा छठ पूजा समितिका अध्यक्ष सुरेन्द्र शाह, पत्रकार गोविकृष्ण खनाल, लीला अनमोल, केशव भट्टराई, मोहन काफ्ले, पूर्व माननिय केदारमणि ढकाल, खानेपानी अध्यक्ष छत्रमणि ढकाल, शिक्षासेवी लोकनाथ पौडेल, जेसी उज्वल खरेल, लक्ष्मीप्रसाद सुब्बा, गंगा अनुरागी लगायतको आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन चतुर्भुज काफ्लेले गरेका थिए । कार्यक्रमको सहयोग उपाध्यक्ष नरेन्द्र तिम्सिना लगायत ज्येष्ठ सदस्यहरुको रहेको थियो ।