मौसी चोकको एविड व्यायामशाला नगर प्रमुखबाट उद्घाटन « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

मौसी चोकको एविड व्यायामशाला नगर प्रमुखबाट उद्घाटन


यलम्वर टाइम्स
१ आश्विन २०७७, बिहीबार ११:४७

अर्जुनधारा । युवाहरुलाई विकृतिबाट टाढा राख्दै सकारात्मक सोचका साथ क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गठित एविड युथ क्लबले समुदायस्तरको व्यायामशाला सञ्चालनमा ल्याएको छ ।

विहीबार अर्जुनधारा–५ मा आयोजित कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले व्यायामशालाको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले युवाहरु विकृतितर्फ फस्दै गईरहेको बेला क्लबले चालेको कदम सकरात्मक भएको बताए ।

प्रमुख रानाले ‘विकास, अनुशासन, गतिशिलता’ खेल क्षेत्रको प्रमुख नारा भएको बताउँदै खेलकुदले मानिसलाई अनुशासनको सुत्रमा बाध्ने बताए ।

‘जब मानिस अनुशासनमा रहन्छ, तब विकृतिबाट टाढै रहन्छ’ प्रमुख रानाले भने, ‘यस ठाउँमा व्यायामशाला सञ्चालन गरेर युवालाई सकारात्मक बाटोतर्फ बढाउने कार्य स्वागत योग्य रहेको छ ।’ उनले क्लबको दीगोपनका लागि नगरपालिका सदैव सहयोगी बन्ने बताए ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीले गाउँगाउँमा लागू पदार्थ सेवन गरि झैझगडा, चोरीडकैति जस्ता विकृति मौलाइरहेको बेला त्यसलाई रोक्न थालिएको यो कदम प्रशंसनीय रहेको बताए ।

वडाध्यक्ष भारतीले क्लबले सञ्चालन गरेको व्यायामशालालाई निरन्तरता दिन वडा कार्यालय छेउको सामुदायिक भवनको माथिल्लो तला निर्माण गरेर अगाडि बढ्न सक्ने बताए ।

उनले क्लबको वृद्धि र विकासका लागि नगरसँग समन्वय गर्दै वडाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष अर्जुन बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे, नगर युवा परिषद समिति संयोजक होम दुलालले युवा र खेलकुद एकआपसमा परिपुरक भएको बताउँदै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा फोनिज प्रदेश १ का इन्चार्ज दिपीन राई, स्थानीय समाजसेवी उमकान्त ढुंगेल, चन्द्रबहादुर गुरुङ, युवा व्यक्तित्व जीवन थापा, क्लबका सल्लाहकार टेकेन्द्र प्रधान, समाजसेवी गणेश खड्का र दाता परिवारकातर्फबाट सशाङ्क बस्नेत लगायतको आतिथ्य रहेको थियो ।

सञ्चारकर्मी राजन साम्पाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत सचिव टंक दाहालले गरेका थिए । व्यायामशाला स्थानीय उत्साहित युवाहरुको स्वसंकलनबाट निर्माण गरिएको हो ।