बुढी सुखानीका दुई असाहयलाई प्रवासी कतार समाजको सहयोग « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

बुढी सुखानीका दुई असाहयलाई प्रवासी कतार समाजको सहयोग


यलम्वर टाइम्स
१ आश्विन २०७७, बिहीबार ११:५९

बुढी सुखानी । ओझेलमा परेको ठाउँ अर्जुनधारा–३ मा पर्ने बुढी सुखानीका दुई असाहयहरुलाई सोही स्थानमा घर भई विदेशमा रोजगार गरिरहेका एक समाजले विहीबार सहयोग प्रदान गरेको छ ।

बुढी सुखानी प्रवासी सुखानी सेवा समाज कतारले सोही स्थानका तिलबहादुर मगर र हरिमाया आङ्बोलाई नगरका प्रमुख हरिकुमार रानाको बाहुलीबाट जनही रु. १० हजार ७५० प्रदान गरेका थिए ।

सोही दिन नै यलम्वर टाइम्सका सम्पादक दिपीन राईले दुई जनालाई नै एक–एक हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले विदेशमा रहेका मनका धनी युवाहरु स्वदेशमा असाहय जीवन बिताइरहेकालाई आफ्नो गाँस काटेर सहयोग गरेकोमा धन्यवाद प्रदान गरेका थिए ।

दुवै विरामी प्यारालाइसिस भएको हुँदा खानपानलाई ध्यान दिँदै दीर्घ जीवनको लागि अगाडि बढ्न अनुरोध गरे ।

बुढी सुखानी स्थित रेम्बो चोकमा आयोजित भेलामा दुई असाहय लगायत अन्यलाई नगरले खुदुनाबारीमै आयुर्वेद पद्धतीबाट थेरापीको व्यवस्था गर्न लागेको छ ।

उक्त आयुर्वेद सञ्चालनमा आएपछि निःशुल्क औषधीसहितको सेवा दिने भएको हुँदा प्यारालाइसिस हुनेहरु जो कोही त्यस ठाउँमा जान सन्देश प्रवाह गरे ।

कमल रायले सञ्चालन गरेको उक्त कार्यक्रमलाई विशिष्ट अतिथि दिपीन राई, बोर्ड सदस्य खिनमान दास, माइ नगरपालिका वडा नं. ४ का सदस्य महेन्द्र बुढाथोकी, भिमप्रसाद बास्कोटा, वडा नं. ३ का अध्यक्ष जीवन भण्डारी, वडा सदस्य सीताराम भट्टराई, युवा परिषदका संयोजक होम दुलाल, शेरबहादुर लिम्बू, दिपक दुलाल, पदमबहादुर राई लगायतले प्रवासी समाजको प्रशंसा गरेका थिए ।

प्रवासी समाजका अध्यक्ष पूर्णकुमार योङहाङ (साम्योक सुब्बा)ले सोही कार्यक्रममा टेलिफोन मार्फत बुढी सुखानीको समस्याबारे नगर प्रमुख हरिकुमार रानालाई अवगत गराई दिन समेत अनुरोध गरेका थिए ।

समाजका कोषाध्यक्ष सन्तकुमार तामाङले सहजीकरण गरेको कार्यक्रममा यसअघि पनि बुढी सुखानीमै आइपरेको विपदमा उक्त समाजले सहयोग प्रदान गरेको समेत जानकारी गराए ।

खुदुनाबारीबाट अढाई किलोमिटरभित्र पर्ने बुढी सुखानी प्रवेश गर्नुअघि कृष्णभिर सम्झाउने पहिरो पार गर्नुपर्ने हुन्छ ।

उक्त पहिरोलाई व्यवस्थित गर्न स्थानीय सरकार तथा प्रदेश सरकारको ध्यान केन्द्रीत हुनुपर्ने बोर्ड सदस्य खिनमान दासले यलम्वर टाइम्सलाई प्रतिक्रिया दिए ।