पूर्वकी असल महिला नेतृ गिरिराजकुमारीको निधन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

पूर्वकी असल महिला नेतृ गिरिराजकुमारीको निधन


यलम्वर टाइम्स
११ चैत्र २०७७, बुधबार ११:००

बिर्तामोड । प्रजातान्त्रिक समाजवादका योद्वा सिके प्रसाइकी धर्म पत्नी गिरीराजकुमारी प्रसाईं (ज्ञानु मुवा)को मंगलबार बेलुका निधन भएको छ ।

भरतबाबूसँगै राजनीतिमा आफू पनि प्रत्यक्ष संलग्न गिरीराजकुमारी विगत केहीदिनदेखि अस्वस्थ्य भइ उपचाररत् थिइन् ।

राजनीतिका साथै पछिल्लो समय समाजसेवा मार्फत सामाजिक रूपान्तरणमा सक्रिय उनको ९० वर्षको उमेरमा निधन भएको हो ।

पछिल्लो समय न्युमोनियाबाट बिरामी भएपछि उनलाई उपचारार्थ बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो ।

आठ दिन अघि उपचारका लागि अस्पताल पुर्याइएकी प्रसाईको मंगलबार भने एक्कासी किड्नीले समेत काम गर्न छोडेको छोरी रमिताले जानकारी दिइन् ।

‘अन्तिममा किड्नीले पनि साथ दिएन’ छोरी रमिलाले भनिन्– ‘न्युमोनिया भएपछि अस्पताल लगिएको थियो । न्युमोनिया ठीक भए पनि विहानैदेखि पिसाव लागेको थिएन ।’

नेपाली लोकतान्त्रिक आन्दोलन नेपाली जनताका वाक् प्रकाशन स्वतन्त्रता जस्ता लोकतान्त्रिक अधिकार प्राप्तिको लागि आवाज बुलन्द गरे वापत तत्कालीन सरकारले सर्वस्व हरण एवम् देश निकालाको कारवाही गर्दा समेत आफ्ना जीवन साथी सिके प्रसाईलाई प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट विचलित हुन नदिई अझ दृढतापूर्वक अघि बढ्न उत्प्रेरित गर्दै आफ्नो सम्पूर्ण जीवन नै राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि समर्पित भएकी उनलाई नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासकै मानक व्यक्तित्वका रूपमा लिइन्छ ।

सिके प्रसाईको राजनीतिसँगै राजनीतिमा होमिनु भएकी स्व. गिरिराज कुमारी २०५६ सालको आम निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट संसदीय निर्वाचनमा हालका प्रधानमन्त्री केपी शर्मओलीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

त्यस चुनावमा उनी पार्टीभित्रकै गुटगत राजनीतिका कारण (१७) मतले पराजित भएकी थिइन् ।

स्व. प्रसाईको जन्म १९८८ साल कार्तिक १७ गते ललितपूरको कुमारीपाटीमा बुबा क्या. गन्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माईली छोरीको रुपमा भएको थियो ।

स्व. प्रसाईका छोरा बिबेककेशरी बुहारी संगीता, छोरीहरू रमिता र नम्रता सिंह रहेको बताईएको छ