बुद्धशान्तिमा १५ बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन सञ्चालन « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

बुद्धशान्तिमा १५ बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन सञ्चालन


यलम्वर टाइम्स
६ जेष्ठ २०७८, बिहीबार ०८:२९

बुधबारे । कोरोना भाइरसको संक्रमणबाट देशभर गम्भिर स्वास्थ्य संकटको सामना गरिरहेको सन्दर्भमा झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारी सम्पन्न गरेको छ ।

बुद्धशान्ति गाउँपालिकाले देशभरको बिग्रँदो अवस्था देखेर सतर्कताका अपनाउदै अक्सिजन सहितको १५ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । त्यहाँ उपचार गर्न आउनेलाई कुनै पनि शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।

अक्सिजनको अभावले देशभर हाहाकारको अवस्था सृजना भईरहँदा गाउँपालिकाले कोरोना संक्रमितको उपचारमा सहजता ल्याउनका लागि अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले अक्सिजनको अभाव हुन नदिन १५ वटा अक्सिजन सिलिन्डरको व्यवस्थापन गरि सुविधायुक्त आइसोलेसन सेन्टर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।

भुजेलले उपचारमा सहज बनाउनका लागि गाउँपालिकाले समन्वय गर्दै विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर जुटाइएको बताउँदै सहयोगीहरुमा धन्यवाद दिए ।

बुद्धशान्ति गाउँपालिकामा कोरोना संक्रमितको संख्या एक सय नाघिसकेको अवस्थामा आउन सक्ने संकटलाई ध्यानमा राखेर पालिकाले महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधिन भवनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलले बताइन् ।

आइसोलेसन सेन्टरमा हालसम्म कोही बिरामीलाई राख्नुपर्ने अवस्था नभए पनि यदी राख्नुपर्ने अवस्था आएमा त्यसको पूर्वतयारीमा गाउँपालिका रहेको उपाध्यक्ष भूर्तेलले जानकारी दिइन् ।

बिरामीको अवस्था सहजभए यही आइसोलेसनमा राखेर गर्ने र थप जटिल भए अन्यत्र रेफर गरिने बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिए ।

आइसोलेसन सेन्टरमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जनाए ।

‘अहिलेलाई १५ बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी गरेका छौं’ गाउँपालिका अध्यक्ष भुजेलले भने, ‘बिरामीको चाप बढे बेड संख्या थप गरि सेवा दिनेछौं ।’