खोप लगाउनेहरु भन्छन्, ‘अब बाँचिन्छ’ « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

खोप लगाउनेहरु भन्छन्, ‘अब बाँचिन्छ’


यलम्वर टाइम्स
१६ श्रावण २०७८, शनिबार ०३:४८

अर्जुनधारा । कोभिड संक्रमणको संख्या ह्वात्तै बढेपछि खोप लगाउनेहरुको संख्या पनि त्यसरी नै उर्लेर आयो । अर्जुनधाराले पहिलो पटक फागुनको २३ देखि २८ गतेसम्म इन्डियन कोभिसिल २ हजार ४ सय ६१ लाई प्रदान गरेको थियो ।

६५ वर्ष पार गरेकालाई उक्त खोप लगाउनुपर्छ भनेर प्रचार गर्दा पनि नगर क्षेत्रमा पहिलो पटक लगाएको संख्या बाहेक बढ्न सकेन । यसरी नै कोभिडको संक्रमण फैलिदै थियो ।

जेठ २६ र २७ गतेको लागि चाइनिज भेरोसिलका लागि नगरले आव्हान गर्दा एक हजार ८ सयले मात्र उक्त खोप प्रयोग गरे ।

तेस्रो पटक कोभिडको संक्रमणसँगै मृत्युदर ह्वात्तै बढेसँगै सरकारले ५५ वर्षमाथिका नागरिकलाई खोप लगाइने भनेपछि खोप लगाउनेहरुको संख्या थेगिसक्नु भएन ।

असार १३ र १४ गते नगरले आफ्नो वडाका ५५ वर्ष पार गरेका सबै नागरिकहरुलाई खोप लगाउने कार्य सुरु गर्यो ।

सीमित संख्यामा खोप भित्रिएपछि नागरिकहरुलाई गरिएको आव्हान अनुसार खोप नपुगेपछि नगरको स्वास्थ्य शाखालाई जवाफ दिन निक्कै हम्मे भएको छ ।

यस विषयमा नगर प्रमुख हरिकुमार रानालाई सम्पर्क गर्दा राज्यले नागरिकहरुका लागि खोप जुटाए पनि खोप भण्डार गर्ने स्थान नभएका कारण सीमित संख्या हुँदै खोप लगाउने कार्य थालनी गरेको जवाफ दिए । प्रमुख रानाले क्रमशः नगरवासीहरुका लागि आवश्यक खोप पुराएरै छाड्ने जानकारी दिए ।

तेस्रो पटक असार १४ गते अर्जुुनधारा वडा नं. ४ को रातेखालमा खोप लगाउन आएका थुप्रै वृद्धहरु खोप लगाएपछि हर्षित मुद्रामा देखिन्थ्ये ।

गाउँका स्वास्थ्यकर्मीहरुले कोभिडबाट बाच्ने हो भने खोप अनिर्वाय भनेपछि त्यसलाई विश्वास मान्दै ९० वर्षका कुलप्रसाद पौडेल पनि लठ्ठि टेक्दै एक्लै खोप केन्द्रमा देखिन्थे ।

कान र आँखाले त्यति भेउ नपाए पनि खोप लगाउने नैसर्गिक अधिकार हो भनेपछि कुलप्रसाद जस्ता ९० पार गरेका थुप्रै वृद्धवृद्धाहरु खोप केन्द्रमा पुगेका थिए ।

यलम्वर टाइम्सका प्रतिनिधि खोप केन्द्रमा पुग्दा कतिपय महिलाहरु ‘अब बाँचिने भइयो’ भन्दै बाहिर निस्कदै थिए ।

५५ वर्षमाथिका भनेपछि खोप लगाउनेहरुको संख्या त उल्लेखीय नै थियो । त्यो भन्दा बढी वृद्धवृद्धाहरुको संख्या बढी देखिन्थे ।

यसरी वडा नं. ६ मा खोपको मात्रा बुझेर होला अपुग भएपछि स्थानीय जनआक्रोस निकै थियो । प्राप्त जानकारी अनुसार १३ र १४ गते मात्र वडा नं. १ मा ४४०, वडा नं. २ र ३ मा ५५६, वडा नं. ७ र ४ मा ५१८, वडा नं. ५ मा ३००, वडा नं. ६ मा ४००, वडा ८ र ९ मा ७०८, वडा नं. १० मा ३७० र वडा नं. ११ मा ३४९ ले खोप लगाएका थिए ।

१५ गते शिक्षक, सवारी चालक लगायतलाई दिने भनेर राखिएको २ सय खोप अघिल्लो दिन वडाहरुले नागरिकता संकलन गरेर राखेकाहरुलाई दिनुपर्ने बाध्य भएको कारण शिक्षक र सवारी चालकलाई दिन नसकिएको स्वास्थ्य शाखाका प्रमुख केशव रिजालले जानकारी दिए ।

शिक्षक र सवारी चालकहरुलाई दिने भनिएको खोप नागरिकलाई नै दिनुपर्दा थुप्रै गुनासाहरु र डेलिगेशन आए पनि नगर स्वास्थ्यले तयार पारेको नीति अनुसार अगाडि बढेको भए गुनासा हुने थिएनन् ।

तर, वडाबाट नै त्यस खालका दबाब आएपछि शिक्षक, चालकहरुलाई खोप प्रदान गर्न नसक्दा नराम्रो लागेको समेत स्वास्थ्य प्रमुख रिजालले प्रतिक्रिया दिए ।

त्यसो त अग्रपंक्तिमा रहेका नगरका पत्रकारहरु पनि खोपबाट बञ्चित छन् । अर्जुनधारा प्रेस क्लबले निवेदन पेश गरेपछि खोपको लागि नामावली माग गर्दै शनिबार लगाइदिने भएको बताए ।

कम मात्रामा खोप दिएको कारण र जिल्ला प्रशासनको निर्देशन अनुसार काम गर्नुपर्ने भएको हुँदा नागरिकलाई समेत पुर्याउन नसकिएको नगर प्रमुख हरिकुमार रानाले जनाए ।

प्रमुख रानाका अनुसार चौथो पटक जनतालाई प्रदान गर्ने खोप अग्रपंक्तिमा रहेर काम गरेकाहरुलाई दिनेछौं । त्यस समयमा नगरका क्रियाशिल सञ्चारकर्मीहरुलाई छुटाउने छैनौं ।