अल्छे हुने कि गरि खाने: नगर प्रमुख राना « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

अल्छे हुने कि गरि खाने: नगर प्रमुख राना


यलम्वर टाइम्स
६ आश्विन २०७८, बुधबार ०९:२९

अर्जुनधारा । सुरुमा खचाखच शेयर सदस्य, प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले नगरको सपनाको विषयमा मन्तव्य राख्दा हल सुनसान । प्रशासकीय प्रमुख अम्बिकाप्रसाद चौलागाईले पनि सहकारीका मोडलका विषयमा नयाँ विचार पस्कदा हलभित्र कोलाहल यसरी नै अन्तरक्रिया सम्पन्न भयो ।

अर्जुनधाराभित्र नयाँ सहकारीको रुपमा दर्ता भएको अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको प्रथम अन्तरक्रियात्मक एवम् अभिमुखिकरण कार्यक्रम सोमबार देखिएको यस्तैखाले दृश्यले नगर प्रमुख हरिकुमार रानाले कम उपस्थितिलाई अंकित गर्दै हामीले देखेको समृद्धि यस्तै उपस्थितिले हो भने शंका व्यक्त गरे ।

५१५ जना शेयर सदस्य रहेको सहकारीमा उपस्थिति संख्यामा भने ४ सय पुग्न गाह्रो थियो । अन्तरक्रियामा के भनिदै थियो ? के गरिदै थियो ? केही सचेत नागरिक बाहेक कसैको चासो घत लाग्दो थियो जस्तो लागेन । तर, थोरै उपस्थितिले पनि अन्तरक्रिया राम्ररी नै ग्रहण गरे ।

सुरुमा पशुपंक्षी शाखा प्रमुख पदम राईले नगर विकास बहुउद्देश्यीय सहकारी आउनुको पछाडि के–के छन् त भन्ने विषयमा करिब ३५ मिनेट सहजीकरण गरे । उनले आफ्ना विचार राख्दै जाँदा कृषकलाई बिचौलियाले पीरेको कथादेखि लिएर समृद्धिको बाटोमा जान सक्ने आधारहरु प्रस्तुत गरे ।

प्राविधिक सहयोग महिला, बालबालिका तथा सहकारी शाखाका प्रमुख सुमित मगरले गरेका थिए भने सहकारीलाई यहाँसम्म ल्याउन खेलेका विषयमा सहकारी ऐन मस्यौदा समितिका संयोजक रुद्रमणी श्रेष्ठले बताउँदै नगर विकास बहुउद्देश्य सहकारी सफल भए नगर सफल हुने जानकारी गराउँदै प्रत्येक वडावडामा केन्द्र राखेर त्यहाँका किसान र व्यवसायी बीचको सम्बन्धलाई गाढा बनाउन र आर्थिक उपार्जनमा सहयोग मिल्ने जानकारी दिए ।

नगर सहकारीका तदर्थ समितिका अध्यक्ष प्रत्युस रानाले सहकारीको माध्यमबाट कृषकहरुले उत्पादन गरेको कृषि तथा पशुपन्क्षीजन्य वस्तुको प्रशोधन, प्याकेजीङ र बजारीकरण गर्दै उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले स्थापना भएको उक्त सहकारीको औचित्य र आवश्यकता बारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताए ।

नगरपालिकाले प्रबद्र्धन गरेको उक्त सहकारी उत्पीडनमा परेका कृषकहरुको लागि आर्थिक समृद्धीको बलियो आधार हुने हुँदो यो सपना केवल नगरपालिकाको मात्र नभई सिङ्गो नगरवासीको भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख हरिकुमार रानाले बताए ।

प्रमुख रानाले हिजोका दिनमा जिल्लाबाट कृषि क्षेत्रका लागि दिइने अनुदान जमिनदार र पहुँचवालाले मात्र लिने गरेकाले उर्जाशिल तथा साधारण कृषकहरुको जीवनस्तर उठन सकेन । संघीयता आएपछि स्थानीय सरकारबाट स्थानीय कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्तर्गत अर्जुनधारा नगर विकास बहुउद्देश्य सहकारीबाट नगरवासीले प्रत्यक्ष लाभ लिन सकुन भनेर सहकारीलाई एक रोड रुपैयाँ अनुदान दिन लागिएको जानकारी दिए ।

रानाले भने, ‘नगरपालिकाले देखेको सपना, नगरवासीका लागि हो, नगरपालिका छ भनेर आफू केही नगरी कप्पक खान पाइन्छ भन्ने सोच आउछ भने त्यो सोच प्रगतिको बाधक हुनेछ ।’

घरमा ३६ इन्चको टिभीमा हिन्दी धारावाहिक हेरेर आँसु पुच्छदै र हाँस्दै कुनामा बसेर, च्याटिङ गरेर समय बिताइरहनु भएको छ । अब त्यो समय श्रममा खर्च गर्नतर्फ सबै लाग्नुपर्छ ।

हामी क्षेत्र बनाइदिने हो, बाटो देखाइदिने हो, हिड्नु तपाई आफैले पर्छ । आज कतिपय छोराछोरीहरुलाई बिदेशमा श्रम बेच्न लगाएर आएको रेमिट्यान्सले बिदेशबाट आयातित अन्न, सागसब्जी किनेर खान पाएकोमा रमाइरहेका छौं । भोली कमाउने व्यक्ति बाकसमा बन्द भएर आए भने के गर्ने ? त्यसैले अहिलेदेखिने आत्मानिर्भर बन्नेतर्फ सबै लाग्नुपर्ने सुझाव नगर प्रमुख हरिकुमार रानाले दिए ।

प्रमुख रानाले विज्ञानका नाममा मौलिक बालीहरुलाई विस्थापित गर्नु हुँदैन भोली बिदेशीले उन्नत जातको बीउ विजन पठाएन भने के हामी भोकै मार्ने ? त्यसैले गर्दै आएका कृषि प्रणालीलाई पनि आत्मासाथ गर्दै जानुपर्नेमा जोड दिए ।

उनले उपस्थित शेयर सदस्यहरुलाई लक्षित गर्दै उनले भने, ‘सफलता र असफलता तपाईंहरुको हातमा छ, असफल भए नगरपालिकाले दिने अनुदानमा रोक लगाइनेछ ।’

समितिकी सदस्य देवकला प्रसाईंले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन अर्का सदस्य रुद्रप्रसाद गिरीले गरेका थिए । उक्त सहकारीमा हाल ५१५ जना शेयर सदस्य रहेका छन् ।