पाँचथरका आधा दर्जन चिया फ्याक्ट्रि बन्द « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

पाँचथरका आधा दर्जन चिया फ्याक्ट्रि बन्द


यलम्वर टाइम्स
३ पुष २०७३, आईतवार ०८:३८

सन्देश सुब्बा

teaपाँचथर / लाखौं रुपैंयाँ लगानी गरेर स्थापना भएका जिल्लाका आधा दर्जन चिया फ्याक्ट्रि अहिले बन्द रहेका छन् ।

चिया तयार पार्न आवश्यक विद्युतको अभाव र निर्यात गर्न सडक सुविधाको अपर्याप्तता लगायतका कारण ती फ्याक्ट्रि बन्द गर्नु परेको सञ्चालकहरु बताउँछन् ।

जिल्लाको ओलने, हाङ्गुम र मौवाको क्रिकोणात्मक संगमस्थलमा रहेको त्रिबेणी चिया बगान, रबिमा रहेको सेन्चेलेङ्मा चिया बगान, आङसराङ र माङजाबुङको सिमानामा रहेको फक्ताङ्लुङ चिया बगान, सराङडाडाँ गाबिसमा रहेको फुङ्सिङ चिया बगान लगायतका बगानबाट चिया उत्पादन गर्ने फ्याक्ट्रि पूर्णतः बन्द अवस्थामा रहेका हुन् ।

नेपाल अर्गानिक चिया उद्योगले दश वर्षका लागि ६० लाख रुपैंयाँमा लिजमा लिएको सेन्चेलेङ्मा चिया बगान लिमिटेड दुई बर्ष अघिदेखि बन्द छ । झन्डै ८ सय रोपनीमा पैmलिएको उक्त बगानबाट उत्पादित चिया प्रशोधनका लागि विद्युतको अभाव र मोटरबाटोको समस्याका कारण बन्द गर्नु परेको सञ्चालक देवेन्द्र रेग्मीले बताए ।

सुरुमा जेनेरेटरबाट चिया तयार गरिए पनि खर्चले धान्न गाह्रो भएपछि फ्याक्ट्रि बन्द गर्नु परेको सञ्चालक रेग्मीको भनाई छ । उक्त स्थानसम्म पुग्ने कच्ची मोटरबाटोमा बर्षादको सिजनमा सवारी साधन नचल्ने हुँदा तयार पारिएको पत्तिलाई निर्यात गर्न समस्या भएकाले पनि बाध्य भएर फ्याट्रि बन्द गरेको उनले बताए । सो बगानमा स्थानीयबासीको ८० लाख लगानी रहेको छ ।

यस्तै जिल्लाको आङसराङ र माङजाबुङ गाबिसमा रहेको फक्ताङ्लुङ चिया बगान लिमिटेड पनि तीन बर्षदेखि बन्द छ । सो फ्याक्ट्रि शसस्त्र द्वन्द्वकालमा माओवादीको निशानामा परेको भन्दै सञ्चालकले शान्ति मन्त्रालय मार्फत् करिब एक करोड रुपैंयाँ क्षतिपुर्ती समेत लिएको थियो । तर कार्यकारी निर्देशक सन्तकुमार आङदेम्बेले भष्ट्रचार गरेको ठहर भएपछि उनी जेलमा परे । सोही समयदेखि फ्याक्ट्रि बन्द भएको फ्याक्ट्रिका पूर्व कर्मचारी बेदप्रसाद अधिकारीले बताए ।

सराङडाडामा रहेको फुङ्सिङ चिया बगान लिमिटेड र मौवामा रहेको त्रिबेणी चिया बगान लिमिटेड पनि बन्द छन् । जिल्लाको दक्षिणी भेग अन्तर्गत पर्ने सो क्षेत्रका चिया फ्याक्ट्रि बन्द हुनुमा पक्की सडक नुहुन मुख्य कारण रहेको स्थानीय बताउँछन् । बर्षात्को सिजनमा सवारी साधन नचलेपछि मान्छेले बोकेर लान सम्भव नहुने हुँदा फ्याक्ट्रि बन्द हुने गरेका हुन् ।

यसरी फ्याक्ट्रि बन्द हुँदा लाखौं मूख्य पर्ने हरियो चिया पत्ति त्यसै खेर गइरहेको छ । विदेशी बजारमा अर्गानिक चिया निर्यात गरेर मुनाफा लिने योजनाले लाखौं रुपैंयाँ खर्चेर स्थापना भएका चिया फ्याक्ट्रि बन्द हुँदा किसान भने चिन्तित छन् । सरकारले आवश्यक पहल गरी बन्द फ्याक्ट्रि पुनः सञ्चालनमा ल्याउँनुपर्ने चिया सहकारी संघका केन्द्रीय सदस्य राजेन्द्र जवेगुको भनाई छ ।