बालबालिको समस्या पहिचान गर्न अर्जुनधारामा मेयरसँग बालबालिका सम्वाद « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

बालबालिको समस्या पहिचान गर्न अर्जुनधारामा मेयरसँग बालबालिका सम्वाद


यलम्वर टाइम्स
६ मंसिर २०७८, सोमबार १४:४१

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको सामाजिक विकास शाखाले बालबालिकाको समास्या समाधानका पहिचान गर्न र समाधान गर्नका लागि सोमबार मेयरसँग बालबालिका सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रमका सहभागी विद्यार्थीहरुले विद्यालयमा आवश्यक पूर्वाधार, प्राविद्यिक शिक्षा, शुद्ध खानेपानी, व्यवस्थित शौचालय, वर्कसीट कार्यान्वयन, क्यान्टिन, अनुगमन, धुलाम्मे सडक, पुल निर्माणलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सामुदायिक र संस्थागत गरी १८ वटा बढी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा उत्कृष्ट प्रश्नकर्ताको रुपमा पाँच जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुनेहरुमा अर्जुनधारा–१स्थित भीमले माध्यमिक विद्यालयकी छात्रा श्रेया बराल कक्षा–८, अर्जुनधारा–४स्थित लक्ष्मी प्राथमिक विद्यालयका छात्र लेखनाथ ढकाल कक्षा–४, अर्जुनधारा माध्यमिक विद्यालयकी छात्रा जुनु बराल कक्षा–१०, अर्जुनधारा–८स्थित चन्द्रोदय प्राथमिक विद्यालयका छात्र शिवन दर्नाल कक्षा–५ र अर्जुनधारा–५स्थित भानु माध्यमिक विद्यालयकी छात्रा रसमी शर्मा कक्षा–११ रहेका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, निजी तथा आवासिय विद्यालय संगठन प्याब्सनका नगर अध्यक्ष रुद्र सिटौला, नेपाल शिक्षक महासंघका नगर सचिव गंगा पोखरेललगायतले आफ्नो धारणासहित मन्तव्य व्यक्त गरेका थिए ।

सामाजिक विकास शाखाका प्रमुख सुमित मगरले कार्यक्रको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महिला विकास निरीक्षक जमुना पौड्यालले गरेकी थिइन् ।