१४ औं संस्करणको आत्मानन्द गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली माङसेबुङको विजयी सुरुआत « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

१४ औं संस्करणको आत्मानन्द गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली माङसेबुङको विजयी सुरुआत


यलम्वर टाइम्स
१२ मंसिर २०७८, आईतवार ०७:४७

[राम योङहाङ]

माङसेबुङ । इलामको माङसेबुङमा १४ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ ।

उद्घाटन खेलमा घरेलु टोली माङसेबुङ गाउँपालिका खेलकुद समितिले विजयी सुरुआत गरेको छ ।

गोधुली फूटबल क्लब धरान सुनसरीविरुद्ध ३–१ गोलको सहज जित निकाल्दै माङसेबुङले विजयी सुरुआत गरेको हो ।

पहिलो हाफमा कमजोर प्रदर्शन गरेको गोधुलीले दोश्रो हाफमा लयमा फर्कन नसक्दा पहिलो चरणबाट नै बाहिरिनु परेको छ ।

१८ औं मिनेटमा नै माङसेबुङका प्रविण राईले पाहिलो गोल गर्दै अग्रता दिलाए । २० औं मिनेटमा पुनः राईले नै गोल गर्दै अग्रता दोब्बर बनाए ।

घरेलु मैदानको समर्थन पाएको माङसेबुङले २४ औं निर्मल राईको गोलमा अग्रता तेब्बर बनाए । गोधुलीका तर्फबाट दोश्रो आफमा विवस सुनुवारले सान्वना गोल फर्काएका थिए । प्रतियोगितको उद्घाटन प्रदेश १ सामाजिक विकासमन्त्री जयराम यादवले गरेका थिए ।

माङसेबुङ–५ स्थित आत्मानन्द खेलमैदानमा संचालित प्रतियोगिता अन्तरगत आइतबार बिबिएफसी दकम झापा र रेडहर्ष इलाम बीच प्रतिष्पर्धा हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ डिफेण्डर, उत्कृष्ठ स्ट्राइगर, उत्कृष्ठ मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।
म्याराथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ ।

म्याराथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा बर्सेनि माङसेबुङमा आत्मानन्द गोल्डकप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।