‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा पुगेस“गै चर्चामा बिर्तामोडकी अनुजा « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा पुगेस“गै चर्चामा बिर्तामोडकी अनुजा


यलम्वर टाइम्स
१३ पुष २०७८, मंगलवार ०८:४३

बिर्तामोड । गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् ।

नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् ।

कलाकारिता क्षेत्रमा झापाका सीताराम कट्टेल (धुर्मुस) हुन् या गायन क्षेत्रका प्रमोद खरेल, प्रविशा अधिकारी नै किन नहुन् सबै नेपालीको जिब्रोमा सँधै झुण्डिरहने नाम हुन् । त्यसो त झापाले अन्य थुप्रै सांगीतिक क्षेत्रमा पनि चम्किला तारा समेत जन्माएको छ ।

भनिन्छ, ‘हर कोहीसँग छुट्टै कला हुन्छ, त्यसको पहिचान गर्न र त्यसमा लगाब हुन आवश्यक छ ।’ पछिल्लो समय स्थानीय तथा राष्ट्रियस्तरमा आयोजना गरिने विभिन्न ‘रियालिटी शो’ का कारण मानिसमा भएका अन्तरनिहीत प्रतिभा पहिचान गर्न सहज भएको छ ।

अझ बालबालिकाहरुका लागि मात्रै आयोजना गरिने ‘रियालिटी शो’ ले प्रतिभा पहिचानमा थप मद्दत पुगेको छ । त्यसको ज्वलन्त उदाहरण हुन्, नेपालकै ठूलो भनिएको अन्तर्राष्ट्रियस्तरको चर्चित रियालिटी गायन शो सारेगमप लिटिल च्याम्प्स नेपाल र ‘द भोइस किड्स नेपाल’ ।

यस्ता कार्यक्रमले नेपाली संगीत क्षेत्रमा नयाँ तरंग ल्याएको छ । यसले १६ बर्ष मुनिका बालबालिकाको गायन प्रतिभालाई प्रष्फुटन गर्ने मौका प्रदान गर्नुका साथै नेपाली गीत–संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकार उत्पादनमा सघाउ पु¥याइरहेको छ ।

‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा झापाकी अनुजा कडरिया प्रवेश गरेसँगै अहिले सबैको ध्यान खिचेको छ । सुरिलो स्वरकी धनी झापा बिर्तामोड– १ निवासी कडरियाले दश हजार आठ सय प्रतियोगीलाई पछि पार्दै भोटिङ राउण्डमा प्रवेश गरेसँगै उनको चर्चा एकाएक चुलिएको हो । द भ्वाइस किड्स नेपालको ब्याटल राउण्डबाट लाइभ राउण्डका लागि छानिएकी १९औं प्रतियोगी हुन्, अनुजा ।

उनले कोच प्रविशाको टिमबाट व्याटलमा प्रतिष्पर्धा गरेकी थिइन् । उनले सारा महर्जन र अमिता थापालाई पछि पारेकी थिइन् । ‘कहिले काहिँ मलाई पनि हेरिदेऊ फर्केर, सँधैभरि मदेखि नजाउन तर्केर’ बोलको गीत गाएकी थिइन् ।

कुन्ती मोक्तानको आवाजमा सजिएको यो गीत जो कहिले सहजै गाउन नसक्ने संगीत क्षेत्रका अगुवाले बताउँदै आएका छन् । यो गीत गाएर चार जना निर्णयकलाई आफूतिर आकर्षित गरेकै कारण उनको चर्चा झापामा मात्रै चलेको छैन देशभर नै चुलिएको छ ।

नौ वर्षे कलिलो उमेरमा कुन्ती मोक्तानको यस्तो कठिन गीतलाई दुरुस्तै गाएकै कारण गायन क्षेत्रमा अनुजाले धमाका मच्चाएको एकथरीको विश्लेषण छ ।