चेप्टीमा हप्पी ड्रिम्स पार्क निर्माणसँगै पर्यटकको चहलपहल सुरु « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

चेप्टीमा हप्पी ड्रिम्स पार्क निर्माणसँगै पर्यटकको चहलपहल सुरु


यलम्वर टाइम्स
१९ पुष २०७८, सोमबार ०५:३४

माई । इलामको माई नगरपालिका वडा नं. २ स्थित चेप्टीमा हप्पी ड्रिम्स चेप्टी बनेसँगै आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ ।

चुरेको काखसँगै प्रसिद्ध तीर्थ स्थल कनकाइको दोभानमा सजिएको उक्त मनोरम पार्क प्रकृतिसँग रमाउन चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने भएपछि चहलपहल बढ्दै गएको हो ।

झापाको सुरुङ्गामा निजी क्षेत्रबाट सञ्चालित हप्पी ल्याण्ड फनपार्कको अपार सफलतापछि इलाम जिल्लाको माई नगरपालिका–२ चेप्टीमा दुइ सय रोपनी क्षेत्रफलमा उक्त पर्यटकीय स्थल सञ्चालनमा ल्याइए सञ् चालक दिनेश शिवाकोटीले बताए ।

एक अर्बको लगानीमा निर्माण हुँदै गरेको हेप्पी ड्रिम्समा ३२ करोड लगानी भइसकेको पार्कका सञ्चालक शिवाकोटीले जानकारी दिए । उनले हालसम्म पार्कको ३० प्रतिशत काम सम्पन्न भइसकेको बताएका छन् ।

सञ्चालक शिवाकोटीका अनुसार उक्त स्थानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने छ । उनले आफ्नो योजनाका बारेमा सञ्चारकर्मीमाझ जानकारी दिँदै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्नका लागि आगामी दिनमा दोमुखादेखि पार्कसम्म केवलकारसमेत सञ्चालनमा ल्याउन लागिएको बताए ।

गत वर्षको पुष महिनाबाट निर्माण कार्य सुरु गरिएको उक्त पार्क अंग्रेजी नयाँ वर्ष २०२२ देखि पर्यटकका लागि सबै परियोजना खुल्ला गरिएको उनले जानकारी दिए । हाललाई २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएका बताए ।

हेप्पी ड्रिम्स चेप्टी पार्कमा घोडा सवारी, बालबालिकाका लागि प्लेन, पिङ, पिकनिक स्पट, बोटिङ, १८० फिट अग्लो झरना, आकर्षक हिमाल, रक गार्डन, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु ड्राइगन, हात्ती, जेब्रा लगायत मनोरञ्जनात्मक तथा खेल्ने साधनहरु रहेका छन् ।

झापाको बिर्तामोडदेखि शनिश्चरे, खुदुनाबारी, शुक्रबारे बजार, गोरखे हुँदै सजिलै उक्त पर्यटकीय स्थलमा पुग्न सकिन्छ भने एड्भेन्चरका पारखीका लागि सुखानीबाट चेप्टीको शिवपोखरीको बाटो प्रयोग गर्न सक्ने छन् ।

३ सय जनाले एकै पटक अवलोकन गर्न सक्ने सेल्फी डाँडा तयार भइसकेको र डाँडा वरिपरी वोटिङ व्यवस्थापन गरिने उनले बताए ।

नेपाली नयाँ बर्ष बैशाख १ गते एकलाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको सञ्चालकले बताए ।