महारानीगञ्ज माविको प्रशंसा « Yalambar Times
१ बैशाख २०८१, शनिबार

महारानीगञ्ज माविको प्रशंसा


यलम्वर टाइम्स
३० पुष २०७८, शुक्रबार १०:०२

अर्जुनधारा नगर क्षेत्र अन्तर्गत सरकारी विद्यालयमा आम अभिभावक उपस्थित गराएर भए गरेका आय–व्याय मसिनो रुपमा सार्वजनिक गरेको हुँदा यो हप्ता अर्जुनधारा वडा नं. ११ स्थित महारानीगञ्ज मावि प्रशंसाको पात्र बनेको छ । प्रायः जसो विद्यालयले अझै पनि अभिभावक माझ विद्यालयमा भएका हरहिसाब सार्वजनिक गर्न सकेका छैनन् । विद्यालय व्यवस्थापन समितिले आन्तरिक लेखासम्म ल्याउन सकेका छैनन्, सार्वजनिकको त कुरै छाडौं । तर, महारानीगञ्ज माविमा प्रदेश सांसद माननीय बृख प्रधानको उपस्थितिमा हिसाब सार्वजनिक गरेर अरु विद्यालयका अगाडि उदाहरणीय बनेको छ ।

संघ तथा प्रदेश हुँदै स्थानीय सरकारले पनि विद्यालयको स्तरोन्नति र खाजा खर्च प्रदान गरिएको हुन्छ । कुन नानीले खाजा खायो, खाएन ? कुन भवन कति रकममा बन्यो ? विद्यालयको कम्पाउण्ड निर्माणमा कहाँ कति रकम लाग्यो यो विषयमा हिसाब नहुनु, त्यतिमात्र होइन हिजोआज दाताहरुबाट पनि आफ्ना पितृका नाममा पुरस्कार तथा छात्रवृद्धि राखिएको हुन्छ । साथै विद्यार्थीका लागि खानेपानी, पुस्तकालय, शौचालय जस्ता ठाउँमा सहयोग प्रदान गरिएको हुन्छ । ती सहयोगको हरहिसाबसँगै पुरस्कार र छात्रवृद्धि प्रदान गर्ने कार्यमा अनेकौं बहानाबाजी आउने गरेको हुँदा त्यस्ता कार्यलाई महारानीगञ्ज माविले छर्लङ्ग पार्दै अरु विद्यालयप्रति प्रश्न उब्जाएको छ ।

महारानीगञ्जमा बालबालिकाको खाजादेखि दाताको छात्रवृद्धिसँगै सरकारले दिएको एक करोड ८ लाख १४ हजार पाँच सय ३६ रुपैयाँ ५१ पैसा बराबरको आम्दानी खर्च विवरण प्रस्तुत गरेको छ । त्यस क्षेत्रका अभिभावकहरुको पनि बाक्लो उपस्थिति थियो । प्रश्न राख्ने ठाउँ थिएन । पारदर्शीको एउटा नमूना यही हो भन्दै अभिभावकहरुले चित्त बुझाएका थिए । यस्तै कार्य अन्य विद्यालयले पनि अनुशरण गर्नुपर्छ भन्ने मान्यता हो । तर, धेरै जासो विद्यालयमा मान्यता विपरीत भईहाल्छ भन्ने सोचका कारण अख्तियारको पत्र पनि बुझेका छन् । नगरको इज्जत राख्नमा सरकारी विद्यालयको पनि धेरै ठूलो हात रहने भएको हुँदा त्यसतर्फ सबैको ध्यान जान जरुरी छ ।