श्रद्धाञ्जली उनीलाई… « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

श्रद्धाञ्जली उनीलाई…


यलम्वर टाइम्स
१० माघ २०७८, सोमबार ०७:२०

 

आज पनि व्यापारको सिलसिलाबाट थाकेर आइयो । लामो सुस्केरा तान्दै आफ्नो ओछ्यानमा ढल्किएँ । आफू भर्खर २४–२५ को लक्का जवान । घरमा बुबा आमा र एउटी बहिनी थिइ । बस हामी चार जनाको परिवार थियो । सानो चिटिक्क परेको घर । बुबासँग व्यापारमा हातेमालो गर्दै जीवन बिताइरहेको म । मनमा किञ्चित पीर न सुर्ता । कहिले काही बुबाले व्यापारीहरुबाट पैसा उठाउन पठाउनु हुन्थ्यो । मोटरसाइकलमा सरर गयो । कहिले उतै रात पर्ने । साथीहरुसँग बसेर रमाइलो गर्न पछि नपर्ने । कहिले काही अलिक धेरै नशाले भेट्दा चाही आफू बेहोस झै एक्लै भौतारिने बानी छ । जब बिहान नशाले छाड्थ्यो तब आफूलाई त्यति थाहा हुन्थेन । मेरो खराबी भनेकै त्यही थियो । त्यही बानीले गर्दा घरमा कहिलेकाही बुबाआमको गाली खाइन्थ्यो । तर, पनि आफूलाई केही पश्चाताप हँुदैन थियो ।

आज पनि बुबाले एउटा व्यापारीबाट पैसा उठाएर ल्याउने आदेश दिनुभयो । म आज्ञाकारी छोरो जसरी नै ‘हस्’ भन्दै मुन्टो हल्लाएँ । हतार हतार गरेर हातमुख घोएर खाना खान बसें । खाना खाइसकेर बुबासँग व्यापारीको ठेगाना र नाम सोधेर मोटरसाइकल चढेर बाटो लागे । आमाले पछाडिबाट ‘भरै चाँडो आउनु है….’ भनेर ममता दर्शाउनु भयो । मैले पनि ‘हुन्छ’ भनेर मुन्टो हल्लाएँ ।

पुग्नु पर्ने ठाउँ धेरै टाढा रहेछ । अन्दाजी १ घण्टा लाग्ने रहेछ । त्यसैले बाटो काट्न बोर हुन्छ भनेर बाटोबाटै एक जना साथी लिएर हुइकिएँ । केही बेर त राम्रै बाटो कुदाइयो तर त्यसको केही क्षणपछि खाल्डाखुल्डी बाटो छिचोल्दै बल्लबल्ल त्यो साहुको घर पुगियो । साहुलाई भेटेर बुबाको सन्देश सुनाएँ अनि उहाँले पैसा दिनुभयो । त्यो पैसा लिएर हामी बाटो लाग्नमात्र लागेको फेरी साथीलाई ‘तिर्खा लाग्यो, जाउँ चिसो खान’ भनेर सामुन्नेको भट्टी पसलतर्फ लाग्यौं ।

भट्टी पसलभित्र पसेर त्यहाँको साहुलाई वियर र मासु मागे । हामी दुवै जना मिलेर वियर खान लाग्यौं । केही बेर पश्चात अचानक त्यो दोकान केही चिनेजाने झै लाग्यो । मलाई याद आयो कि म यो दोकानमा पहिला पनि आएको हो । त्यही भित्ताहरु, यही टेवल, किचन त्यही । त्यो बेला साहु चाही अर्कै थिए । सायद साहुनी थिई होली । मलाई नशाले छोयो होला भनेर टाउको झट्काएँ । हैन नशा त्यति लागेको थिएन । म भट्टीको कोठाभरी एकोहोरो हेर्न थाले । त्यो देखेर साथीले ‘के भयो ? यति चाँडै चढ्यो कि क्या हो ?’ भनेर सोध्यो । मैले उसलाई नहेरी नभने ‘होइन यार… मलाई यस्तो लाग्दैछ कि म यहाँ पहिला पनि आएको छु । यो भट्टी त्यो भित्ताहरु सबै पहिला देखेको छु जस्तो लाग्दैछ ।’ ‘आईस होला नि ! अरु कसैसँगै ।’

‘पहिला आएको भए त थाहा भईहाल्थ्यो नि । तर मलाई मधुरो याद मात्र आइरहेको छ । बाहिर जाउँ त, मलाई अझै अरु पनि धमिलो यादहरु आइरहेको छ ।’ म सँगै मेरो साथी पनि मेरो पछिपछि आयो । भट्टी पसलबाट दाहिनेतर्फ एउटा सानो गोरेटो थियो । त्यो गोरेटोलाई केही क्षण नियाले र अदृश्य शक्तिले तानेझै सरासर त्यही गोरेटोलाई पछ्याउँदै हल्का उकालो लागें । मेरो साथी मलाई पछ्याउँदै आउँदै थियो । केही पाइलो हिडेपछि अगाडि एउटा झुपडी देखें । खै को नि के भयो, मुटु अचानक च्वास्स घोच्यो । सारा शरीर चिसो भएर आयो । हतार हतार म त्यो तर्फ लम्किए । अहिले मेरो पाइला केही चाँडो चले झै लाग्यो । सरासर त्यो झोपडीको दैलोमा गएर उभिएँ ।

बाँसको टाटीको ढोका, आधा खुलेको अवस्थामा थियो । भित्र केही मधुरो आवाजमा खोक्दै थियो । बाहिर पनि टाटीले नै बारेको भित्ता । पानी र हावाले खुइलाएका रातो रङ्गमा परिणत भइसकेको टिनको छानो । बाहिर चारैतर्फ नजर दौडाएँ । मनसपटलमा मधुरो अपनत्व झल्किरहेको थियो । मनमा लाग्यो पक्कै यो घरसँग मेरो केही नाता छ ।

मैलेभित्र चिहाएर ‘को हुनुहुन्छ ?’ भनेर प्रश्न गरें । भित्रबाट एउटा मधुरो स्वर गुञ्जियो ‘म छु है ! कसलाई खोज्नु भएको हो ?’ मैले त्यहाँ चिनेको कोही त थिएन अनि कसलाई खोजेको भनेर जवाफ दिऊ । त्यही पनि जवाफ त दिनै पर्यो, ‘कोही हुनुहुन्छ कि भनेर सोधेको’ । ‘ए…. म त एक्लै छु । अलिक बिरामी जस्तो छु भित्र नै आए हुन्थ्यो नि ।’ म उसको निमन्त्रणासँगै ढोका केही खोलेर भित्र प्रवेश गरें । पर एक कुनामा खाटमाथि कोही सुतिरहेको थियो । म छेउमा गएर उसको अनुहार नियाल्न लागें । चिनेको जस्तो लागेन । त्यही पनि अनायास मुखबाट ‘यो घर तपाईको हो ?’ भनेर प्रश्न गरें । उसले ठिट लाग्दो पारामा जवाफ दियो, ‘अहिले त म मात्र छु । यो घर मेरो पनि होइन । मेरो काकाको घर हो । काका–काकीको पहिला नै मृत्यु भइसकेको हो । काकाको छोरी जो टुहुरी सरह थिई उसैलाई सहारा दिएर म यही बसेको थिए । दुइ वर्ष जति भयो उ पनि मलाई एक्लै छाडेर मृत्युवरण गरी । अहिले म एक्लै यस झोपडीमा आफ्नो काल पर्खेर बसिरहेको छु । धेरै सुन्दर थिइ मेरो बहिनी । ३–४ वर्षअघि एक जना व्यापारीको छोरा आएको थियो । खै ! के जादु गरेर गयो, मैले धेरै सम्झाए त्यस्तो पागलपन नगर भनेर कति सम्झाए तर बहिनीले मेरो कुरा सुन्दै सुनेन् । अन्त्यमा उसैको वियोगमा संसार छाडेर गई । यति बोलेर खुइय्य गरेर लामो सास फेर्यो ।

मैले भित्ताहरुमा नजर दौडाएँ । बाँसको टाटीले बारेको बार । बाहिरबाट उज्यालोले प्रचुर मात्रामा चिहाइरहेको थियो । त्यही टाटीको एउटा कुनामा एउटा फोटो फ्रेममा झुण्डिएको अवस्थामा देखे । त्यो फोटो देख्दा मेरो मस्तिष्कमा एक प्रकारको भाव जाग्यो । त्यो फोटोमा भएको युवतीलाई म चिन्दछु जस्तो भान भयो । पक्कै मैले कतै देखेको हो जस्तो लागेर प्रश्न गरें, ‘अनि उ त्यो फोटो कसको हो ?’

उसले उत्तर दियो, ‘उनी नै त हो नि मेरी बहिनी ।’ अनि उ निरन्तर भट्याउन थाल्यो…, सम्झना नाम थियो । विचरी साह्रै सोझी थिइ । दैवले पनि त्यस्तै सोझी र राम्रीलाई मात्र लैजादो रहेछ । मेरो अवस्था यस्तो छ, म मृत्यु कुरेर बसिरहेको छु । कहिले काही म मृत्युको भिख पनि माग्छु तर म जस्तो को त्यहाँ आवश्यकता छैन जस्तो छ । त्यसैले म यो हालतमा असहाय भई बाँच्नु परेको छ । उसले यस्तै के–के भन्दै थियो । मलाई केही चक्कर लागे जस्तो भयो । म आफ्नो शीरमा हातले सुमसुम्याउँदै त्यो झोपडीबाट बाहिर निस्के ।

साथी त्यही थियो । उसले ‘सञ्चो भएन कि क्या हो ? घर जाँउ हिंड’ भनेर मलाई डोहोर्याउन थाल्यो । म पनि साथीले डोहोर्याएतर्फ सरासर हिंड्न थाले । हामी सरासर मोटरसाइकल भए ठाउँमा आयौं । मेरो शरीर हृदयबाट नै थर थर कामेझै भयो र मोटरसाइकल साथीलाई चलाउन दिएर म पछाडिको सिटमा चुपचाप बसेर घरतर्फ हुइकियौं । बाटो भरी मेरो मुखबाट केही शब्द पनि निस्किएन । त्यति लामो बाटो निशब्द छिचोलियो । मनमा अदृश्य कल्पनाहरु मडारिन थाल्यो । धमिला–धमिला केही दृश्यहरु मनसपटलमा तैरीन थाल्यो । त्यो अदृश्य कल्पनाहरुमा म थिएँ अनि त्यो फोटोमा देखिएकी केटी थिई । अन्तर्मनले त्यो के भइरहेको छ भनेर कल्पना नै गर्न सकेको थिएन । एक मनले यो सबै दृश्यहरुमा म पनि संलग्न छु भनेर भनी रहेको थियो भने अर्को मनले यो सबै कल्पना हो भनेर भनिरहेको थियो । मानौ मनमा अन्तरद्वन्द चलिरहेको थियो ।

मोटरसाइकल मेरो घरको आँगनमा पुगेर रोकियो । साथीलाई मोटरसाइकल पार्क गरेर राख्नु भन्दै म सरासर आफ्नो कोठातर्फ लागें । ओछ्यानमा ढल्केको केही क्षणमै निदाएँ । धेरै बेरसम्म निदाएछु । जब आँखा खुल्यो अँध्यारो छाउन लागेको रहेछ । गोधुली साँझले आफ्नो अंगालो फिजाइरहेको थियो । कोठामा अँध्यारो छाएको थियो । बत्ती बालेर उज्यालो बनाइयो । कोठा त उज्यालो भयो तर, मन मस्तिष्कमा अझै पनि धमिलो दृश्यहरु घुमिरहेको थियो । त्यो फोटोमा देखेको मुहार धुमिल प्रकारले मनमा र मस्तिष्कमा रुमल्लिरहेको थियो । टाउँको फेरी रन्किएर आयो । चक्कर आउला झै भयो । त्यतिकैमा अचानक ४ वर्ष पहिलाको एउटा घटना याद आयो । तब मात्र त्यो फोटोमा देखिएको तस्वीरको युवतीको मुहार रहस्य याद आयो ।

४ वर्ष पहिला म त्यही गाउँमा व्यापारीको घरमा पैसा उठाउन गएको थिएँ । जब म त्यो घरमा पुगे त्यहाँ कुनै पूजाको रमझम चल्दैरहेछ । मलाई सत्कार गरेर राखियो । पूजाको प्रसाद खाइयो अनि जब घर फिर्ने अनुमति मागे उनीहरुले आज जाग्राम बस्नुपर्छ, नाचगान गर्नुपर्छ, आज यतै बसौं भनेर आग्रह गरे । अल्लारे उमेर जाग्राम बस्ने र नाच्ने भन्ने सुनेर रोमाञ्चित मन लिएर म त्यही बस्ने भएँ । साँझ पर्यो, पिउने पिलाउने कार्य चल्यो । बैंशले मात्तिएको म र रक्सीले मताएपछिको म मा धेरै परिवर्तन आयो । नाच्न र गाउनमा धेरै समय खर्चिएँ । यो बीचमा एक जोडी आँखाले मलाई पछ्याई रहेको अनुभव गरे । झट्ट हेर्दा निकै राम्री थिई । मेरा हरेक क्रियाकलापमा नजर गाडेर नियाली रहेकी हुन्थ्यी । म पनि कर्के नजरले प्रतिउत्तर दिइरहेको थिएँ । मेरो नजरको हेराई बैंश र यौवन मिश्रित थियो । तर, उसको त्यो नजरको हेराई कुन दृष्टिकोणबाट प्रभावित थियो मलाई थाहा हुने कुरा आएन ।

म बैंश र रक्सीको मातमा धेरै बेरसम्म नाची रहेको थिएँ । यसरी नै सबै जना आ–आफ्नो सुरमा नाचिरहेका थिए । त्यस्तो मौकामा कसले कसको मतलब राख्ने र ? रात धेरै छिप्पीसकेको थियो । फाट्टफुट्ट मानिसहरु आफ्नो बासस्थानतर्फ फिर्न थालेका थिए । तर, म भने आफ्नै सुरमा लगातार नाची रहेको थिएँ । रात छिप्पीएर हो या मैले पिएको रक्सीको पावर घटेर हो शरीरमा चिसोको आभाष हुन थालेको थियो । मलाई नियाल्ने त्यो आँखा अहिले त देखिन छाडेको थियो ।

रात धेरै छिप्पीसकेपछि घरका मानिसहरु पनि आफ्नो गुँडमा पसे जस्तो लाग्यो । म पनि नाच्दा नाच्दै त्यहाँबाट एकातर्फ बाटो लागेछु । अँध्यारोमा लडखडाउँदै एकनास हिंडीरहे । अचानक एउटा सानो झुपडीमा मधुरो बत्ती बलिरहेको देखे । मेरा पाइला सरासर त्यतै डोहोरियो । ढोका अगाडि उभिएर ढोका ढकढक्याँए । निन्द्रा र मातले गर्दा आँखा दोब्रिन थालेको थियो । ढोका अगाडि लरबरीदै कति बेरसम्म उभिएँ त्यति याद रहेन । कति बेला कसले ढोका खोल्यो त्यो पनि थाहा भएन । अचानक आँखा खुल्दा चारैतर्फ उज्यालो देखे । बिहान भइसकेको रहेछ । म ओछ्यानमा रहेछु । चारैतर्फ नजर दौडाए । नौलो कोठा, ओछ्यान नौलो । आश्चर्य चकित हुँदै ओछ्यानबाट उठ्न खोजे । टाउँको बेस्कन दुखीरहेको थियो । त्यतिकैमा ढोकाबाट एक युवती मुस्कुराउँदै प्रवेश गरी । ‘उठ्नु भयो ?’ उसको प्रश्नमा म अवाक भएँ । उ त्यही राती देखेको र मलाई नाचेको पछ्याइरहने आँखावाली रहिछ । हातमा चियाको गिलास लिएर मलाई थमाई दिइ ।

‘तपाई राती यहाँ आइपुग्नु भएको रहेछ । यहाँ आइपुग्दा तपाईको होश नै थिएन । त्यसैले तपाईलाई यही सुताउन बाध्य भएँ । केही अफ्ठ्यारो त लागेको छैन नि ?’ उसको प्रश्न सुनेर चिया पिउँदै मैले मुन्टो हल्लाएर ‘छैन’ भनिदिएँ र चियाको अन्तिम सुर्कोसँगै म ओछ्यानबाट उठें । त्यतिकैमा ‘धन्यावाद’ भन्दै म आफ्नो बाटो लागे । टाउँको दुखेर गाह्रो भइरहेको थियो । सरासर ओरालो लागे र आफ्नो मोटरसाइकल चालु गरेर घरतर्फ लागे ।

अहिले ४ वर्षपछि त्यो घटना याद आयो । शायद उसको त्यो हालतको जिम्मेवार व्यक्ति म नै त हैन ? भन्ने एक प्रकारको अन्तर्मनमा प्रश्नहरु उब्जिरह्यो । आफूलाई अपराधबोध हुन थाल्यो । त्यो रात मैले केही भने जस्तो त लागेन । न मैले उसलाई प्रेमको प्रस्ताव राखेको थिएँ । वा कतै मैले बेहोशीमा कुनै दुव्र्यवहार पो गरे कि ? तर मलाई जहाँसम्म थाहा छ, त्यस्तो दुव्र्यवहार त पक्कै पनि गरेको थिइन ।

शायद उसको एकतर्फी प्रेम पो गरेकी थिई कि ! मानिसको व्यक्तिगत स्वाभाव हो । कसैले एकतर्फी प्रेम गर्न पाउँछन् । शायद त्यसैको परिणाम होला, उसले आफूले आफैलाई भित्रभित्रै जलाएर संसार त्याग्ने अठोट गरी । हुन सक्छ म कुनै दिन त्यो ठाउँमा फर्किएर पुग्न पो सक्थे कि । उनी मेरो प्रतिक्षामा त्यतिको वर्ष कुरी बसेकी थिई होली । जीवनको कुनै मोडमा भेट होला भन्ने अधुरो आशा लिएर बसेकी थिइ होली । तर त्यो अञ्जान र एकतर्फी प्रेमको परिणाम उसको जीवनमा शून्यता केवल शून्यता साथै मृत्युमात्र प्राप्त भएछ । अन्त्यमा मेरो अन्तर्मनले उसको लागि श्रद्धाञ्जली मात्र दिन सकें ।