मतदाता शिक्षामा ढिलाई किन ? « Yalambar Times
८ बैशाख २०८१, शनिबार

मतदाता शिक्षामा ढिलाई किन ?


यलम्वर टाइम्स
१९ बैशाख २०७९, सोमबार ०६:४६

मतदाताहरुले मतदान गर्ने समय अब १४ दिन मात्र बाँकी छ । तर मतदान कसरी गर्ने भन्ने विषयमा जनतालाई अझै मतदाता शिक्षा प्रदान गर्न सकिरहेका छैनन् । यो ढिलाईले कसलाई नाफा हुने हो र कसलाई घाटा हुने हो ? सुक्ष्म रुपमा दलहरुले बुझ्न जरुरी छ । विशेष गरी गठबन्धनबाट चुनाव लड्दै गरेका दलहरुले चासो दिनुपर्ने हो । त्यसो नहुँदा गठबन्धनभित्र मतदान गर्ने जनता अन्योलमा पर्ने हुन कि भन्ने आशांका पैदा भएको छ ।

विगतमा आ–आफ्नै मत सदुपयोग गरौंभन्दै दलहरु एक्लाएक्लै उभिएका थिए । त्यसबेला मतदाता शिक्षा प्रदान पनि गरिएको थियो । तर चुनाव आउँन अब १४ दिनमात्र बाँकी रहँदा पनि न त दलले घचघच्याउन सक्यो, न त निर्वाचन आयोगले तादरुक्ताका साथ अगाडि बढाउन सक्यो । यही ढंगबाट जाने हो भने धेरै मतदाताहरु अन्यौल हुने निश्चित छ ।

सरकारले स्वच्छ, मर्यादित, निष्पक्ष र धाँधलिरहित निर्वाचन गर्ने भन्ने नारा भए पनि अन्यौलतामा नेपाली जनतालाई उभ्याउनु उचित हुन सक्दैन । सरकारले गरेको नारा अनुसार जाने हो भने मतदाताहरु चनाखो भई कसलाई कसरी मत दिने भन्ने विषयमा स्पष्ट हुने थिए । त्यसो नहुनु दुःख लाग्दो विषय हो । दलले पनि मतदाता शिक्षाको विषयमा आवाज उठाउन आवश्यक ठानिन्छ । दुवैतर्फ आनकान गर्ने हो भने धेरै मत बदर हुने निश्चित छ । त्यसतर्फ सरकार र दलहरु सचेत हुन आवश्यक छ ।