भ्रष्टाचार गरेर खान महिलालाई सुहाउँदैनः गठबन्धनकी उम्मेद्वार कार्की « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

भ्रष्टाचार गरेर खान महिलालाई सुहाउँदैनः गठबन्धनकी उम्मेद्वार कार्की


यलम्वर टाइम्स
१९ बैशाख २०७९, सोमबार ११:५६

लक्ष्मीपुर । गठबन्धनबाट नगर प्रमुखको प्रत्यासी उम्मेद्वार रञ्जीता कार्कीले भ्रष्टाचारबाटै स्थानीय तह खोक्रो भएको हुँदा त्यसलाई सुधार्न आफू जनतामाझ आएको बताएकी छिन् ।

अर्जुनधारा वडा नं. ६ अन्तर्गत घरदैलो अभियानपछि आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार कार्कीले स्थानीय तह आफैमा सक्षम छ, अर्जुनधारा नगरभित्रका जनतालाई सहुलियतसहित सेवा प्रदान गर्न सक्ने क्षमता गठबन्धनमा छ, त्यसैले गठबन्धनलाई मत दिई परिवर्तनको बाटोमा जान नगरवासीमा आग्रह गरिन् ।

आफू एक्लो भएको हुँदा भ्रष्टाचार गर्नुपर्छ भन्ने लाग्दैन । भ्रष्टाचार गरेर खान महिलालाई सुहाउँदैन । त्यसैले नगरको समग्र विकासमा गठबन्धनको उम्मेद्वारहरुले जित्न आवश्यक रहेको बताइन् ।

चुनावी सभामा उपप्रमुखका प्रत्यासी उम्मेद्वार जीतेश योञ्जनले दलको एकछत्र राज हुँदा विकास हुन सकेन । अब सबै दल मिलेर आएका छौं । यसलाई यहाँहरुको माया रहनेछ ।

योञ्जनले अगाडि भने, ‘संघीय लोकतान्त्रिक मुलुकमा विकासले फड्को मार्न नसक्नुको पछाडी एउटै दल हाबी हुनु हो ।’

वडाध्यक्ष हरिश बास्तोलाले युवा शक्ति नेतृत्वमा आए परिवर्तन सम्भव हुने बताए । कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य सरु न्यौपाने, नेपाली कांग्रेसका नेता दिपक तामाङ, जनमुक्तिका नेता कृष्णकुमार थेवे, नेपाली कांग्रेस नगरका कार्यवाहक सभापति प्रशान्त भण्डारी, उपसभापति चतुर्भुज काफ्ले लगायतको नेताहरुको सहभागिता रहेको थियो ।

गठबन्धनले कप्तनबारी, महानन्द चोक, माता मन्दिर हुँदै लक्ष्मीपुरमा सभाको आयोजना गरेको थियो ।