प्रतिगमनकारीले गरेको हर्कत इन्द्रेणी गठबन्धनले तोड्ने छः महामन्त्री शर्मा « Yalambar Times
८ बैशाख २०८१, शनिबार

प्रतिगमनकारीले गरेको हर्कत इन्द्रेणी गठबन्धनले तोड्ने छः महामन्त्री शर्मा


यलम्वर टाइम्स
२७ बैशाख २०७९, मंगलवार १३:०३

अर्जुनधारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिगमनको विरुद्धमा गठबन्धन भएको बताउँदै आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई विजय गराउनुपर्ने बताएका छन् ।

मंगलबार शनिश्चरे बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले तालमेल र सहकार्यबाटै प्रतिगमनकारीको घमण्ड तोड्न सकिने हुँदा गठबन्धनका उम्मेद्वारलाई विजय गराउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका शर्माले गठबन्धन पार्टी एकीकरण नभइ तालमेल भएको बताउँदै तालमेलबाटै मुलुक शान्ति र समृद्धितर्फ लम्कने हुँदा सबैले मत जाहेर गर्न आग्रह गरे ।

‘यो गठबन्धन इन्द्रेणी हो, यसको सुन्दरता कसैले खोस्न सक्दैन’ उनले अगाडि भने ‘मिश्रित समाजसँगै त्यसको विकास भए समृद्ध मुलुक हुनेछ । आदिवासीको चिहानलाई तोडेर प्रतिगमनकारीले गरेको हर्कत यो इन्द्रेणी गठबन्धनले तोड्ने छ ।’

१८ वर्षमाथिका नयाँ मतदाताहरुलाई नेकपा एमाले र नेपाली कांग्रेसको घोषणापत्र अध्ययन गरेरमात्र मत जाहेर गर्न अनुरोध गरे ।

‘चुनाव आउन ३ दिन बाँकी छ, दुइ दिन लागएर नेकपा एमालेको घोषणा पत्र र नेपाली कांग्रेसको घोषणापत्र अध्ययन गर्नुहोस् । अनि मात्र मत दिनुहोस् ।’ महामन्त्री शर्माले अगाडि भने, ‘घोषणापत्र अध्ययन गर्न अल्छी लागे कभर भए पनि हेर्नुहोस्, र मत जाहेर गर्नुहोस् ।’

उनले विकासको पहिलो स्रोत भनेकै मानिस भएको हुँदा आफ्नो पार्टीले नागरिकलाई केन्द्रमा राखेर विकासका कामहरु घोषणापत्र निर्माण गरिएको बताए ।

गठबन्धनका संयोजक दिपक तामाङको सभापतित्वमा र नगर सभापति हेमराज खरेलको स्वागत रहेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरीता प्रसाई, नेकपा माओवादीका रञ्जीत तामाङले गठबन्धनका उम्मेद्वारलाई मतदान गर्नुपर्ने आधारहरु प्रस्ट्याए ।

सभामा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जवेगुले प्रतिगमनकारी ओली सरकारबाट समग्र जातिको विकास गर्न नसक्ने भएको बताउँदै नेकपा एमालेमा जनताको मुक्ति मिल्ने कुनै आधार नभएको बताए ।

नेकपा एसका भास्कर काफ्ले, प्रेमसागर सापकोटा लगायतले गठबन्धनलाई बलियो बनाउँदै विजय हासिल गराउनुपर्ने बताए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाको नगर प्रमुखका प्रत्यासी रञ्जीता कार्की र उपप्रमुखका उम्मेद्वार जीतेश योञ्जन लगायतले आफ्ना धारणा राख्दै मत मागेका थिए ।

नेपाली कांग्रेस अर्जुनधाराका इन्दीवर खड्काले सञ्चालन गरेको कार्यक्रममा गठबन्धनका नेता कार्यकर्ताहरुको बृहत सहभागिता रहेको थियो ।

यसरी नै सोमबार अर्जुनधारा १ मा आयोजित गठबन्धनको सभामा अर्जुनधारा १ तीन तहबाट पीडित भएको बताएका छन् ।

सोमबार सिस्नेमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले खोला कटान, हात्ती आक्रमण र व्यवस्थित सिचाईंको अभाव भएको बताए ।

पटक–पटक कम्युनिष्ट सरकार हुँदा पनि ती तीन कुरा पूरा हुन नसक्दा गठबन्धनका उम्मेद्वार पूरा गर्न आएको अवगत गराए ।