शनिश्चरे बजारलाई सुन्दरता, व्यापारीलाई सहुलियतः गोम्देन « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

शनिश्चरे बजारलाई सुन्दरता, व्यापारीलाई सहुलियतः गोम्देन


यलम्वर टाइम्स
२७ बैशाख २०७९, मंगलवार १३:२६

शनिश्चरे । अर्जुनधारा नगरपालिकाका लागि नेकपा एमालेबाट प्रमुख पदका प्रत्यासी बलदेवसिंह गोम्देनले सय वर्ष पुरानो ऐतिहासिक शनिश्चरे बजारको सौन्दर्यकरण गर्ने बताएका छन् ।

अर्जुनधारा–८ शनिश्चरे बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गोम्देनले निर्वाचनपछि बजारको सौन्दर्यकरण पहिलो प्राथमिकतामा रहेको बताए ।

उनले बजारको सौन्दर्यकरण गर्न सके अर्जुनधारा नगरकै मुहार बल्ने बताए ।

आफ्ना प्रतिवद्धता जाहेर गर्ने क्रममा झापाकै पुरानो बजार शनिश्चरेको गरिमालाई यथावत राख्दै सौन्दर्यकरण गर्ने काम आफ्नो टिमको प्राथमिकतामा रहने बताए ।

बजारको सौन्दर्यकरण हुँदै जाँदा अन्य ठाउँबाट हेर्न आउन सक्ने बनाउने बताउँदै व्यापारीका लागि सहुलियत भाडाको व्यवस्था गर्ने पनि बताए ।

प्रविधिमैत्री नगरको अवधारणा अघि सारेका गोम्देनले युवाले चाहेजस्तो शैक्षिक पाठ्यक्रम, स्वास्थ्य, खेलकुदको विकासमा फड्को र रोजगारमुखी नगरको योजना एमालेको जितबाट मात्र सम्भव हुने दाबी गरे ।

यसैबीच, एमालेका प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य देवराज घिमिरेले एमालेका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने कुरामा ढुक्क हुन आग्रह गरे ।

जनताले प्रत्यक्ष रुपमा मतदान गरेर स्थानीय प्रतिनिधि चुन्ने सुवर्ण अवसर पाँच वर्षमा मात्रै प्राप्त हुने भएकाले योग्य र इमान्दार उम्मेदवारहरुलाई मतदान गर्न आग्रह पनि गरे ।

उनले अर्जुनधारा नगरपालिकामा एमालेका तर्फबाट विकासप्रेमी, जनप्रिय, योग्य र इमान्दार उम्मेदवारहरु चुनावी मैदानमा होमिएको भन्दै प्रशंसा पनि गरे ।

कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज अग्नि खरेल, उपप्रमुख पदकी प्रत्यासी खड्गमाया पराजुली, ८ नम्बर वडाका अध्यक्षका प्रत्यासी कुमार उप्रेती लगायतले आफ्ना प्रतिवद्धता राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले प्रमुख पदका उम्मेदवार गोम्देन, उपप्रमुख पदकी उम्मेदवार पराजुली लगायत ११ वटै वडाका अध्यक्ष र सदस्यहरु गरि ५७ जना उम्मेदवारहरुलाई मतदान गरि विजयी गराउन आग्रह गरेका थिए ।

कलाकार तक्मे बूढा र यम बरालले गरे गोम्देनको प्रशंसा

नेकपा एमालेका उम्मेद्वार जिताउन लागिपरेका विल्सनविक्रम राई (तक्मे बूढा)को सिंगो टिमसहित आज गायक यम बराल पनि उपस्थित थिए ।

तक्मे बूढाले सभामा उपस्थितलाई हँसाउँदै एमाले उम्मेद्वारको पक्षमा भोट मागे भने नायिका रजनी गुरुङसँग नृत्य पनि प्रस्तुत गरे ।

यस्तै, पुराना गायक यम बरालले पनि उम्मेद्वारको पक्षमा भोट माग्दै आफ्नो केही चर्चित गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

तीनै कलाकारहरुले गोम्देनको प्रशंसा गर्दै योग्य उम्मेद्वार भएको हुँदा विजय गराएर सुन्दर नगर निर्माणमा अगाडि बढ्न आग्रह गरे ।