चुनावमा प्रतिस्पर्धा भए पनि विकासमा एकः नवनिर्वाचित गोम्देन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

चुनावमा प्रतिस्पर्धा भए पनि विकासमा एकः नवनिर्वाचित गोम्देन


यलम्वर टाइम्स
८ जेष्ठ २०७९, आईतवार १२:३३

अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराबाट निर्वाचित बलदेव गोम्देनले चुनावमा प्रतिस्पर्धा भए पनि विकासमा एक भएर जाने प्रतिक्रिया दिएका छन् ।

निर्वाचित भएपछि आईतबार उनी लगायत निर्वाचित वडाध्यक्ष, वडा सदस्यहरुले अर्जुनधारा क्षेत्र बिजयको सन्देश दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले हिजो हामीहरु दलका भए पनि अब जनताको भएको बताए । नगरको उन्नति र विकासमा आफूहरुको ध्यान पुग्ने बताए । प्रमुख गोम्देनसँगै उपप्रमुख खड्गमाया पराजुली पनि सहभागि थिए ।

बिहान १० बजे पार्टी नगर कार्यालयबाट विजय जुलुस निकाल्ने भनिए पनि साढे ११ बाटमात्र सुरु गरिएको थियो ।

शनिश्चरे बजारमा आएपुगेको र्यालीमा एमाले नेता अग्नि खरेलले सम्बोधन गर्दै अर्जुनधारामा एमाले बहुमत पुगेको हुँदा नगरले निकालेको घोषणापत्र अनुसार विकासको काम गर्ने बताए ।

हिजो एमालेले नीति बनायो, त्यसै अनुसार बलदेव गोम्देन निर्वाचित भएका छन् । अब नगरको जिम्मा बलदेवलाई गएको छ, भन्दै प्रतिपक्ष गठबन्धनका विजयी उम्मेद्वारहरुलाई विकासको काममा एक भएर जानुपर्ने अनुरोध गरे ।

नेता खरेलले गठबन्धनका विजयी उम्मेद्वारहरुलाई शुभकामना दिँदै जनताको काम गर्न दुवै टिमलाई सुझाव पनि दिए ।

१२ बजेबाट विजय र्याली अगाडि बढेको थियो भने सिस्नेमा १ बजे, वडा नं. २ र ३ खुदुनाबारी चोक र जुकेखाडी सामुदायिक वन साढे ३ बजे, रमाइलो बस्ती मिलडाँडा हुँदै शनिश्चरे बजार पुगेका थिए ।
र्यालीमा निर्वाचित उम्मेद्वारहरुलाई ठाउँ–ठाउँमा अविर जात्रा र फुलमाला प्रदान गरेका थिए ।

विजयी र्यालीमा माननीय प्रेमबहादुर गिरी, प्रदेश सांसद बृख प्रधान, निवर्तमान उपप्रमुख कमला आचार्य, शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी, नगरका पदाधिकारी, पूर्व अध्यक्षहरु लगायत कार्यकर्ताहरुको बृहत उपस्थिति रहेको थियो ।

र्यालीमा निवर्तमान नगर प्रमुख हरिकुमार राना भने अस्वस्थ्य भई स्वास्थ्य लाभ लिइरहेको हुँदा र्यालीमा सहभागि हुन सकेनन् ।

वडा नं. ७ का अध्यक्ष गोविन्द खतिवडाको टीम, वडा नं. ११ का खगेन्द्र इङ्नामको टिम, वडा नं. १० भुपेन्द्र न्यौपानेको टिम, वडा नं. ८ कुमार उप्रेतीको टिम लगायत अन्य वडाका नगर सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

प्रमुख पदमा निर्वाचित गोम्देनले ५ हजार ४२६ मतको अन्तरले पछि पार्दै रञ्जीता कार्कीलाई पराजित गरेका थिए ।

गोम्देनले १९ हजार १६९ मत ल्याएका थिए भने कार्कीले १३ हजार ७४३ मत पाएकी थिइन् ।

त्यस्तै उपप्रमुख खड्गमाया पराजुलीले १७ हजार ६३७ मत पाउँदा गठबन्धनका जीतेश योञ्जनले ९ हजार ७१ मत ल्याएका थिए ।