प्रमाणपत्र ग्रहणपछि निर्वाचित जनप्रतिनिधिहरु शहीद सहादत स्थल सुखानीमा पुगे « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

प्रमाणपत्र ग्रहणपछि निर्वाचित जनप्रतिनिधिहरु शहीद सहादत स्थल सुखानीमा पुगे


यलम्वर टाइम्स
१० जेष्ठ २०७९, मंगलवार १२:०८

खुदुनाबारी । नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरुले निर्वाचित प्रमाणपत्र ग्रहणपछि शहीद सहादत स्थल सुखानीमा पुगी शहीदप्रति नमन गरेका छन् ।

अर्जुनधाराका निर्वाचित नगर प्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रदेश सांसद बृख प्रधान, निवर्तमान नगर प्रमुख हरिकुमार राना लगायत सपथ पश्चात सहादत स्थल पुगेका थिए ।

सहादत स्थल पुगेपछि शहीदहरुप्रति माल्यार्पण गर्दै जनताले चाहेको परिवर्तन र खोजेको विकासमा नेकपा एमाले अर्जुनधारा त्यागी भएर लाग्ने प्रण गरेका थिए ।

सोही स्थानमा प्रदेश सांसद प्रधान र निर्वतमान प्रमुख रानाले कठोर संघर्षका बाबजुद जनताले नेकपा एमालेलाई नगरमा बहुमत दिएको त्यसलाई सम्मान गर्दै अगाडि बढ्न शुभकामना दिएका थिए ।

सहादत स्थलमा नगर सचिव लभकुश गौतम, वडा नं. १० निर्वाचित वडाध्यक्ष भुपेन्द्र न्यौपाने, वडा नं. ११ का खगेन्द्र इङ्नाम र अन्य वडाका सदस्यहरुको सहभागिता रहेको थियो ।

सहादत स्थलमा अर्जुनधाराका मात्र निर्वाचित एमाले प्रतिनिधिहरु उपस्थित भएका थिए । अन्य पालिकाबाट निर्वाचित एमालेका जनप्रतिनिधि भने यो समाचार तयार पारिञ्जेलसम्म शहीद सहादत स्थल आएको पाइएन ।

यसअघि प्रमाणपत्र वितरण कार्यक्रममा नगर प्रमुख बलदेव गोम्देनले ५ वर्षभित्रमा एक हजार घर निर्माण गरि आवास विहीनहरुलाई व्यवस्थापन गरिने र पूर्ण अपाङ्गता भएकालाई निःशुल्क स्वास्थ्य बीमा गरिने बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गीताकुमारी राईले पक्ष विपक्ष नभनी आफ्नो नगरलाई समृद्ध नगर र सुखी नगर निर्माणमा एकजुट भएर अगाडि बढ्न शुभकामना दिएका थिए ।

कार्यक्रममा माननीय प्रेमबहादुर गिरी लगायत नेताहरुको सहभागिता रहेको थियो ।