गठबन्धनका ठूला दलबाट जनमुक्तिलाई धोका « Yalambar Times
३० चैत्र २०८०, शुक्रबार

गठबन्धनका ठूला दलबाट जनमुक्तिलाई धोका


यलम्वर टाइम्स
१० जेष्ठ २०७९, मंगलवार १२:३७

 

अर्जुनधारा । स्थानीय निर्वाचनका लागि अर्जुनधारामा भएको गठबन्धनबाट राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वारलाई धोका हुन पुगेको बताइएको छ ।

पार्टी नगर कार्यालय शनिश्चरेमा भएको समिक्षा बैठकमा गठबन्धनभित्रैका मतदाताहरुले घरलाई छाडि हलो, सूर्य चिन्हमा मत लगाएको हुँदा गठबन्धनबाट धोका हुन पुगेको छलफलमा व्यक्त गरिएको थियो ।

जनमुक्तिले गठबन्धनलाई कति पनि धोका नदिएको बताउँदै जहाँ–जहाँ वडाध्यक्ष जीतेका छन्, त्यस स्थानमा पार्टीका सदस्यहरुलाई मतदाता शिक्षा समेत प्रदान गरिएको थियो ।

तर, गठबन्धनभित्रका मतदाताहरुले घर चिन्हमा मत जाहेर नगरेको हुँदा धोका हुन पुगेको छलफलमा उठेको थियो ।

गठबन्धनभित्र निर्वाचन परिचालन भए पनि सम्बन्धित वडा वा टोलमा मतदाता शिक्षा दिन नसकेको, निर्वाचन परिचालन समितिभित्रका अगुवाले समेत मत जाहेर गर्ने तरिका नदिएको हुँदा वडा सदस्यका उम्मेद्वारहरुले पराजय भोग्नु परेको समेत चर्चा चलेको थियो ।

मौन अवधिमा रुख बाहेक अन्य चिन्हमा मत हाल्ने विषयमा गठबन्धनका अगुवाहरु मौन भएका कारण पनि पराजय भोग्नु परेको बताइएको छ ।

छलफलमा महिला नेतृ मीना पन्धाक, प्रदेश सचिव कृष्णकुमार थेवे, इन्चार्ज दिलीप राई, जिल्ला सचिव पदम सुब्बा, जिल्ला सहसचिव भुपाल राना, सल्लाहकार क्या. शिवकुमार राई, उम्मेद्वार तेजबहादुर योङहाङ, ख्याम मोरहाङ, टेकमाया गुरुङ, खड्ग चेम्जोङ, निर्मला येक्तेन, भरत थापा, तिलसिंह माङ्मु लगायतको सहभागिता रहेको थियो ।

भेलाले निर्वाचनमा सहभागि उम्मेद्वारहरुलाई सम्मान गर्नका साथै आगामी दिनका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलाइएको थियो ।