दलको ईशाराबाट नभई जनभावना अनुसार काम गर « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

दलको ईशाराबाट नभई जनभावना अनुसार काम गर


यलम्वर टाइम्स
१७ जेष्ठ २०७९, मंगलवार ०८:००

०७९ को स्थानीय तहको निर्वाचनले एउटा सन्देश दिएको छ, अब दलबाट निर्देशित नभई जनताको इच्छा आकंक्षाप्रति ध्यान दिन जरुरी देखिन्छ । स्थानीय तहमा देखिएका स्वतन्त्र उम्मेद्वारको विजयको संकेत पनि त्यही हुन जान्छ । नेपालमा प्रतिनिधित्व भएका मध्ये २५ प्रतिशत स्वतन्त्र उम्मेद्वारको हैसियतले अब पनि त्यही सन्देश दिएको हो कि ? हाम्रा दलबाट विजय प्राप्त भएका प्रतिनिधि हुन्, दलले भनेको मान्नुपर्छ भन्ने मनसाय त्याग्नुपर्ने बालेन साह र हर्क साम्पाङ लगायतको जीतले पनि त्यही परिभाषित गरेको छ । दलबाट सरकार चल्नुपर्छ भन्दा बहुमत भएका तत्कालिन नेकपा विभाजनको भुमरीमा फस्यो । अन्तत्वोगत्वा पार्टी तीन टुक्रामा विभाजन भयो । दलबाटै स्थानीय तह सञ्चालन हुनुपर्छ भन्दा एमालेका विजयी पालिका प्रमुखहरु असफल भए । कतिपय ठाउँमा स्थानीय तह विफल बनाउन पार्टी नै सक्रिय भयो । यी सबै दलबाट निर्देशित भएकै कारण देखा परेको घटनाहरु हो ।

लोकतन्त्रमा दलबाट निर्वाचित हुनु र छानिनु राजनीतिक संस्कारभित्रको सुन्दर पक्ष पक्कै हो । तर, विजय भइसकेपछि पनि दलबाटै स्थानीय तह सञ्चालन हुनुपर्छ भन्ने मान्यता जो कोहीले राख्छ भने त्यो सोचाई विफल अवश्य हुन जान्छ । जनताको इच्छा आकंक्षा एकातिर दलको निर्देशन अर्कोतिर भयो भने त्यसले विकासको कुरा छाडौं विनासको बाटोतर्फ ढकेलिदा आलोचना हुन बाहेक अर्को विकल्प देखिदैन । अर्जुनधाराको सपथ ग्रहण कार्यक्रममा उपस्थित अतिथिहरुले दलबाट जो सुकै निर्वाचित भए पनि जनताको कामका विषयमा पक्ष विपक्ष हेरिनु नहुने सुझाव दिए । कार्यक्रममा पटक–पटक स्थानीय तह सञ्चालन गर्दै आएका केशवकुमार बुढाथोकी, हरिकुमार राना, प्रेमबहादुर गिरी आदिले अब जनताको प्रतिनिधि भएर काम गर्नुपर्ने सुझाव दिए । पुल, पुलेसो, बाटो, बजार हिजोदेखि बन्दै आएको हो । त्यसमा ध्यान दिनुभन्दा पनि जनताले के चाहेका छन् ? जनताको जीवनस्तर कसरी माथि उठ्न सक्छ ? अग्र्यानिक तत्वको उत्पादन र बजारीकरण कसरी गर्न सकिन्छ ? भन्ने कुरामा नगरले ध्यान पुर्याउन सकेन भने त्यसको विकल्प दलले हैन जनताले दिने छन् । सुझाव प्रदान गर्ने सवालमा प्रदेश सांसद बृख प्रधानले जनताको भावना जित्न आउने प्रतिनिधिहरुले काम गर्नुपर्ने । काम गर्दा दललाई नहेरी जनताको प्रतिनिधि हुँ भन्ने सोचले काम गर्नुपर्ने अर्ती दिए ।

त्यसैले म फलानो दलको प्रतिनिधि हुँ, त्यसका लागि जस्तो सुकै त्याग गर्नुपर्छ भन्ने मान्यता बोकेर जो कोही हिंड्छ भने राजनीतिक रुपमा अगाडि बढ्ने सपना दिवा सपनामात्र हुनेछ । सपथ ग्रहण कार्यक्रममा दलका अगुवाहरुले विकासका हरेक कार्यक्रममा कमिशन, भ्रष्टाचार, नातावाद जस्ता कार्य सुन्नु र देख्नु नपरोस् भन्दै नवनिर्वाचित प्रतिनिधिहरुलाई जनताको इच्छा र समाजले चाहेको सुशासनको प्रत्याभूति गर्न सकुन् भन्ने शुभकामना दिएका थिए । त्यसैले दलगत स्वार्थलाई त्यागि जनताको भावना अनुसार काममा नवजनप्रतिनिधिहरुको ध्यान पुग्नेछ । नगरको पहिलो मिडिया हाउस यलम्वर टाइम्स उहाँहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्दछ ।