मन्त्री राई भोली शनिबार झापाको सीतापुरीमा आउने « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

मन्त्री राई भोली शनिबार झापाको सीतापुरीमा आउने


यलम्वर टाइम्स
२० जेष्ठ २०७९, शुक्रबार १३:१२

दमक । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राई जेष्ठ २१ गते शनिबार झापा आउने भएका छन् ।

किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको आयोजनामा हुने साकेला सिलि समापन कार्यक्रमलाई सम्बोधन गर्नका लागि मन्त्री राई झापा आउने भएका हुन् ।

कमल गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा रहेको सितापुरी साकेला चौक उत्तर जिल्ला साकेला थानमा हुने कार्यक्रमको तयारी भइरहेको साकेला समापान समारोह व्यवस्थापन समितिका संयोजक जंगबहादुर राईले बताए ।

साकेला उभौलीको अवसरमा पारेर झापा जिल्ला भरी विभिन्न साकेला थान माङहिमहरुमा साकेला सिलि मनाउँदै जिल्ला साकेला थानमा समापन गर्दै आएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण गत २ वर्ष साकेला उभौली साकेला थानमा सामान्य पुजा गरेर मात्र मनाइएको किरात राई यायोक्खा केन्द्रीय सदस्य सुशिल राईले बताए ।

तर यस वर्ष भने हर्षउल्लासका साथ भव्यसभ्य रुपमा सम्पन्न गर्न तयारी भइरहेको राईले बताए ।

साकेला सिली समापन कार्यक्रममा झापाका गाउँ समिति, नगर समिति, वडा समिति तथा साकेला सिली समूहहरुको उपस्थिति रहने छ ।

यसका साथै छिमेकी जिल्ला इलाम, मोरङ र भारतको बागडोग्राबाट समेत साकेला टोलीको सहभागिता रहने किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए ।