गठबन्धनलाई अझ मजबुद बनाउन आवश्यकः सभापति थापा « Yalambar Times
१२ चैत्र २०८०, सोमबार

गठबन्धनलाई अझ मजबुद बनाउन आवश्यकः सभापति थापा


यलम्वर टाइम्स
२३ जेष्ठ २०७९, सोमबार ०९:०६

अर्जुनधारा । नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्धव थापाले गठबन्धनलाई अझ मजबुद बनाएर लैजानुपर्ने बताएका छन् ।

गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेस नगर कार्यालयमा फुलमाला र खदा पहिर्याउँदै नगरमा यो पटक ७ जना वडाध्यक्ष निर्वाचित गराउन गठबन्धनको अहम् भूमिका भएको हुँदा उहाँलाईलाई सम्मान गर्दै जनताको काममा अहोरात्र खट्न सुझाव दिए ।

गठबन्धनपछि कांग्रेसको बहुमत आएको देखेर कम्युनिष्ट एकताको संकेत देखा पर्दैछ, त्यस्तो नहुन गठबन्धनबाट विजयी जनप्रतिनिधिहरुको ठूलो हात हुने बताए ।

‘जहाँ–जहाँ हाम्रा प्रतिनिधिहरु उपविजेता भएका छन्, त्यहाँ नेतृत्वको कमजोरी देखापर्यो । त्यसलाई स्वीकार्नु पर्छ । त्यस्तो हुन नदिन नेतृत्वले मिलाउन जरुरी छ । हामी त्यसतर्फ केन्द्रीत हुनेछौं’, उनले भने ।

प्रमुख अतिथि समेत रहेका थापाले उपविजेता बनेका उम्मेद्वारलाई दुःख नमान्न आग्रह गर्दै आउने दिनमा त्यस ठाउँमा विजय गराउने जिम्मा मेरो र टिमको हुनेछ ।

कार्यक्रममा जिल्ला सचिव कृष्ण हुमागाईंले केही ठाउँमा गठबन्धनमा धमिलो आए पनि परिणाम सन्तोषजनक नै आएको बताए ।

उनले मानाको चामल दियोमा नअटे जस्तै गठबन्धनभित्र आफ्नै मान्छेले भोट नदिएको तथ्य भएका कारण गठबन्धनका केही साथीहरु उपविजेता हुन पुगेको बताए ।

अर्जुनधारा गठबन्धन समितिका संयोजक दिपक तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश १ का सदस्य राजकुमार बराईली, महिला नगर समितिका सभापति गंगादेवी कटुवाल, जिल्ला सदस्य सरस्वती सिटौला गोले लगायतले विजयी वडाध्यक्षहरुलाई जनताको मन जितेर नगरपालिकामा कांग्रेसका प्रमुख, उपप्रमुख ल्याउन सक्ने वातावरण सिर्जना गर्न आग्रह गरे ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष उपेन्द्र बस्नेत, वडा नं. २ का वडाध्यक्ष नगेन्द्र श्रेष्ठ, ३ का सीताराम भट्टराई, ४ का अम्बर कटुवाल, ५ का गीताराज खड्का, ६ का हरिशचन्द्र बास्तोला र ९ का भिष्म मिश्रले जनताको इच्छा र भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगर सभापति हेमराज खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव इन्दिवर खड्काले गरेका थिए ।