चुरे संरक्षणमा आदिवासी जनजातिको चासो « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

चुरे संरक्षणमा आदिवासी जनजातिको चासो


यलम्वर टाइम्स
१ असार २०७९, बुधबार १२:२८

सुरुङ्गा । चुरे संरक्षण गर्न सके त्यसको आसपासमा रहेका बासिन्दाहरुको उचित संरक्षण हुने सुरुङ्गामा आयोजित क्षमता अभिवृद्धि कार्यक्रममा बताइएको छ ।

बुधबार चुरे उत्थानशील आयोजना (बीआरसीआरएन) क्षेत्रका आदिवासी जनजाति संघसंस्थाहरुका लागि सचेतना विकास तथा क्षमता अभिवृद्धि तालिममा चुरेको उचित संरक्षणमा जोड दिनुपर्ने बताइएको छ ।

चुरे क्षेत्रमा अत्याधिक आदिवासी जनजाति बासोबास भएको तथ्याङ्क नेपाल सरकारले मात्र नभई विश्वले समेत निश्चय गरेको हुँदा त्यस क्षेत्रको संरक्षणमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण हुनुपर्ने जनाइएको छ ।

तालिममा धनबहादुर गुरुङ्गले जलवायुको परिवर्तनसँगै चुरेले गरेको विनासका विषयमा जानकारी गराएका थिए ।

प्रशिक्षक गुरुङ्गले अगाडि भने, ‘विश्वमा ८ हजार वर्षअघि पृथ्वीको आधा भाग बन जंगलले घेरिएको थियो । विस्तारै कृषि भूमिको विकास हुँदै जाँदा वन नासिएको तथ्य छ ।’

वन नासिनु, कार्वन उत्पादनमा ह्रास आउनु त्यसले विस्तारै मानव जीवनमा प्रतिकुल असर पर्ने भएको हुँदा वनको संरक्षणमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिए ।

उनले जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघको खाका र यसका न्यूनिकरणका विषयमा समेत जानकारी दिए ।

कार्यक्रममा अर्का सहजकर्ता रेश्मा माझीले दुरा जातिद्वारा संरक्षित ८ हजार १५ हेक्टरको वन संरक्षणको विषय जानकारी गराउँदै अन्य सामुदायिक वनले गरेको संरक्षण र दुरा जातिले गरेको संरक्षणमा फरक आएको वृत्त चित्रसहित जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा आदिवासी जनजाति उपस्थिति संघसंस्थाको उन्नतिका विषयमा पनि जानकारी गराएका थिए ।

आदिवासी जनजाति महासंघका झापा अध्यक्ष भरत श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष पारसमणि राई, प्रेम घिसिङ, फोनिजका दिपीन राई, उपाध्यक्ष पाण्डवलाल चौधरी, सुष्मा कुमाल, सनम राजवंशी लगायतले जलवायुका विषयमा विभिन्न प्रतिक्रियाहरु दिएका थिए ।

चरणवद्ध भएको छलफलमा बिरेन मेचे, ओमप्रकाश खापुङ, लीला मगर, अञ्जना मेचे, गंगा शेर्मा, डिल्लीराम श्रेष्ठ, मेघराज थामी लगायतले चुरे संरक्षणमा उठेका सवालमा आफ्ना राय राखेका थिए ।