भालुभुत्ते मपाइँमाथि नजर डुलाउँदा

[लक्ष्मीप्रसाद सुब्बा]

भाषा, धर्म, साहित्य, संस्कृति जोगाउन लेखक, कवि, साहित्यकारहरु सधै तत्पर रहेर उक्त विषयमा लेखेर राख्छन् । जो पछि गएर त्यही लेखौट इतिहास वा शास्त्र बन्दछ । प्रसिद्ध व्यँग्य नारायण पाँडेले गाउँले ठेट नेपाली भाषा घराँ, बनाँ, म’काँ जस्ता शब्दहरु आफ्नो कृति भालुभुत्ते मपाईंमा दर्शाउनु भ’को छ । हिजोआजका पढेका भनेकाले ठेट गाउँले नेपाली शब्दलाई अनपढ भाषा भन्छन् तर अनपढ भाषा र ठेट नेपाली गाउँले भाषामा भिन्नता हुन्छ । माथि उल्लेख भएका शब्दहरु ठेट नेपाली गाउँले भाषा हुन भने सरखार, एसरी, चाइने जो केरे, कार्रेकर्ता जस्ता शब्दहरु अनपढ नेपाली गाउँले भाषा हुन् ।

हाम्रो देश नेपाल भनेर मरि मेटिने लेखक, साहित्यकार सरकारमा पुगेका नेता, कार्यकर्ताहरुको चर्तिकला देखेर वाक्क, दिक्क भएर लेख्छन्, बोल्छन् तर नेताहरुको प्रायः सुन्ने क्षमता हुँदैन । उनीहरुको कुरो सर्वोपरी हुनैपर्छ । जनताका आवाज सुन्दा नेताहरुलाई सिरी चढ्छ । देशमा गाँस, बास र कपासको अभावमा छटपटिएका गरिबको आवाज सुन्ने उनीहरुलाई फुर्सत छैन । आफ्नै मपाइँवाला नेताहरुप्रति तिखो व्याँग्य प्रहार गर्ने लेखक नकुल काजी आफ्नो उपनाम व्यँग्य नारायण पाँडे राखेर आफ्नो कृति भालुभुत्ते मपाइँ हाँस्यव्याँग्य उपन्यास वहाँकै चेलो दिपेन्द्रकुमार राई ‘दिपीन’ ले मेरो हाताँ थमाउँदै भन्नुभो, ‘यो कृतिको समीक्षा लेख्नु ।’ हुन त म पनि नकुल काजी ज्यूको तादिको चेलो नै हो तर, भेटाघाटा पात्लिएको छ ।

भालुभुत्ते कृतिको राजवंशी पवनको चित्रकला व्याँग्य चित्र एकछिन् घोरिएर हेरें, अनि पुस्तकमा आँखा गाडेर सररर हेरें । भन्थे, फलानोले मलाई पाँडे गाली दियो । जसलाई हाम्रो नेपालमा पाँडे भन्छन्, तिनैलाई काँशी, हरिद्वारका तीर्थस्थलमा पण्डा भन्छन् । सेतो कुर्ता, सेतो धोती र ललाटमा पहेंलो चन्दन लिपेका, काँधमा बाहुन गम्छा राखेका पण्डाहरु ‘क्या तर्पण करना हैं’, ‘कितनेका करोगे ? ५०० का, १००० का या उससे अधिकका ?’ भन्दै हामी जस्ता सोझा सीधाको पछि पर्छन् । तिनै पण्डाहरुले आफूलाई पाण्डे पनि भनाउँछन् । वास्तवमा पण्डा, पाण्डे, पाँडे एकै त हुन् । पाँडेहरुमा नेपालका बीरहरुको सूचिमा कालु पाँडेको नाम हामी भुल्न सक्दैनौं । पाँडेहरु ‘अँ’ भन्दा अलङ्कार र ‘क’ भन्दा मात्रा बुझ्ने हुन्छन् र नै गाउँ, ठाउँका अगुवा भनिएका नेताहरुले चिप्ला चाप्ला कुरा गरेर मपाइँ दर्शाउँदै सोझा सीधा जनतालाई हली, गोठाला तुल्याएर तिनैका पिठ्यूँउ चढेर माथि पुगेपछि राजकोष रित्याउने नेताहरुले नेपाल देशलाई शोषण गरेर खोक्रो पार्न लागेको देखेर व्याँग्य नारायण पाँडेले व्याँग्यात्मक उपन्यासमा आफ्नो मनका पीडा पोख्नु भएको छ ।

व्यँग्य नारायण (नकुल काजी) ज्यू ले त भारतको दार्जिलिङमा राजा महाराजाहरुले पढ्ने स्कुल सेन्ट्रोबटमा अंग्रेजी भाषामा पढ्नु भएथ्यो । नेपाल आएर कुन स्कुलमा गाउँले छत्तीसे भाषा पढ्नु भएछ ? अनि उस्तै–उस्तै भाषामा उपन्यास लेख्नु भएछ ? भालुभुत्ते मपाइँ सररर हेर्दै जाँदा कतै हाँस उठ्छ, कतै शब्दको अर्थ पर्गेल्नु पर्ने, कतै बुझ्दा सरल, नबुझ्दा गहिरो, कता–कता के भनिएको हो भनेर घोत्लिनु पर्ने शब्दहरु– ‘मेरो जत्ति कुरो बुद्ने खुबिलिटी त अम्रिकानका राष्ट्रपति डोल्यान टम्पमा होस् न इण्डियान डिल्लीका पाइमिस्टर नर्यान्र मोधीमा होस् । म त तेस्तो व्यात्तिचो भको पर्सोनालिटिक कम्रेट पो त’ (पृष्ठ ४८), ‘हुन ता हामेरु बौमततिरका कञ्चन नेपाली टुपाबड कमश एता फेदतिरसम्म धनी हुँदै–हुँदै सम्विर्द हुँदैछस्, देश गरीप भए भओस् न’ (पृष्ठ ६२) ।

यसरी नेताहरुले डिङ हाँकेको सुनेर व्यँग्य नारायणले नेताका विचार पुस्तकमा जस्ताको तस्तै उतार्नु भएको छ । अर्को ठाउँमा त्यस्तै शोसकको विचार लेखकले नेताकै भाषामा लेख्नु हुन्छ, ‘हामेरु ती सप्पै चलित्रलाई हामेर्को सिदान्तको बर्कोले ग्याम्मै ढाक्छौं र बर्कोभित्र सुरच्छित भ’र घिउ खान्छौं…..’ (पृष्ठ ६५) ।

लेखक, कवि, पत्रकार, साहित्यकार भनेका देश र समाजका सचेतक हुन् । जसले सञ्जय दृष्टिद्वारा गाउँ, ठाउँका राम्रा–नराम्रा कुराहरु पर्गेलेर समाजमा खुलस्त पार्छन । जो देश प्रेमी हुनाले देशको, समाजको अहित भएको देख्न चाहँदैनन् ।

तसर्थ आफ्नो कलममार्फत लेख्छन् । चिच्याँउछन्, छटपटाउँदै दुखेसो पोख्छन् तर ती ब्वाँसाहरुले थाहै नपाई आन्द्रा भुँडी थुतेर हसुर्छन् । त्यस्ता चर्तिकला देखेर खरो उत्रिने क्रान्तिकारी कवि, लेखक, साहित्यकार हुनुहुन्छ श्री नकुल काजी (व्यँग्य नारायण पाँडे) ।

श्री नकुल काजी ज्यूको कृतिको समीक्षा गर्नु (लेख्नु) भनेको फलामको चिउरा चपाउनु जस्तै हो । किनभने वहाँका कृतिको फेद टुप्पो पत्ता लगाउनै कठिन हुन्छ । वहाँ यति गहिराइका कुरा लेख्नु हुन्छ जो सतहमा बग्नेले पत्तो पाउनु मुस्किल–मुस्किल पर्छ ।

           लक्ष्मीप्रसाद सुब्बा

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd