बलात्कारका घटना नातागोता र आफन्तबाटै हुनेः इन्सेक « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

बलात्कारका घटना नातागोता र आफन्तबाटै हुनेः इन्सेक


यलम्वर टाइम्स
५ असार २०७९, आईतवार ०८:५५

बिर्तामोड । झापामा छ महिनाको अवधिमा ७३ वटा मानवअधिकार उल्लघङ्नका घटना भएको इन्सेक झापाले जनाएको छ ।

शुक्रबार बिर्तामोडमा आयोजित मानवअधिकारका सवालमा सञ्चारकर्मीसँग छलफल तथा वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समिक्षा कार्यक्रममा गत पुष महिनादेखि यता छ महिनामा हत्याका ४ वटा, बलात्कारका ३४, बलात्कार प्रयास २, बहुविवाह १२, मानवबेचबिखनका ४ वटा घटना भएको इन्सेक झापाले बताएको छ ।

त्यस्तै दाइजो नदिएको १, जातीय भेदभाव तथा छुवाछुतका १ र यौन दुव्र्यवहारका १५ वटा घटना भएको इन्सेक झापाले तथ्याङ्क प्रस्तुत गरेको छ । इन्सेक झापाका प्रतिनिधि नरेश खातीले प्रस्तुत गरेको तथ्याङ्कमा सबैभन्दा बढी बालिका पीडित देखिन्छन् ।

कार्यक्रममा झापामा मात्र ६ महिनाको अवधिमा ५ वर्षदेखि ४० वर्षसम्मका महिला बलात्कारका घटनामा पीडित भएको बताइएको छ । बलात्कृत महिला तथा बालिका हरु नजिकका नातेदार, छिमेकीहरुबाट नै पीडित बनेको इन्सेकको अभिलेखमा छ ।

त्यस्तै चिनजानका व्यक्तिले नै रोजगार तथा विभिन्न प्रलोभनमा पारेर महिला तथा बालिकाहरुलाई काँकरभिट्टा नाका हुँदै भारत बेचबिखनका लागि पुर्याइएको, जबरजस्ती यौन कार्यमा लगाउने गरेको घटना इन्सेकले अभिलेख गरेको जनाएको छ ।

इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छवि रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वमणि पोखरेलको आतिथ्य रहेको थियो ।

जिल्ला प्रतिनिधि नरेश खातीले सञ्चालन गरेको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अधिवक्ता कविता बास्तोला लगायत अधिकारकर्मीहरुले आफ्नो कुराहरु राखेका थिए ।