कोदोको रक्सीलाई अन्तर्राष्ट्रियस्तरमा बेच्न सकिने प्रदेश सरकारको ठहर « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

कोदोको रक्सीलाई अन्तर्राष्ट्रियस्तरमा बेच्न सकिने प्रदेश सरकारको ठहर


यलम्वर टाइम्स
६ असार २०७९, सोमबार ०६:२४

बिर्तामोड । कोदोको रक्सीलाई बहुमूल्य बनाई अन्तर्राष्ट्रियस्तरमा बेच्न सकिनेमा प्रदेश सरकार सहमत भएको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् ।

परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति प्रदेश नं. १ ले आ.व. ०७९÷०८० को बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको भनी आभार प्रकट गर्न जाँदा मुख्यमन्त्री राईले आर्थिक आयआर्जनको मुख्य श्रोत कोदोको रक्सी पनि हुन सक्ने प्रदेश सरकारको ठहर भए अनुसार ब्राण्ड बनाई अन्तर्राष्ट्रियस्तरमा बेच्न सकिने हिसाबले नीति तथा कार्यक्रममा समावेश गरिएको बताए ।

प्रवद्र्धन समिति प्रदेश नं. १ का अध्यक्ष टेकबहादुर खजुमले बजेट व्यवस्थापनमा चाँडो व्यवस्था मिलाई अगाडि बढाउन समेत आग्रह गरेका थिए ।

अध्यक्षको आग्रहप्रति मुख्यमन्त्री राईले विगत २ वर्षअघिबाट माननीय उषाकला राईले कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न र पहिचान झल्किने, यहाँका आदिवासीहरुको मात्र नभई समग्र मुलुककै आर्थिक स्रोतमा टेवा पुग्ने भएको हुँदा प्रदेश सरकारले नीति तथा कार्यक्रमलाई अगाडि बढाउन माननीय उषाकला राईलाई नै संयोजक तोकेर जाने बताए ।

कोदोको रक्सीलाई ब्राण्ड बनाउँदा पहाडी उर्भरभूमिमा कोदो लगाउन र वैज्ञानिक खेति गर्न समेत प्रोत्साहन प्रदेश सरकारले दिने, युवा लक्षित तथा कृषिलाई बढवा दिने प्रदेश सरकारको ०७९÷८० को बजेटमा समेत उल्लेख भएको हुँदा त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।

प्रवद्र्धन समितिको एक टोलीले माननीय उषाकला राईलाई समेत ज्ञापनपत्र दिँदै बजेट व्यवस्थापनमा जोड दिन आग्रह गरे ।

प्रवद्र्धन समितिको ज्ञापनपत्रमा परम्परागत मदिराको अध्ययन गरि तथ्य र तथ्यांक संकलन गरि औद्योगिकिकरणको सम्भाव्यता अध्ययन गर्ने, कोदो उत्पादनलाई ध्यान दिँदै कृषकलाई प्रोत्साहित गर्नका साथै कृषि, प्रविधि, मल, बीउको व्यवस्थापन गरिनुपर्ने, कोदोको रक्सी उत्पादनमा आवश्यक पर्ने जडीबुटी (मर्चा) संकलन, प्रशोधन र संरक्षणमा ध्यान दिनुपर्ने, कोदोको रक्सीलाई स्तरीय पेय पदार्थको रुपमा स्वीकृत गर्न आवश्यक बैज्ञानिक पद्दतिको अध्ययन र निर्माण गर्ने, ग्रामिणस्तरमा उत्पादित रक्सी संकलन गरि त्यसको प्राविधिक परीक्षण गरि ब्राण्डिङ गर्न संकलन केन्द्रको स्थापना गरिनुपर्ने, बोटल, बट्टा, प्याकेट, चैँठो निर्माण गरिनुपर्ने र प्रचारप्रसार गर्न पर्ने जस्ता माग गरेका छन् ।

ज्ञापनपत्र बुझेपछि माननीय उषाकला राईले स्वदेशी रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न सके समग्र नेपालीको आयस्रोतको राम्रो बाटो हुने बताउँदै जनस्तरबाट यसको माग र आवश्यकताका बारे जनचेतना दिन प्रवद्र्धन समितिलाई आग्रह गरिन् ।

विदेशी रक्सीले नेपाललाई छोपिरहेको बेला स्थानीय उत्पादित स्वदेशी रक्सी बाहिर नआउनु, बिक्री वितरण गर्न नसक्नु नेपालीकै दुर्भाग्य भएको बताइन् ।

उनले अगाडि भनिन्, ‘कोदोको रक्सीलाई ब्राण्डिङ गररे बिक्री वितरण गर्न नदिन स्वदेशी उद्योगी तथा केही नेताहरुको हात रहेको हुँदा अब यसलाई छेकेर छेक्न नसकिने अवस्था छ ।’

धन्यवाद सहित ज्ञापनपत्र बुझाउन आदिवासी जनजाति महासंघ अध्यक्ष भरत श्रेष्ठ, बुद्धिजीवि देशु वानेम, ताप्लेजुङबाट महिला नेतृ सरस्वता सिंगक, आदिवासी जनजाति महासंघ बाह्रदशीका अध्यक्ष दिलकुमार नेम्वाङ, पाँचथरबाट एलबी पालुङ्वा, फोनिजका दिपीन राई लगायतको सहभागिता थियो ।

सोही समितिले उद्योग मन्त्री प्रकाश हाङ्गाम, योजना आयोगका माननीय उपाध्यक्ष डा. पूर्णकुमार लक्साम र अर्थ मन्त्रालयलाई समेत धन्यवादसहितको ज्ञापनपत्र बुझाएका थिए ।