मुटु रोगः लक्षणका आधारमा पत्ता लगाउने तरिका « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

मुटु रोगः लक्षणका आधारमा पत्ता लगाउने तरिका


यलम्वर टाइम्स
६ असार २०७९, सोमबार ०६:४९

जनचेतनाको कमिले मुटु रोगको समयमै पहिचान नभएर लाखौं मानिस असामयिक मृत्युको शिकार हुन पुग्छन् । मुटु रोग प्राणघातक रोग हो र समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुख कारण मानिन्छ । नेपालमा पनि सबभन्दा बढी मानिसको मृत्यु मुटु रोगले नै हुने गरेको तथ्यांक छ । समयमै मुटु रोगको पहिचान गर्न सकिएमा व्यक्तिले उचित उपचार पाउने रोगलाई सजिलैसँग निको पार्ने र जटिलताबाट बच्ने सम्भावना प्रबल हुन्छ । र यसको लागि मुटु रोगको निदान प्रारम्भिक अवस्थामै हुनु जरुरी हुन्छ । रोगले जटिल्ता लिइसकेपछि उपचार कठिन, महँगो, लामो र निको नहुने अवस्थामा पुग्ने भएकोले, लक्षणकै आधारमा रोगको शुरुवातमै पत्ता लगाउनु पर्छ ।

अधिकांश मुटु रोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा मुटु रोग भए नभएको पत्ता लगाउँछन् । लक्षणहरुकै आधारमा केही जाँचहरुको मद्दतले मुटु रोगको निदान गर्ने गरिन्छ । यी लक्षणहरुको बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजिकका व्यक्तिलाई पनि सही सल्लाह दिएर प्राणघातक मुटु रोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।

मुटु रोगका प्रमुख लक्षणहरु

छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु मुटु रोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत होला । लक्षणहरुको राम्रो विश्लेषण गरेमा सामान्य व्यक्तिले पनि मुटु रोग भएको शंका गरेर र आवश्यकता अनुसार चिकित्सको परामर्श लिन सक्नेछन् ।

मुटु रोग पत्ता लगाउनमा जोखिमहरुको बारेमा जानकारी जरुरी

लक्षणलाई समिक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटु रोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ । चुरोटको सेवन, मुधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मोटोपना, अत्याधिक मदिरापान, मानसिक तनाव, वंशाणुगत (परिवारमा मुटु रोग), उमेर ४० भन्दा बढी (पुरुष) र ५० भन्दा बढी (महिला) आदि रिस्क फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ । एकभन्दा बढी जोखिमहरु भएमा मुटु रोगको झन् बढी सम्भावना हुन्छ । रिस्क फैक्टर्स बढी भएको व्यक्तिमा लक्षण साधारण भए पनि मुटु रोगकै शंका पहिला गर्नुपर्दछ । त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक हुन्छ ।

१) छाती दुख्नु

छाती दुख्नु÷ पोल्नु वा दबाबको अनुभव गर्नु मुटु रोगको प्रमुख लक्षण मानिन्छ, तर यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी÷करंङ्गको दुखाई, फोक्सो आदिले पनि हुनसक्छ । मुटुको दुखाई हिंड्दा वा उक्लिदा बढ्ने र आराम गरेपछि कम हुने प्रकृतिको हुन्छ । खोक्दा, दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सास फेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाई छातीको बीच वा देब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ ।

छातीको सानो भागमा ५ वर्ग सेमी क्षेत्रफलभन्दा कम भएमा प्रायः मुटुको नभएर मांसपेशीको दुखाईले हुन्छ । मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नुसँगसँगै पसिना आउनु, स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटु रोगको कारणले हो बुझ्नु पर्छ ।

२) स्वाँस्वाँ हुनु

स्वाँस्वाँ हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि (एनिमिया) प्रमुख हो तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक भएमा पनि स्वाँस्वाँ हुनसक्छ । प्रायः उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु, थकाइ लाग्नु मुटु रोगको लक्षण हुनसक्छ । आफ्नो उमेरको हिसाबले (दूरी÷गति) हिंड्न नसक्नु वा बीचमा रोकिने अवस्था आउनु मुटु रोगको लक्षण हुनसक्छ ।

३) मुटु ढुकढुक हुनु

मुटु ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो अवस्थामा काम गर्दा, हिंड्दा ढुकढुक बढ्ने र आराम गर्दा कम हुने गर्दछ । तर मुटु रोगको कारणले ढुकढुक जुनसुकै बेला हुनसक्छ, प्रायः केही सेकेण्डको लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

४) खुट्टा सुन्निनु

खुट्टा सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा, मृगौला र मुटुरोग हुन्छ । सिकिस्त कारण भएमा खुट्टा सँगसँगै पेट र अनुहार पनि सुन्निएको हुन्छ । प्रायः उच्च रक्तचापको औषधिले पनि यस्तो हुन्छ, जुन सामान्य मानिन्छ । खुट्टा सुन्निएको सँगसँगै स्वाँस्वाँ भएमा वा अन्य लक्षण देखिएमा मुटु र मृगौलाको जाँच जरुरी हुन्छ ।

५) बेहोश हुनु

बेहोश हुनु वा बेहोश हुन खोज्नु मुटु, मस्तिष्क, मानसिक आदि कारणले हुनसक्छ । स्वस्थ व्यक्ति बेहोश भएमा पनि एक पटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुनसक्ने भएकोले तुरुन्त जाँच र उपचार गर्नु उचित हुन्छ ।

६) थकाई लाग्नु

थकाई लाग्नु सामान्य पनि हुनसक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको केही कारण हुनसक्छ । भिटामिन डीको कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटु रोग पनि एक कारण हुनसक्छ । मुटु कमजोर हुनु (हार्ट फेल्योर), धड्कन बढी हुनु, जन्मजात रोगहरु र बाथ मुटु रोगमा यस्तो लक्षण हुनसक्छ । थकाई सँगसँगै अरु लक्षण पनि देखिएमा परामर्श लिनु जरुरी हुन्छ ।

माथि उल्लेखित लक्षण हुन्ने बित्तिकै मुटु रोग हुन्छ भन्ने जरुरी छैन । यि लक्षण हरुलाई त्यो व्यक्तिको उमेर, स्वास्थ्य अवस्था, मुटु रोगका जोखिमहरु, बंशाणुगत् कारण, लक्षणको तिब्रता र समय आदि कुराहरुमा भर पर्छ । तर जरुरी कुरा के हो भन्ने तपाईंसँग यस्ता केही लक्षण छन् भने चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । डा. ओममूर्ति अनिलको वेव साइटबाट