११ औं नगर सभाको उद्घोषः समृद्ध अर्जुनधारा, खुशी अर्जुनधाराबासी « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

११ औं नगर सभाको उद्घोषः समृद्ध अर्जुनधारा, खुशी अर्जुनधाराबासी


यलम्वर टाइम्स
१० असार २०७९, शुक्रबार १४:४१

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत २०७९÷०८० को लागि शुक्रबार ७४ करोड एक लाख ५३ हजार २३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूचि १ मा उल्लेखित चालु खर्च, पूजीगत खर्च र वित्तीय व्यवस्थापनको खर्च समेत गरी उक्त बजेट सार्वजनिक गरेको हो ।

बजेट सार्वजनिक गर्दै उपप्रमुख खड्गमाया पराजुलीले आयतर्फ नेपाल सरकारबाट वित्तीय समानिकरण १९ करोड ११ लाख, राजश्व बाँडफाँडबाट १२ करोड ४५ लाख १२ हजार, सशर्त अनुदानबाट २७ करोड ४१ लाख, विशेष अनुदान २ करोड १० लाख, समपुरक अनुदान ८० लाख, मालपोत रजिष्ट्रेशन ३ करोड र प्रदेश सरकारबाट वित्तीय समानिकरणमा १ करोड ६ लाख ७५ हजार, राजश्व बाँडफाँड (सवारी) १ करोड ५६ लाख ४३ हजार २३०, सशर्त अनुदान १ लाख २३ हजार, समपुरक अनुदान १ करोड र स्थानीय नगरपालिकाको आन्तरिक आय ५ करोड ५० लाख बजेट रहेको छ ।

यसरी नै व्ययतर्फ प्रशासनिक खर्च १५ करोड, सशर्त कार्यत्रममा २७ करोड ४१ लाख, सर्शत अनुदान एक लाख २३ हजार, विशेष अनुदान २ करोड १० लाख, समपुरक ८० लाख, समपुरक (प्रदेश) एक करोड, वित्तीय व्यवस्थापन ४० लाख, आर्थिक विकास १ करोड ५० लाख, पूर्वाधार विकास ५ करोड ५ लाख, संस्थागत विकास तथा सुशासन १ करोड २५ लाख, विपद् व्यवस्थापन एक करोड, सामाजिक विकास ४ करोड ४९ लाख ३० २३०, समपुरक कोष २ करोड, साझेदारी कोष एक करोड, वडास्तरीय कार्यक्रम ११ करोड गरी ७४ करोड एक लाख ५३ हजार २३० सार्वजनिक गरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले नगर सभा सञ्चालन विधि वाचन गरेर सुनाएकी थिइन् भने नगर सभा राष्ट्रिय गानका साथ सुरु गरिएको थियो ।

नगर प्रमुख बलदेवसिंह गोम्देनले ४ः३० मा नगर सभा सुरु गरेका थिए । प्रमुख गोम्देनले वार्षिक नीति तथा कार्यक्रम वाचन गर्न उपप्रमुख खड्गमाया पराजुलीलाई अनुरोध गरेका थिए ।

उपप्रमुख पराजुलीले ०७९÷८० का लागि बजेट, नीति तथा कार्यक्रमको प्राथमिकता वाचन गरेकी थिइन् ।

उपप्रमुख पराजुलीले नगर योजना आयोग निर्माण र परिचालन, नगर उच्चस्तरीय सल्लाहकार समिति गठन र परिचालन, वेव बेस डिजिटल प्रोपाई र आवधिक योजना, घर विहीन विपन्न परिवारलाई आवसको व्यवस्था, भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण, श्रमिक उद्यमशिल कोष स्थापना र परिचालन, उत्कृष्ट किसान तथा मजदुर सम्मान र प्रविधि हस्तान्तरण, पर्यटन पूर्वाधार तथा सांस्कृतिक प्रवद्र्धन, स्वास्थ्य विमा कार्यक्रम जनताको जीवनस्तर आम्दानी र रोजगारीमा अभिवृद्धि, रोजगारी सिर्जनाका लागि साझेदारी कानून निर्माण, नगर गौरवहरुको डीपीआरसहित योजना बैंक निर्माण, जनसहभागितामा तटबन्धन, वृक्षरोपण तथा वायोइन्जीनियरिङ, युवा स्वरोजगार र उद्यमशिलता विकास, स्वास्थ्य सेवामा गुणस्तरीय प्रविधि तथा जनशक्ति व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्य योग र प्राकृतिक चिकित्सामा जोड, दीगो विकास वातावरणीय संरक्षण र सम्वद्र्धन, छिटो प्रतिफल दिने रणनीतिक महत्वका पूर्वाधार निर्माण, लागूऔषध दुव्र्यवसनी नियन्त्रण, उज्यालो नगर, विपद् व्यवस्थापन, शैक्षिक विकास जस्ता रणनीति नगरले ल्याएको बताइन् ।

उनले कृषि तथा पशुपंक्षी विकास सम्बन्धि नीति, कृषि सम्बन्धि सूचनाहरु, स्थानीय पत्रपत्रिका, रेडियो तथा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरी सबै कृषकहरुलाई जानकारी गराउँने, पर्यटन सम्बन्धि नीतिमा शनिश्चरे बजारलाई सौन्दर्यकरण बेलायत व्हीलभरह्याम्पट सिटीसँग भगिनी मैत्री सम्बन्ध स्थापना गरिने, उद्योग वाणिज्य, सहकारी तथा गैरसहकारी सम्बन्धि नीति ल्याइने, नगर औद्योगिक ग्राम अर्जुनधारा २ को टाङटिङ किनारमा स्थापना गरेर लगिने बताइन् ।

त्यस्तै शिक्षा नीति सम्बन्धि नगर शिक्षा ऐन, स्थानीय पाठ्यक्रम निर्माण गरि पठनपाठन सुरु गरिने, बुहारी शिक्षा कार्यक्रम सञ्चालन गरिने, हाम्रो विद्यालय राम्रो विद्यालय र नगरपालिका उत्कृष्ट शिक्षा पुरस्कार दिइने नीति ल्याइएको बताइन् ।

स्वास्थ्य सम्बन्धि नीतिमा सबै वडाका स्वास्थ्य केन्द्रमा १२ महिना तोकिएको औषधी उपलब्ध गराइने, आयुर्वेदिक तथा वैकल्पिक उपचार विधिमा जोड दिने, गरिबी, विपन्न, निमुखा, दीर्घरोगी, मजदुर, किसान आदिको प्राथमिकताको आधार स्वास्थ्य विमा गरिने, उपमेयरसँग आमा शिशु कार्यक्रमलाई निरन्तरता दिने, भाषा, कला, संस्कृति सम्बन्धि नीतिमा कला संस्कृत, परम्परागत बाजा, जातीय झाँकीहरु संरक्षण तथा प्रवद्र्धन गर्न वडामा प्रत्येक वर्ष छनौट र नगर स्तरीय प्रतिस्पर्धा गरिने साथै लेखक घर निर्माण गरिने, दीर्घ साहित्य पुरस्कार निरन्तरता दिने, युवा तथा खेलकुद सम्बन्धि नीतिमा फुटबल, भलिबल, क्रिकेट, क्लबलाई प्राथमिकता दिँदै युवा उद्यमशिलता तथा स्वरोजारीमा अभिवृद्धि गरिने, युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खुला व्यायमशाला निमार्ण गरिने, लैङ्गिक समानता तथा सामाजिक समावेशी सम्बन्धि नीतिमा अपाङ्गता भएकाहरुलाई आयमुलक, सीपमुलक कार्यक्रम सञ्चालन गरिने, पहेलो परिचयपत्र वाहक अपाङ्गहरुलाई छुट्टै बजेट विनियोजन गरी व्यवसायिक सीपमा लगाउने, महिला सहकारी संस्थाको क्षमता विकाससहित बिउ पूजी कोष स्थापना गरिने, कानूनी विवाद परेका बालबालिकाका लागि बाल सुधार गृह सञ्चालन गरी संरक्षण गरिने, अनाथ, विपन्न बालबालिकालाई शिक्षा, स्वास्थ्यमा पहुँचको व्यवस्था मिलाइने, छुवाछुत मुक्त नगर बनाउन विशेष कार्यक्रम बनाउने जस्ता रहेका छन् ।

त्यस्तै पूर्वाधार विकास नीतिमा विशेष ध्यान दिँदै सहकाले झरना, अर्जुनधारा जलेश्वरधाम, फाल्गुनन्द माङहिम, बुद्ध प्रतिमा, मदन–आश्रित पार्क, शहीद स्मृति उद्यान पर्यटनमा विशेष ध्यान दिने, बजारलाई आधुनिकीकरण गरेर लाने, झोलुङ्गे पुल निर्माणलाई पूर्णता दिने, उज्यालो नगरपालिका घोषणा गरिने जस्ता रहेका छन् ।

वन व्यवस्थापन तथा विपद् व्यवस्थापन सम्बन्धि नीतिमा ऐन निर्माण गरेर जोखिम न्यूनिकरणमा ध्यान दिने, सुशासन तथा संस्थागत विकास सम्बन्धि नीतिमा नगर योजना आयोग गठन गरि कार्यक्रम अगाडि ल्याउने, सूचनाको हक सम्बन्धि ऐनका बारेमा नगरवासीलाई सुसूचित गरिने साथै नगरपालिकाबाट भएका विकासका गतिविधिलाई स्थानीय एफएम, पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासका लागि भूमि आयोगमार्फत लगत संकलन गरि धनीपूर्जा वितरण गरिने, पत्रकारिता क्षेत्रका प्रवद्र्धन एवम् विकासका लागि पत्रकार महासंघ लगायत सञ्चारसँग सम्वद्ध निकायहरुसँग समन्वय गरि सञ्चारमैत्री कार्यक्रम सञ्चालन गरिने जस्ता उल्लेख छन् ।

सभा केही बेर ढिलो

असार १० गते १० बजे ११ औं सभा सञ्चालन हुने भनिए पनि वडामा प्रदान गरिने बजेट न्यून भएको भन्दै बोर्ड बैठक लम्बिएको थियो । बैठकमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले बजेट बढाउन माग गरेपछि सभा ढिलो हुन पुगेको थियो ।

पछि प्रत्येक वडालाई एक करोडसम्म बजेट विनियोजन गर्ने र बाँकी रकम वडासँग समन्वय गरेर लागू गरिने भनेपछि सहमत भइ ठीक ४ः३० बजे आदिवासी जनजाति सामुदायिक भवनमा नीति तथा कार्यक्रम सम्पन्न भएको थियो ।

नगर सबैको हो, हिजो हामी दलबाट आयौं होला, अब हामी सबैका भएका छौं । जनताको लागि काम गर्न आएको हुँदा सम्मान बजेट वडाको दायित्व भएको वडा नं. ४ का वडाध्यक्ष अम्बर कटुवालले प्रतिक्रिया दिए । ढिलै भए पनि राम्रो र नगरवासीको हितमा बजेट बनेको हुँदा कार्यान्वयन पक्षमा फलो गर्नुपर्ने वडा नं. ९ का अध्यक्ष भिष्म मिश्रले आग्रह गरे ।

विकासमुखी बजेट बन्ने हाम्रो चाहना हो, त्यही अनुसार बजेट अगाडि आएको वडा नं. ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले बताए ।

बजार सौन्दर्यकरणमा बजेटले प्राथमिकता दिएको वडा नं. ८ का अध्यक्ष कुमार उप्रेतीले बताए । नीति तथा कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।