अविरल वर्षाका कारण झापाका विभिन्न स्थान ढुबानमा, २७७ घरपरिवार विस्थापित « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

अविरल वर्षाका कारण झापाका विभिन्न स्थान ढुबानमा, २७७ घरपरिवार विस्थापित


यलम्वर टाइम्स
१५ असार २०७९, बुधबार ०७:५८

अर्जुनधारा । असार १४ गतेदेखि परेको अविरल वर्षाका कारण झापाका विभिन्न स्थान ढुबानमा परेका छन् भने २७७ घर परिवार विस्थापित बनेका छन् ।

निरन्तर पानी परिरहँदा साना ठूला नदीहरुमा आएको बाढी कारण जिल्लाका विभिन्न स्थानहरुमा ढुबानसँगै क्षति पुर्याएको छ ।

बाढीका कारण शिवसताक्षी नगरपालिका वडा नं. १ हरिदेव ताजपुरियाको कुखुरा फाराममा पैनीको पानी पस्दा एक हजार २ सय कुखुरा मरेका छन् ।

कुखुराको दानासहित ताजपुरियाको १० लाख ४० हजार मूल्य बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै कचनकवल गाउँपालिका १ मा ढुबानका कारण २८ र २९ नम्वरका नेपाल–भारत सीमा स्तम्भ ढुबेका छन् ।

अत्याधिक वर्षाका कारण ढुबान हुँदा सो क्षेत्रका सीमा स्तम्भ नदेखिने अवस्थामा छन् । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी कार्यालय झापाका अनुसार अधिकांश स्थानीय तह वर्षातका कारण प्रभावित बनेका छन् ।

कमल २ भालु गाउँ बस्ने रामबहादुर भण्डारीको बाँसको टाटीबेरा भएको घरमा पैनीको पसेको, त्यस्तै कमल २ क्याम्पा बजारकी नारायणी नेपालको एक तले भुईघरमा खेतको पानी पस्दा उनीहरु दुवै परिवारलाई छिमेकिको घरमा सारिएको छ ।

दमक ६ जेसीस चौक बस्ने अभि नारायण खनालको किराना पसलमा पानी पस्दा ३ बोरा चिनी, ८ बोरा चामल, २ बोरा मैदा र चाउचाउ भुजा भिजेको छ भने बाँकी सामग्री अन्यत्र कोठामा सारेको छ ।

गौरादह ४ र ५ का विभिन्न स्थानमा अन्दाजी २२ घरमा डुवान भए पनि मानिसहरु घरमा नै बसिरहेको प्रहरी चौकी महारानिझोडाले जनाएको छ ।

त्यस्तै वर्षातको कारण रतुवा खोलामा आएको बाढी बस्तिमा पस्दा गौरादह ६ स्थित टंगुवा बस्तिमा अन्दाजी २५ घरमा करिब १÷२ फिट पानि जमेको छ ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षको नेतृत्वमा १५ जनाको टोलीले पालिकासँग समन्वय गरी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिलेमा पानी पस्दा कम्प्युटरमा क्षति पुगेको, शिवसताक्षी ६ प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज स्वास्थ्य चौकी भवन र औषधि पसलमा क्षति भएको, शिवसताक्षी ६ कै मान बहादुर दर्जी, सजय मलीकको मकल डुब्बा खोलाबाट आएको पानी पस्दा डुबानमा परेको, गौरीगञ्ज १ महाभारा बस्ने रणमाया लिम्बूको घरभित्र बनियानि खोलाको पानि पस्दा करिब ४ फिट जमेको छ ।

त्यस्तै गौरीगञ्जमै बालुबारीमा माईखोलाको पानी पस्दा १५ घर, देविगडामा ५ घर, टप्पु बस्तिका करिब १२ घरमा ३ फिट पानी जमेको हुँदा प्रचौ कुञ्जिबारीबाट प्रहरी सहायक निरीक्षकको टोलीले स्थानीय पालिकाको सहयोगमा मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम गरेको छ ।

शिवसताक्षी ४ सन्थाल बस्ती (सुकुम्बासी बस्ती ) मा कमल–बनियानी खोलाको पानी पस्दा सो बस्तीमा रहेको ३० घरमा करिब ४ फिट पानी पसी डुबान भएको हुँदा नजिकैको त्रिभुबन मा.बि.मा सुरक्षित राखिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय शिवगञ्जले उद्दार गरेको थियो ।

त्यस्तै अविरल आएको वर्षाका कारण जिल्लाका अन्य विभिन्न भागमा डुबानमा परेका छन् भने विस्थापित हुनेहरुलाई सुरक्षित स्थानमा सारिदै आएको छ ।