नोबेल र केएमसीले खेलाडीहरुको निःशुल्क उपचार गर्ने « Yalambar Times
४ भाद्र २०७९, शनिबार

नोबेल र केएमसीले खेलाडीहरुको निःशुल्क उपचार गर्ने


Dipin Rai
१७ पुष २०२६, बिहीबार ००:००

विराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् ।

ओलम्पिकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउने भएका हुन् । खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ ।

प्रदेश १ खेलकुद विकास बोर्डले आईतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पिक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो ।

यो बिषयमा नेपाल ओलम्पियन्स एशोसिएसन काठमाडौं र प्रदेश १ खेलकुद विकास बोर्ड विराटनगरले नोबेल र केएमसीसँग छुट्टा–छुट्टै सम्झौता गरेका छन् । प्रदेश १ खेलकुद विकास बोर्डसँग भएको सम्झौता पत्रमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा, नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल र प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, ओलम्पियन्स एशोसिएसनसँग भएको सम्झौतामा पनि काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.शर्मा, नोबेलका प्रवन्ध निर्देशक बराल र एशोसिएसनका अध्यक्ष दिपक बिष्टले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच साटासाट गरिएको थियो ।

सम्झौता अनुसार अन्तर्राष्ट्रिय खेलकुद ओलम्पिकमा भाग लिएका देशभरका सम्पूर्ण खेलाडीले नोबेल र केएमसीमा निःशुल्क उपचार पाउने छन् । साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का सम्पूर्ण खेलाडीहरुलाई पनि नोबेल र केएमसीले निःशुल्क उपचार गर्नेछ ।

उनीहरुले दुवै अस्पतालको क्याबिनमा रहेर उपचार गराउँदा पनि शुल्क लाग्ने छैन । ओलम्पिकमा हालसम्म नेपालका ८८ खेलाडीले भाग लिएका छन् । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ । यता, प्रदेश १ का २२५ खेलाडीले साफ र एशियन खेलकुदमा भाग लिएका छन् । उनीहरुले निःशुल्क उपचार सेवा पाउँनेछन् ।

यता, ती खेलाडीका आमा–वुवा, श्रीमान–श्रीमती तथा छोरा–छोरीको उपचारमा पनि दुवै अस्पतालले ५० प्रतिशत छुट दिने सम्झौता पत्रमा उल्लेख छ । निःशुल्क तथा उपचारमा छुट पाउँनेहरुलाई नोबेल र केएमसीले उपलब्ध गराएको छुट कार्डको आधारमा सेवा दिइनेछ । आईतबारबाटै यो सम्झौता लागू भएको छ ।