परम्परागत मदिरा (कोदोको रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्न झापामा प्रवद्र्धन समिति गठन « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

परम्परागत मदिरा (कोदोको रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्न झापामा प्रवद्र्धन समिति गठन


यलम्वर टाइम्स
२० असार २०७९, सोमबार १०:१८

अर्जुनधारा । परम्परागत मदिरा (कोदो रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अर्थात् आयआर्जनको मुख्य थलो निर्माण गर्नका लागि आज झापा जिल्ला स्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ ।

प्रवद्र्धन समितिका संयोजक सर्मिला आङ्दाम्बे रहेका छन् । यसरी नै उनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ । झापा जिल्लाभरिका सबै जातिलाई मिलाएर उक्त समिति निर्माण भएको हो ।

प्रवद्र्धन समितिको गठन प्रक्रिया झापाको चारआलीको चुम्लुङ भवनमा भएको हो । प्रवद्र्धन समितिले कार्यक्रम गर्नभन्दा अघि एक कार्यपत्र प्रस्तुत गर्दै कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न सके आयआर्जनको मूख्य थलो बन्ने कुराहरु प्रस्तुत भएको थियो ।

प्रवद्र्धन समितिका सदस्य सरस्वता सिङ्घकले उक्त कार्यपत्र प्रस्तुत गर्दै झापामा मात्र होइन प्रदेश नं. १ को १४ वटा जिल्लामा कार्यसमिति निर्माण गर्दै जाने र प्रर्वद्धन समिति प्रदेशमा सबै जिल्लाको सहभागिता रहेको बताए ।

सिङ्घकले प्रस्तुत गरेको कार्यपत्रमाथि बुद्धिजीवि देशु वनेम, फोनिजका दिपीन राई, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ लगायतले कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न ल्याइएको प्रतिवेदनमाथि आफ्नो सुझावसहितको विचार राखेका थिए ।

छलफल कार्यक्रममा बुद्धिजीवि आरभी पालुङ्वा, लालबहादुर थेवे, इन्द्रकुमार श्रेष्ठ, समर राई, चिजा राई, पाण्डपलाल चौधरी, धनप्रसाद गुरुङ, अग्नीमाया मेचे, सबिना राजवंशी, ओमप्रकाश खापुङ लगायतले कोदोको रक्सी र आयआर्जनका विषयमा आ–आफ्नो विचार राखेका थिए ।

प्रवद्र्धन समितिका प्रदेश १ का संयोजक टेकबहादुर खजुमले प्रदेश नं. १ को नीति तथा कार्यक्रममा कोदोको रक्सीलाई आयआर्जनको रुपमा लैजाने गरि परियोजना पास गरिएको जानकारी गराएका थिए ।

उनले उक्त परियोजना निर्माणका लागि प्रवद्र्धन समितिले मुख्यमन्त्री, अर्थमन्त्री, पूर्व सामाजिकमन्त्री तथा कोदोको रक्सीका अभियान्ता उषाकला राई, उद्योगमन्त्री प्रकाशप्रसाद हाङ्गाम लगायतलाई पटक–पटक ज्ञापनपत्र बुझाएको बताए ।

बृहत सहभागिता रहेको कार्यक्रममा प्रवद्र्धन समितिका संयोजक खजुमले इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, ते¥हथुम, संखुवासभा लगायतको जिल्लाबाट प्रवद्र्धन समितिमा जोडिएको बताए ।

यसलाई उत्पादनमा जोड्नसके आर्थिक रुपमा मात्र नभई युवाहरुले स्वदेशमै रोजगार पाउँन सक्ने कुराहरु दर्शाएका थिए ।

यति बेला पहाडका पाखाहरु भने जस्तो मल, सिचाईं र बीउ नभएको हुँदा कोदो नासिदै गएको अवस्था छ ।

कोदोबाट धेरै प्रकारका चिजहरु बनाउन सकिने संयोजक खजुमले जानकारी दिँदै खानाका लागि उत्तम र रक्सी निर्माणका लागि गुण उपयोगी भएको बताए ।

कोदोको रक्सी बनाउनका लागि आवश्यक मर्चाका लागि चाहिने जंगली जडिबुटीहरुको पनि संरक्षण गरिनुपर्ने संयोजक खजुमले बताए ।