नेपाल सरकारलाई राष्ट्रिय जनमुक्ति पार्टीको तीन बुँदे ध्यानाकर्षण–पत्र « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

नेपाल सरकारलाई राष्ट्रिय जनमुक्ति पार्टीको तीन बुँदे ध्यानाकर्षण–पत्र


यलम्वर टाइम्स
२१ असार २०७९, मंगलवार ०९:४०

काठमाण्डौ । यसै वर्ष हुने संघ तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले नेपाल सरकारलाई ३ बुँदे ध्यानाकर्षण–पत्र बुझाएको छ ।

पार्टीका राष्ट्रिय अध्यक्ष केपी पालुङ्वा र कार्यकारी अध्यक्ष केशव सूर्यवंशी नेतृत्वमा गएको टोलीले उक्त तीन बुंदे ध्यानाकर्षण–पत्र संघीय परिषदको तर्फबाट सरकारलाई बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनुपर्ने, राष्ट्रिय दलको मान्यता खारेज गरिनुपर्ने, विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिनुपर्ने जस्ता बुँदाहरु रहेका छन् ।

निर्वाचन आयोग, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलाई बोधार्थ गरिएको उक्त ध्यानाकर्षण–पत्र संघ, प्रदेश र जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत एकै पटक प्रधानमन्त्रीलाई बुझाइएको थियो ।

बागमति प्रदेशको ललितपुरमा जिल्ला अध्यक्ष एसके महर्जन, चितवनमा जिल्ला अध्यक्ष टेक बहादुर सारु, लुम्बिनी प्रदेशको रुपन्देहीमा जिल्ला अध्यक्ष प्रेम थापा र पाल्पामा जिल्ला अध्यक्ष नारायण कंवर, गण्डकी प्रदेश नवलपुरमा जिल्ला अध्यक्ष तिलबहादुर झेडी र तनहुँमा जिल्ला अध्यक्ष भुवन थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पहिलो चरण ध्यानाकर्षण–पत्र बुझाइए पार्टीले जनाएको छ ।