समाजः हात्तीले चलाउँछ कि, हात्तीलाई चलाउँछौं « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

समाजः हात्तीले चलाउँछ कि, हात्तीलाई चलाउँछौं


यलम्वर टाइम्स
२१ असार २०७९, मंगलवार १०:००

 

अर्जुनधारा । आसामका जंगलमा पानीको सतह बढेपछि त्यहाँका रैथाने हात्ती बाघडोग्रा हुँदै झापा छिर्ने गरेका छन् । उनीहरु पहिला उत्तरी बाहुनडाँगी हुँदै बुद्धशान्ति, अर्जुनधारा भएर जुकेखाडी सामुदायिक वनभित्रको दमारमा आएर बस्ने गर्छन् ।

केही दिनअघि बाहुनडाँगी छिरेको २५ बढी हात्तीले आहारा खोजी खाँदा बढी उपद्रो गर्ने गरेको पाइन्छ । अर्जुनधारा वडा नं. २ मा भने एक किसानले रौप्न लागेको बीउ कुल्चिएर नष्ट गरिदिएको छ ।

बथानमा हिंड्ने ती हात्तीका छावाहरुलाई मानिसले समातेर तान्ने, झन्झट गराउने जस्ता कार्यहरु पनि भए । आफ्नो बाटो हिंडिरहेको बेला झापाको बुद्धशान्ति–५ स्थित आयाबारीमा एउटा हात्ती मृत अवस्थामा भेटिएको छ ।

स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती मर्नुको कारण खुल्न सकेको छैन । मृत हात्तीलाई स्थानीय, जिल्ला वनका कर्मचारी र वन रक्षकले सुरक्षा घेरामा राखेका छन् ।

हात्ती मर्नुको कारण विज्ञ आएर अध्ययन गरेपछिमात्र जानकारी हुने जिल्ला वन कार्यलयका रेन्जर कुलप्रसाद भट्टराईले बताए । उनका अनुसार दाह्रा हेर्दा हात्ती किशोरावस्थाको हुन सक्छ ।