कोदोको रक्सीलाई विश्व बजारमा पुर्याउन सके आम्दानीसँगै पहिचान बन्ने « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

कोदोको रक्सीलाई विश्व बजारमा पुर्याउन सके आम्दानीसँगै पहिचान बन्ने


यलम्वर टाइम्स
२६ असार २०७९, आईतवार ११:२५

धरान । घरेलु मदिरा (कोदोको रक्सी) लाई ब्राण्ड बनाई विश्व बजारमा पुर्याउन सके आम्दानीसँगै पहिचान बन्नेमा दुइमत नरहेको सरोकारवालाहरुले बताएका छन् ।

शनिबार परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समितिले धरानमा आयोजना गरेको भेलामा उपस्थित विज्ञ, बुद्धिजीवि, सरोकारवालाहरुले घरेलु मदिराको रुपमा प्रयोग हुँदै आएको कोदोको रक्सीलाई प्रशोधन गरि बजारमा ल्याउन सके आम्दानीसँगै पहिचान बन्दै जाने बताएका हुन् ।

उनीहरुले यस अभियानमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताउँदै समितिलाई अगाडि बढ्न आग्रह समेत गरे ।

भेलामा प्रवद्र्धन समितिकी सदस्य सरस्वती सिङ्घकले कोदोको रक्सीका सम्भावना र अवसरका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यपत्र प्रस्तुत गर्दै सिङ्कले गाउँघरमा कोदो फलाउने र त्यसबाट रक्सी बनाउने गरिए पनि यसको महत्वलाई बुझेर सरकारले ठोस योजना बनाउन नसक्दा घरायसी प्रयोगमा मात्र सीमित भएको बताइन् ।

उनले प्रर्वद्धन समिति प्रदेश नं. १ ले कोदोको रक्सीका विषयमा प्रदेश सरकार, माननीय उषाकला राई र यससँग सम्बन्धित सरोकारवालाहरुसँग पटक–पटकको छलफल, अन्तरक्रिया गर्दै प्रदेश सरकारको योजनामा पार्न सफल भएको सुनाइन् ।

भेलामा बुद्धिजीवि देशु वनेमले स्वास्थ्यका दृष्टिकोणले कोदो गुणकारी भएको बताउँदै कोदोको रक्सीलाई ब्राण्डिङ गरि विश्व बजारमा पुर्याउन सके लाभदायी हुने बताए ।

उनले कोदोबाट रक्सीमात्र नभई स्वास्थ्यका लागि लाभकारी हुने विभिन्न खाद्य सामग्रीहरु समेत हुने हुँदा कोदो उत्पादनमा जोड दिन आवश्यक रहेको औल्याए ।

भेलामा आफ्नो कुरा राख्दै वनेमले कृषि प्राविधिकको निगरानीमा कोदो खेतिमा जोड दिनुपर्ने, रक्सी बनाउनका लागि आवश्यक मर्चाका लागि जंगल जडिबुटीको पहिचान गर्दै सोको संरक्षण गरिनुपर्ने कुरामा राज्यको ध्यान केन्द्रीत हुनुपर्ने माग राखे ।

जेन्टल लावतीको संयोजकत्वमा भएको कार्यक्रममा सहभागी सरोकारवालाहरुले कोदोको रक्सी र आयआर्जनको विषयमा आ–आफ्नो विचार राखेका थिए ।

सोही दिन परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति सुनसरी गठन गरिएको छ ।

प्रवद्र्धन समितिको प्रदेश १ का जिल्लाहरुमा समिति विस्तार उद्देश्य अनुरुप सुनसरीमा नगेन्द्र पारघरी खजुमको संयोजकत्वमा १३ सदस्यीय प्रवद्र्धन समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा निमा फुङ्गसुवा, रीता खापुङ्ग, लीला राई, सानु ल्वागुन, सुमित्रा राई, निर्मला राई, कमला सुब्बा, हेमराज जिमी याक्खा, विश्वास मगर, बिना पुमा राई, ऐंसा सुनुवार, लक्ष्मी राई रहेको छन् ।

यसरी नै सोही बेला सल्लाहकार समिति पनि गठन गरिएको कार्यक्रमका संयोजक जेन्टल लावतीले जानकारी दिए ।

उनका अनुसार सल्लाहकार समितिमा धरानका वरिष्ठ पत्रकार हर्ष सुब्बा, डा. कमल तिगेला, नरप्रसाद लुङ्गफुङ्गवा, विपीन इवारम, भक्तराज रसाइली, तेञ्जीङ शेर्पा, ताजुब लिम्बू रहेका छन् ।

प्रवद्र्धन समितिले यसअघि झापा र मोरङमा समिति विस्तार गरिसकेको प्रदेश समिति सदस्य सिङ्घकले जानकारी दिइन् ।