शनिश्चरे बजारमा एएस मार्ट सञ्चालनमा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

शनिश्चरे बजारमा एएस मार्ट सञ्चालनमा


यलम्वर टाइम्स
१ श्रावण २०७९, आईतवार ०५:५९

शनिश्चरे । अर्जुनधारा क्षेत्रका स्थानीय उपभोक्तालाई लक्षित गर्दै शनिश्चरे बजारमा एएस (अर्जुनधारा सपिङ) मार्ट सञ्चालनमा आएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै मार्ट सञ्चालनमा ल्याइएको जनाकारी दिइयो । यसको औपचारिक उद्घाटन भने श्रावणी पर्वको अवसर पारेर साउन २ गते सोमबार गरिने छ ।

अरुणोदय बचत तथा ऋण सहकारी संस्था, शनिश्चरे सुपारी सहकारी संस्था तथा १८ जना व्यवसायीहरुको तीन करोडको प्रारम्भिक लगानीमा मार्ट सञ्चालनमा ल्याइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मार्टका अध्यक्ष ताराप्रसाद नेपालका अनुसार २ सहकारी संस्थाका साथै व्यवसायी, शिक्षासेवी, स्वास्थ्यसेवी, समाजसेवामा सक्रिय व्यक्तित्वको संयुक्त लगानी रहेको छ ।

शनिश्चरे बजारको बुढाथोकी कम्प्लेक्समा मार्ट सञ्चालनमा छ । एउटै व्यापारिक छानामुनि सर्वसुलभ मूल्यमा गुणस्तरीय सम्पूर्ण घरायसी तथा दैनिक उपभोग्य सामग्रीहरु बिक्री वितरण गर्दै ग्राहकलाई चारतिर जानुपर्ने समस्या नहोस् भन्ने उद्देश्यले मार्ट खोलिएको सञ्चालक समितिका सचिव यदुनन्द दाहाले बताए ।

उनले अहिलेको आवश्यकता र ग्राहकको चाहनालाई पूरा गर्न र ऐतिहासिक शनिश्चरे बजारको प्रबद्र्धन गर्न पनि शनिश्चरे बजारमै सञ्चालनमा ल्याएको सुनाए ।

मार्टमा कस्मेटीक, होम ग्लोरी, पूजा सामग्री, स्टेशनरी र दैनिक उपभोग्य घरायसी सामग्री पाइने बताइएको छ । मार्टले १० जनालाई प्रत्यक्ष रोजगारी दिएको सञ्चालकको भनाइ छ ।

मार्ट सञ्चालक समितिको उपाध्यक्षमा राजकुमारी शेर्पा, सदस्यद्वयमा प्रभाकर सोनी र भानु जोशी ज्ञवाली रहेका छन् ।

अन्य सञ्चालकहरुमा अनिता गोम्देन तामाङ, कञ्चना ढकाल सिटौला, टंक पोख्रेल, दीपेन्द्र सुब्बा, धु्रवकुमार पौडेल, पिताम्बर कोइराला, पुष्पप्रसाद ओझा, बालकृष्ण दाहाल, मिरादेवी भट्टराई, रोहित थापा, विजयराज तिम्सिना, सपन आचार्य र सुशिल भण्डारी रहेका छन् ।

नगर प्रमुख बलदेवसिंह गोम्देनले उद्घाटन गर्ने भनिएको उक्त मार्टले उद्घाटनको अवसरमा होम ग्लोरीका सामग्रीहरु खरिदमा ग्राहकहरुलाई एक हप्तासम्म १० प्रतिशत छुटको व्यवस्था गरेको मार्ट सञ्चालक सदस्य भानु जोशी ज्ञवालीले जानकारी दिए ।