१५ वर्ष प्रवेशसँगै हामी जनताकै पक्षमा रहनेछौं « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

१५ वर्ष प्रवेशसँगै हामी जनताकै पक्षमा रहनेछौं


यलम्वर टाइम्स
७ श्रावण २०७९, शनिबार ०५:२७

विगत १४ वर्षअघिबाट अविरल प्रकाशित हुँदै आएको यलम्बर टाइम्स १५ औं वर्षमा पाइला टेकोको छ । यो हिंडाइमा आम पाठक, शुभचिन्तक, विज्ञापन दाता र बाहिर रहेर सल्लाह प्रदान गर्नुहुने शुभेच्छुकहरुको त्यतिकै साथ र सहयोग रहेको छ । स्थापनाकालमा रहँदा यहाँहरुको जति साथ सहयोग रहयो आज १५ वर्षे टिनएजमा पुग्दै गर्दा पनि त्यो साथ र सहयोग रहीरहनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

हामीलाई शुरुवातिकालमा लामो समय हिड्न सक्दैनौं कि भन्ने पीर थियो । सञ्चार जगतमा देखिएको उतारचढावले हामीलाई पनि छेकथुन गर्छ कि भन्ने त्रास र चिन्ता लाग्थ्यो । तर इमान्दारिता, निरन्तरताका साथ निष्पक्ष समाचार पाठकमाझ पस्किरहँदा आम पाठकहरुकै स्नेहताले आज हामी यहाँसम्म आउँन सफल भएका छौं । हामीसँगै जन्मिएर हिंड्ने धेरै अखबारहरु बिचैमा बिटुलीएको देखेका छौं । कतै त्यस्तो त हुँदैनौं भन्ने चिन्ता हामीमा पनि थियो । तर, आजको मितिसम्ममा त्यसो नहुँदा आउँने दिनमा पनि सबैको साथ र सहयोग रहे निरन्तर पाठकहरुको आँगनमा आइनै रहने छौं भन्नेमा हामी विश्वस्त छौं ।

ग्रामिण पत्रकारिताको सन्देश बोकेर आजभन्दा ९ वर्ष अघिबाट गाउँमा प्रवेश गरेका थियौं । हामी आएको अवस्थामा राजनीतिकले एकखालको मोड लिइरहेको थियो । संविधान बन्ने कार्य चलिरहेको थियो । गाउँ–बस्तीका कुराहरु त्यतिकै उठान गरिरहयौं । अर्जुनधारा गाविसबाट बिस्तारै शनिअर्जुन नगरपालिका बन्न पुग्यो । त्यसपछि अर्जुनधारा नगरपालिकामा रुपान्तरित भयो । नगरको विकास कार्यमा यस अखबारको पनि ठूलो साथ रहेको छ भन्न सक्छौ । जनप्रतिनिधि छान्ने काममा पनि यसको भूमिका महत्वपूर्ण नै रहयो भन्ने लाग्यो । सबै राजनीतिक दलको समान ढंगबाट समाचार पस्किने काममा उत्तिकै दायित्व निभायौं कि जस्तो लाग्यो । आज त्यहि कार्यको प्रतिफल हो, वर्ष १५ मा टेक्नु ।

हामीले भन्दै आएका छौैं, समाचार लेख्ने कार्यमा कति पनि कञ्जुस्याई गर्ने छैनौं । सानादेखि ठूला दलको बिचार समान रुपमा उठान गर्ने छौं । नगरका संघसंस्थाहरुको आवाज समान रुपमा उठान गर्ने छौं । हामीलाई जानकारी दिए अनुसार पुगेर, देखेर समाचार उठान गर्नेछौं । हामी हिजो पनि जनताको पक्षमा थियौं र आज पनि जनताकै पक्षमा छौं र भोलीका दिनमा पनि आम नागरिककै हकहित र अधिकारका पक्षमा बोल्नेछौं र लेख्ने छौं । विशेष गरी नगरलाई समृद्ध बनाउन सूचनाको क्षेत्रबाट कञ्जुस्याई गरिने छैन । पीडित, असहायहरुको भावनालाई सम्मान गरेर नै जाने छौं । सबै धर्म, सम्प्रदायको भावनालाई पनि सम्मान गरिने छ ।

हामी आम पाठकमाझ पुग्दै गर्दा स्वास्थ्य पेजलाई ख्याल गरेर सचेतना अपनाउनमा हाम्रो जोड रहने छ । डाक्टरहरुका भनाईलाई मध्यनजर गर्दै आम पाठकलाई सचेत गराउँन त्यतिकै लाग्ने छौं । स्वस्थ नगर र अग्र्यानिक उत्पादन गरिने नगर निर्माण गर्नमा हाम्रो कलम निरन्तर चल्ने छ भन्ने लक्ष्य लिएर अगाडि बढ्ने छौं । यतिका सोच र बिचार लिएर अगाडि बढ्दा यहाँहरुको माया अपार रहने छ भन्ने विश्वास लिएका छौं ।