अर्जुनधाराको ११ औं नगरसभाः फजुल खर्च कटौती, विकासमा जोड « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

अर्जुनधाराको ११ औं नगरसभाः फजुल खर्च कटौती, विकासमा जोड


यलम्वर टाइम्स
९ श्रावण २०७९, सोमबार ०९:४३

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले खर्च घटाउँदै विकासे काम अगाडि बढाउने रणनीति अगाडि सारेको छ ।

निर्वाचित वडाध्यक्षहरुले नगरपालिकाको साधन प्रयोग नगर्ने, बोर्ड बैठक र महत्वपूर्ण छलफल गर्दा नगरपालिकाको खाना खर्च कटौती गर्ने जस्ता निर्णय गर्दै आएको बेला नगर सभामा उपस्थित निर्वाचित प्रतिनिधिहरुले मितव्ययताका साथ विकासे काम अगाडि बढाउने भएका छन् ।

असार १० गतेबाट सुरु भएको नगरको ११औं समापन गर्दै अनुमानित बजेट र केही विधेयक पारित गरेको छ । नगर प्रमुखका सचिवालयले दिएको जानकारी अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४को दफा ७१ को उपदफा १ बमोजिम सभामा पेश भएको आगामी आर्थिक वर्ष ०७९÷०८०को अनुमानित बजेट र चार वटा विधेयक पारित गर्दै उक्त नगरसभा सम्पन्न भएको हो ।

सभाबाट पारित भएका विधेयकहरुमा ‘अर्जुनधारा नगरपालिकाको आर्थिक विधेयक, २०७९’, ‘अर्जुनधारा नगरपालिकाको विनियोजन विधेयक, २०७९’, ‘नगर प्रहरी व्यवस्थापन ऐन्, २०७७ पहिलो संशोधन, २०७९’ र अर्जुनधारा नगरपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक, २०७९ रहेका छन् ।

त्यस्तै कार्यपालिकालाई सभामार्फत् जनताप्रति उत्तरदायी बनाउन र कार्यपालिकाका काम कारवाहीको निरन्तर निगरानी गर्न सभाले अर्थ तथा सार्वजनिक लेखा समिति, विधायन समिति, सामाजिक समिति, सुशासन तथा स्थानीय सेवा समिति र कृषि, पर्यटन, पूर्वाधार तथा प्राकृतिक स्रोत समिति गठन गरेको छ ।

त्यसैगरी सभाले अर्जुनधारा नगरपालिका न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन्, २०७८ बमोजिम न्यायिक समितिले सभाबाट अनुमोदन गराउनुपर्ने मेलमिलापकर्ताको सूची अनुमोदन गरेको छ । अनुमोदन भएको सूचीमा ३५ जना मेलमिलापकर्ताको नाम उल्लेख गरिएको छ ।

नगर प्रमुख गोम्देनको अध्यक्षतामा आयोजित सभामा उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।