जिल्ला प्रशासन र राजनीतिक दलद्वारा अर्जुनधाराका निर्वाचन केन्द्रको अनुगमन « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

जिल्ला प्रशासन र राजनीतिक दलद्वारा अर्जुनधाराका निर्वाचन केन्द्रको अनुगमन


यलम्वर टाइम्स
९ श्रावण २०७९, सोमबार १०:३३

अर्जुनधारा । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन झापा र राजनीतिक दलले अर्जुनधाराका सम्भावित निर्वाचन केन्द्र अनुगमन गरेको छ ।

अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देनको अगुवाईमा अर्जुनधाराको मतदान हुने केन्द्र अनुगमन गरिएको थियो । अर्जुनधाराका संवेदनशील क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनकर्ताले वडा नं. १०, ७, १, २, ३, ४ र ५ वडाहरुमा अवलोकन गरेको थियो । प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वमणि पोखरेल, निर्वाचन आयोगका प्रमुख तुलसी नेपाल, सशस्त्र प्रहरीका एसपी प्रदिपसिंह कार्की, राष्ट्रिय अनुसन्धान विभागका तिलक प्रसाई र नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउमान थेवे,वडा नं. १ का अध्यक्ष उपेन्द्र बस्नेत लगायत अनुगमनमा सहभागि थिए ।

अनुगमनपछि संवेदनशील क्षेत्रमा तारघेरा लगाउन भनी वडाध्यक्ष लगायत नगर प्रमुखलाई जिल्ला प्रशासन कार्यालय आग्रह गरेको छ ।

अर्जुनधारा नगरपालिकाका केही मतदान केन्द्रहरु परिवर्तन गर्न सकिने भनिए पनि सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै पुरानै मतदान केन्द्रलाई नै लिएर जानेबताइएको छ ।

स्थानीयहरुले हलुवागढ सामुदायिक वनको कार्यालयमा हुँदै आएको मतदान केन्द्रलाई सिंहदेवी माविमा, हचुमासा सामुदायिक वनको कार्यालयको सट्टा गणेश आधारभूत विद्यालयमा मतदान केन्द्र सारिनुपर्ने भनी निवेदन दिएका थिए ।

तर, चुनावी संवेदनशीलतालाई मध्यनजर गर्दै मतदान केन्द्र नसारिने भएको अनुगमन पछि छलफल गर्दै निष्कर्ष निकालिएको हो । वडा नं. १० को हकमा भने सेतीदेवी प्राविमा हुँदै आएको केन्द्रलाई वडा कार्यालयमा सारिने भएको छ ।

अनुगमनपछि वडा नं. ७ को कार्यालयमा छलफल भएको थियो । छलफलमा वडा नं. ७ का अध्यक्ष गोविन्द खतिवडा, नेपाली कांग्रेस वडा नं. ७ का सभापति राम कार्की लगायतको उपस्थिति थियो ।