परनिर्भरतामा चलेको हाम्रो समाज « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

परनिर्भरतामा चलेको हाम्रो समाज


यलम्वर टाइम्स
१० श्रावण २०७९, मंगलवार ०९:३६

आज यो लेख लेखिरहँदा मनमा संकोचले डेरा जमाइरहेको छ । मस्तिष्कले सोचिरहेको शब्दहरु यो सादा कागजको पानामा पोख्ने वस्तु कलम र कागज सबै अन्य देशबाट आयत हुन्छ । धन्य सोच्न दिमाग चाहिँ स्वदेशी पर्यो । नत्र मैले प्रयोग गर्ने हरेक वस्तु प्रायः विदेशबाट आयतित नै छन् । त्यति मात्र कहाँ हो र, मैले पहिरीने कपडाहरु पनि विदेशी नै हुन्छ । हामी यति बिध्न परनिर्भर भएछौं कि घरबाट बजार जाँदा प्रयोग हुने सामानदेखि बजार पुगेर आफूले किन्नुपर्ने सम्पूर्ण सामान पनि विदेशबाटै आयातित हुन्छ ।

त्यही बजार हो, दक्षिणतर्फबाट शुक्रबार नै गोरु गाडामा लामेताँत लागेर स्थानीय सुर्तीका लस्कर भित्रिन्थे । स्थानीय भाषामा फाँडी सुर्ती र चुर खाने सुर्तीका बजार लाग्थ्यो । पहाडबाट ढाकरमा बोकेर २ दिन लगाएर भए पनि कागती, सुन्तला, चिउरी भित्रिन्थे । त्यतिमात्र कहाँ हो र दही, घ्यूका पसलहरु पनि लहरै हुन्थे । त्यसैको छेऊमा दही र चिउरा खानेको ताँती उत्तिकै हुन्थ्यो । सागसब्जीहरु पनि स्थानीय गाउँबाट बिक्रीको लागि ल्याइन्थ्यो । ती सब्जीहरु सदा ताजा रहन्थ्यो । चाहे त्यो स्कुस होस् या खोर्सानी । हप्ता दिनसम्म कुहिने भन्ने केही हुन्थेन । तर अहिलेको बजारमा राखिएको सब्जी दुई दिनसम्म पनि ताजा बस्ने खालका हुन्छ । इलामबाट ल्याएको होस या भारतीय सब्जी होस् । धेरै जसो सब्जीहरु भारतबाट आयातित हुन्छ, हेर्दा राम्रो । सलक्क परेको सब्जी दोस्रो दिनबाट चाउरी पर्न थालिहाल्छ ।

अहिले बजारमा दही प्लास्टिकको पोकामा किन्न पाइन्छ । घ्यू पनि त्यस्तै प्लास्टिकमा नै बेच्न राखिएको हुन्छ । यता भान्साकोठाको अवस्था पनि उस्तै । भान्सामा प्रयोग हुने हरेक सामग्रीहरु अन्य देशबाट आयातित नै हुन्छ । अरु त के कुरा गर्नु दाउरालाई विस्थापित गरेर भित्रिएको खाना पकाउने ग्यास पनि अन्य देशबाट आयातित नै हो । परनिर्भरताको पनि एउता हद हुन्छ । तर यहाँ हरेक ठाउँमा आयातित सामग्रीको प्रयोग गर्ने बाध्यता भनौ या रहर निर्धक्क भइरहेको छ । अरु त परै जाओस् हामीले लगाउने कपडाहरुको पनि अवस्था त्यस्तै छ । म सानो छँदा हेटौडा कपडा उद्योगबाट उत्पादन भएका कपडाहरु प्रयोग गर्थे । तर, अहिले आएर त्यो उद्योग पनि विस्थापित भएको अवस्थामा १०० प्रतिशत कपडाहरु आयात गरेर नै पहिरीनु पर्ने बाध्यता रहेको छ । अहिले प्रत्येक समाचार माध्यममा विदेशबाट आयातित सामानको मूल्य तोकेर समाचार बनिरहेको छ । ‘यो वर्ष ओखर र बदामको आयात ४–५ करोड, नेपालीको घरघरमा उत्पादन हुने गुन्द्रुक पनि चाइनाबाट भित्रिरहेको खबर सुन्न पाइरहेका छौं । यसरी नै अन्य धेरै सामानहरुमा हामी निरन्तर परनिर्भर रहँदै आएका छौं । अरु त के कुरा गर्नु महान चाड दशैं र तिहारको समयमा हामीलाई आवश्यक पर्ने सामान जस्तै ओखर, पाङ्ग्रा, रङ्ग, सेलरोटी पकाउँदा प्रयोग हुने जोडन, घरमा सजावटमा प्रयोग हुने झिलिमिली बत्ती, मैन बत्ती, फलफूल लगायत सम्पूर्ण सामान पनि अन्य देशबाट नै आयातित हुन्छ ।

यसरी नै हरेक सामानहरु सधैं आयातित गरेर परनिर्भरतामा बाँच्नु भनेको आफ्ना भएका दुवै हात काटेर आँखाले टुलुटुलु हेर्दै आँ….. गरेर मुख बाएर बस्नुको उदाहरण हो । सधै यही अवस्था रहिरहे मुलुक श्रीलंकाभन्दा भयावह भएर जानेछ । त्यहाँ त कमसेकम नरिवल र समुन्द्रको माछा मारेर भए पनि केहीमा आत्मनिर्भर रहन्छन् । तर, यहाँ हरेक युवाहरु धेरै पढेलेखेकहरु अमेरिका र युरोपको सपना देख्छन् । केही कम पढेकाहरु खाडी मुलुकको कल्पना गर्छन् । नेपाली युवा होस् वा युवती सबैको लक्ष्य भनेको त्यही हो । आफ्ना भएका खेतबारी बाँझै राखेर विदेशीनुमा खै के आनन्द आउँछ ।

यदि यो मुलुकमा यसरी नै यस्तै क्रम चलिरहे हामी परजीवि किटाणु झै अरुको शरीरमा टाँसिएर आफ्नो भोक मेटाउन बाध्य हुनेछौं । आफ्ना पढाइका ज्ञान र हात खुट्टाको तागत हुनेहरु त विदेशमा रहेर विदेशकै सामान प्रयोग गर्छन तर वृद्धवृद्धा आफ्नो शिथिल शरीर लिएर आफ्नो बलेसीमा कहाँबाट कसले के ल्याएर मुख जुठो पारिदिन्छ भन्दै गोरेटो ताक्न विवश हुनेहरुले आफ्नो बारी खनिजोति गर्न पनि असक्त हातहरुले अन्य देशबाट आयातित सामग्री प्रयोग नगरे भोकै मर्न बाध्य हुनुपर्छ । यदि यो देशमा यसरी नै परनिर्भरतामा रुमल्लिनु पर्यो भने अबका आउँदा दिनहरुमा सुनको थालिबोकेर आफ्नो देशको सीमा नाघेर परायदेशको जमिन टेक्दै भिख माग्न बाध्य हुनेछौं । अनि हामी नेपाली स्वाभिमानमा बाँच्ने भनेर गाउँदै आएको गीत भूलेर पनि यी ओठहरुले न गुनगुनाए भयो । र अन्त्यमा खडेरीमा ‘हर हर महादेव पानी दे’ भनेर पानी माग्ने गीतहरुको शब्द बङ्ग्याएर ‘हर हर विदेशी खाना दे’ भनेर जुम्ल्याहा हात जोड्दै स्वाभिमान पुरानो बाकसमा थन्क्याएर अनन्तकालसम्म भिख मागिरहनुको विकल्प नरहला भन्न सकिन्न ।