रहेनन् चेप्टीका अगुवा मेघबहादुर ‘साने’ « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

रहेनन् चेप्टीका अगुवा मेघबहादुर ‘साने’


यलम्वर टाइम्स
१३ श्रावण २०७९, शुक्रबार १३:३२

चेप्टी । किरात धर्मका अगुवा, समाजसेवी मेघबहादुर चोङ्बाङको शुक्रबार निधन भएको छ ।

दक्षिण इलाम अन्तर्गत माइ नगरपालिका वडा नं. २ कुनाबारी बस्दै आएका चोङ्बाङ चेप्टी क्षेत्रमा सामाजिक व्यक्तिको रुपमा परिचित थिए ।

उनी चेप्टी गएर बसोबास गर्दा चेप्टी बासिन्दाहरुले संरक्षककर्ताको रुपमा लिएका थिए ।

२०४८ सालमा उनका पिता चेप्टी प्रवेश गरेर गाउँबस्ती बसाल्ने क्रममा उनी पनि २०५० सालमा चेप्टी पुगेका थिए । न धारा पानी, न पाटी पौवा, न बाटोघाटो त्यस्तो विकास केही थिएन ।

चेप्टी क्षेत्रकै शिव पोखरीलाई संरक्षण गर्दै पछि हाङसाङ वरक माङहिम नामाकरण गरे । उक्त माङहिमको अध्यक्ष समेत भए ।

हत्याहिंसा, काटमार र रित लिने क्रमलाई अन्त्य गर्नुपर्छ भन्दै चेप्टीबासीहरुका लागि प्रेरणाका स्रोतका रुपमा उभिए ।

विस्तारै चेप्टीका बासिन्दाहरुलाई किरात धर्ममा सामेल गराई शिव पोखरीको विकास र उन्नतितर्फ लागे ।

त्यतिमात्र होइन, चोङबाङ कवैधाप युवा सांगीतिक समूहको सल्लाहकार, शिव पोखरी सामुदायिक वनको सल्लाहकार र विभिन्न विकासे काममा सक्रिय भएर उज्यालो चेप्टी निर्माणका लागि सक्रिय थिए ।

२०१४ साल चैत २६ गते तेह्रथुममा जन्मेका चोङ्बाङ श्रीमती तारा, एक छोरा मनिष र दुई छोरी मनिता र सर्मिलासँगै बस्दै आएका थिए ।

चोङ्बाङ चेप्टी क्षेत्रमा यलम्वर टाइम्स पुर्याउने र पत्रिका पढ्नुपर्छ भन्दै जनचेतना छर्ने पहिलो व्यक्ति भएको हुँदा त्यस क्षेत्रमा यलम्वर टाइम्सको पनि पाठकहरु निक्कै रहेको छ ।

यस्तो योद्धा धर्तीमा नहुँदा चेप्टीबासीहरु स्तब्ध बनेका छन् । उनको शनिबार बिहान १० बजे चेप्टीको डम्पिङ डाँडा स्थित किरात संस्कारबाट दाहसंस्कार गरिने भएको परिवारले जनाएको छ ।