नगर पाठ्यक्रममा इन्दिराको योगदान लेखिने « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

नगर पाठ्यक्रममा इन्दिराको योगदान लेखिने


यलम्वर टाइम्स
१५ श्रावण २०७९, आईतवार ११:१६

बुट्टाबारी । परोपकारी तथा सामाजिक कार्य गर्दै आएको बन्दी सहायता नेपालले पुल, माछा पोखरी र पौडी पोखरी निर्माण गरेको छ ।

अर्जुनधारा–११ मा रहेको बन्दी सहायता नेपालको पूर्वाञ्चल शाखाले पुल, माछा पोखरी र पौडी पोखरी उद्घाटन गरेको थियो । पुल, माछा र पौडी पोखरीको उद्घाटन गर्दै नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बन्दी सहायता गृहकी अभियान्ता इन्दिरा पूर्वकै अग्रणी र परोपकारी महिला भएको बताए ।

आफू जलेर अरुलाई उज्यालो दिनु चानचुने कुरा होइन, इन्दिरा रानाबाट हामीले यही कुरा सिक्न जरुरी रहेको बताए । गोम्देनले अगाडि भने, ‘शिक्षाको ज्योति छर्दै असहाय, असक्त बालबालिकाहरुको संरक्षण गरेर नगरकै इज्जत राखेको हुँदा नगर शिक्षा अन्तर्गत बनाइने पाठ्यपुस्तकमा इन्दिरा रानाको योगदानको विषयमा उल्लेख हुने जानकारी दिए ।

कार्यक्रममा विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख हरिकुमार रानाले बन्दी सहायता नेपालबाट नेपालमा गरेको उदाहरणीय कार्य पूर्वकै नमूना भएको बताउँदै राज्य सरकारको ध्यान बन्दी सहायता नेपालको कार्यशैलीमा पुग्न सके अझ फड्को मार्न सक्ने बताए ।

कार्यक्रममा बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा रानाले एउटा एनजीओ र सरकार मिलेर समाज सुधार गर्न सक्ने बताइन् । ‘नगर र वडाले अनाथ, अपाङ्ग, असाहय साथै बन्दी सहायताका बालबालिकालाई सहयोग गर्नुपर्छ’ रानाले भनिन् ‘अनाथ बालबालिकालाई राम्रो शिक्षादिक्षा दिन सके मात्र अपराध घट्छ ।’

उनले आफूले ३३ बर्षदेखि अपराध कसरी हुन्छ र के गर्दा न्यूनिकरण गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेको जिकिर गरिन् । बालबालिकाका लागि नगरले छुट्टै बजेट विनियोजन गरिदिनसमेत आग्रह गरेकी थिइन् ।

उनका अनुसार कसैले पनि उनलाई दिएको अवार्ड तथा सहयोगले बालगृह तथा बन्दी सहायता नेपाल सञ्चालन भएको छ ।

बन्दी सहायता गृह नजिक निर्माण भएको उक्त पोखरी र पुल मगर एशोसिएसन युएसए, मगर संघ बुष्टन च्याप्टर, मगर संघ न्यू जर्शी च्याप्टर र बाल्टीमोर च्याप्टर यूएसएको संयुक्त आर्थिक सहयोग ९ लाख रुपैयाँमा निर्माण गरिएको संस्थाका सचिव तथा जुनकिरी विद्यालयका प्रध्यानाध्यापक रञ्जित परियारले जानकारी दिए ।

सोही कार्यक्रममा बुद्धशान्ति–२ का हाल अमेरिका बस्दै आएका मदन पाठकलाई सम्मान गरिएको थियो । पाठकले बन्दी सहायता नेपाललाई विभिन्न आर्थिक सहयोग गर्दै आएका छन् भने बार्षिक एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन् ।

बन्दी सहायता नेपाल पूर्वाञ्चल शाखा अध्यक्ष जगतबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ११ का वडाअध्यक्ष खगेन्द्र इङनाम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत उपाध्यक्ष अर्जुनकुमार थेवेले गरेको कार्यक्रममा सामाजिक ब्यतित्व शेरबहादुर थापा, वडा सदस्य सुशिला गिरी, शिक्षासेवी हस्त परियारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा जुनकिरी विद्यालयका प्रध्यानाध्यापक रञ्जित परियारले गरेका थिए ।