समाज बोल्नै पर्छ « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

समाज बोल्नै पर्छ


यलम्वर टाइम्स
१७ श्रावण २०७९, मंगलवार ११:२३

हाम्रा गाउँ समाजमा हुने जघन्य अपराधमा समाज चुप लाग्दा अझ प्रशय पाएर चोरी, डकैति, हत्या हिंसा, लागू पदार्थ सेवन जस्ता कार्यले स्थान ओगट्दै आएको हो कि भन्ने प्रश्न उब्जन थालेको छ । समाज विकास हुँदै जाँदा आफ्नो सुरक्षा आफै गर्नु भन्ने मनसाय पलाएकोले होला छिमेकमा भएका घटनामा छिमेकीले नै नबोलिदिँदा अवाञ्छित गतिविधिहरुले जरा गाड्दै गरेको भान हुन जान्छ ।

समाजमा व्याप्त लागू पदार्थ प्रयोगकर्ताहरु बढ्नु तै चुप मै चुपको एउटा ज्वालन्त उदाहरण पनि हो । छोरो दुव्र्यवसनी छ, निर्वाचित जनप्रतिनिधिलाई पूर्ण थाहा छ । तर उसले कसैलाई भन्न सक्दैन । त्यसैको फलस्वरुपः छोरो दुव्र्यवसनीमा त फस्यो, छिमेकीका छोराछोरीलाई पनि प्रयोगकर्ता बनाउँदा समेत चुप लाग्नाले आज यस्ता अवाञ्छित गतिविधिले हाम्रा समाजमा स्थान पाएको देखिन्छ र हुँदै आएको पनि पाउँछौं ।

लागू पदार्थ मात्र होइन समाजमा व्याप्त अराजक गतिविधि हुँदा पनि तै चुप मै चुपले ठूलठूला घटनाहरु बढ्न थालेको पाउछौं । घटना हुने त्यसको कारवाही प्रहरीले मात्र गर्नुपर्ने भन्ने मानसिक विचार बोकेर समाज बस्ने हो भने घटना न्यूनिकरण हुने कुरामा विज्ञहरु सहमत छैनन् । त्यसैले समाजमा रहेका नेता, विदत् वर्ग, जनप्रतिनिधि र आम सचेत नागरिकहरु भए गरेका घटना र हुन लागेका अवाञ्छित कार्यलाई रोक्न अब समाज बोल्नै पर्छ । त्यसतर्फ केन्द्रीत हुन सकिएन भने समाजले नराम्रो क्षति व्यहोर्नुपर्ने बाहेक अर्को विकल्प देखिन्न । चेतना भया ।