लिम्बूवानी जनताको भावनाको कदर लोकतन्त्रमा भएनः अध्यक्ष सञ्जुहाङ « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

लिम्बूवानी जनताको भावनाको कदर लोकतन्त्रमा भएनः अध्यक्ष सञ्जुहाङ


यलम्वर टाइम्स
२२ श्रावण २०७९, आईतवार १२:०५

बिर्तामोड । संघीय लिम्बूवान पार्टी नेपालले कोणसभा गर्दै ७ वटा माग अगाडि सारेको छ ।

आईतबार बिर्तामोडको दुर्गा मन्दिर परिषरमा सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले इतिहासलाई तोडमोड गरेर लिम्बूवानी जनताको भावनामाथि सत्ताधारीले कहिल्यै अधिकार नदिएको बताए ।

उनले नश्लीयत चरित्र भएका ठूला दलकै कारण लिम्बूवान किरातलाई प्रदेश नामाकरण गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष पालुङ्वाले इतिहासकार योगी नरहरिले नेपालको इतिहासमा लिम्बूवानको अधिकार र राजाले त्यसबेला गरेको सम्झौता हुँदाहुँदै पनि लिम्बूवानी भावनाको कदर लोकतन्त्रसम्म आइपुग्दा संघीय सरकारले गर्न नसक्नु लिम्बूवानमाथिको ठाडो चुनौति भएको बताए ।

कार्यक्रममा पार्टीका सर्वमान्य नेता बीर नेम्वाङले अब लिम्बूवानी जनताले ठूला दलका अतिवाद सहेर बस्ने दिन गएको बताउँदै पहिचान चाहने राजनीतिक दलको एजेण्डा एक हुँदै गएको खण्डमा ब्राम्हणवादलाई अफ्ठ्यारो हुने दिन आउने चेतावनी दिए ।

पार्टीका उपाध्यक्ष निश्चला लावतीले वर्गीय संघर्षको नारा दिएर नेपाली जनतालाई कम्युनिष्टहरुले खेलाइरहेको आरोप लगाए ।

कार्यक्रममा प्रदेश नं. १ को पुनर्संरचना गर, १८३१ साउन २२ गते तत्कालिन किर्तिपुरका राजा पृथ्वीनारायण शाह र लिम्बूवान बीच भएको सन्धी र २०६४ चैत ६ गते नेपाल सरकार र लिम्बूवान बीच भएको ५ बुँदे सहमति कार्यान्वयन गर, महंगी भ्रष्टाचार नियन्त्रण गर जस्ता माग रहेका थिए ।