आहारमा प्याज, लसुन, स्वास्थ्यमा लाभदायक « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

आहारमा प्याज, लसुन, स्वास्थ्यमा लाभदायक


यलम्वर टाइम्स
२३ श्रावण २०७९, सोमबार ११:२१

आफ्नो भोजनमा सागपात आदिमा हामी मसलाको रुपमा अर्थात् स्वइच्छाले पनि प्याज सेवन गर्ने गर्छौं । कतिपय धार्मिक विचार अनुसार प्याज, लसुन नखानु भन्छन् । तर, हाम्रो पूर्वीय दर्शनको आयुर्वेदमा प्याज, लसुनलाई औषधिको रुपमा सेवन गर्ने सल्लाह पाइन्छ । प्याजको सेवनले अति घातक रोग क्यान्सर जस्तो रोगको रोकथाम हुन सक्ने कुरालाई यहाँ उल्लेख गरिन्छ । यसकुराको अनुसन्धानको लागि अमेरिकाको न्यूयोर्क स्थित इन्स्टीच्युट अफ हारमोन रिसर्चका वैज्ञानिक लियान ब्रेडेला र मिकनो विकलले हालै अनुसन्धान गरेर पत्ता लगाए अनुसार उक्त कुरो स्पष्ट गरेका छन् ।

उनको अनुसार प्याजमा पाइने इडोल डेकाविनोल नामको रसायनले स्त्रीहरुलाई हुने स्तन क्यान्सरलाई निकै लाभ गर्ने हुन्छ । यो इडोल डेकाविनोल नामक रसायनले शरीरको लागि हानिकारक हारमोन एस्ट्रोजनलाई प्रभावित पारि दिन्छ । जसको फलस्वरुप क्यान्सर हुने सम्भावना कम हुन्छ । प्याजको सेवनले लु लाग्नु अर्थात् घामको तापक्रम धेरै भएर तातो हावा चल्दा मानिसमा पर्ने खतरनाक अवस्थाबाट सुरक्षा हुन्छ । प्याज सेवनले निन्द्रा पनि राम्रो लाग्छ । कपाल झरेर नाङ्गो हुन लाग्यो भने त्यहाँ प्याज काटेर घस्नाले कपाल पाउँछ । प्याजका अरु थुप्रै गुणहरु छन् र नै प्याजलाई मसला साथै औषधिको रुपमा निरन्तर सेवन गर्नु लाभदायक छ ।

त्यसैगरि लसुन पनि अति उपयोग छ । जसलाई मसलाको रुपमा प्रयोग गर्छौं तर, यो मसलाभन्दा पनि औषधिको रुपमा सेवन गर्नु लाभदायक छ । सर्वप्रथम लसुनको गन्ध भएको ठाउँमा सर्प आउँदैन । लसुन किटाणु नासक पनि हो र दादमा पिसेर लगाए निको हुन्छ तर धेरै पोल्यो भने घ्यू लगाए पोल्न छाड्छ । विच्छी, खजुराले टोक्यो भने लसुन पिसेर लगाउनु । गर्मीको मौसममा भन्दा जाडोको बेला यसको सेवन उत्तम हुन्छ । हुन त लसुनले गर्मी पनि गर्छ, वीर्य बढाउँछ, काम उत्तेजना पनि बढाउँछ । लसुन रुचिकर पनि हो । लसुन, धनियाँ साग र गोलभेडाको चट्नी रुचिकर हुन्छ तर औषधि हो लसुन ।

लसुन बाथ रोगीको लागि अति गुणकारी मानिन्छ । लसुनलाई स्निग्ध, गरम, पाचक, मल निस्कासक तथा रस र स्वादमा पीरो र मधुर भएको भनिएको छ । आयुर्वेद शास्त्रहरुमा लसुनलाई रक्तचापको लागि रामवाण औषधी भनिएको छ । गर्मीको समयमा लसुनको मात्रा धेरै नगर्नु किनभने यसको मात्रा धेरै भए पीलो, डण्डीफोर आदि निस्किने सम्भावना हुन्छ । लसुन, प्याज धार्मिक विचार भएकाले बहिस्कार गर्छन् । यो उनीहरुको विचार हो तर यो आयुर्वेदिक दृष्टिकोणले औषधी हो अनि सर्पदेखि जोगिनको लागि यो आत्मा रक्षक ढाल स्वरुप हो । साथमा लसुन छ भने सर्प छेउमा आउँदैन । यदि सर्पको शरीरमा लसुन पर्यो भने सर्प फ्याट्टै कुहुन्छ । यो परीक्षण गरेर हेरे हुन्छ । ब्राम्हचार्य पालन गर्नेले लसुन प्याज खानु हुँदैन ।